अञ्जली दिदीले काष्ठमण्डप बाहिरै भाइटीका लगाउने

कात्तिक १३, काठमाडौँ । तीन वर्षसम्म पनि काष्ठमण्डप पुनःनिर्माण नभएकाले आउँदो तिहारमा पनि अञ्जली मास्केले मन्दिर बाहिरै भाइटीका लगाउने तयारी गरेकी छिन् । 

दिदीबहिनी नभएका दाजुभाइलाई बीस वर्षदेखि निरन्तर टीका लगाउँदै आएकी अञ्जली दिदीले वसन्तपुरस्थित काष्ठमण्डप भित्रको गोरखनाथ मन्दिर वरिपरि सबैलाई राखेर टीका लगाउँदै आएकी थिईन् । विसं २०५५ देखि टीका लगाउन शुरु गरेकी उनले अहिलेसम्म चार हजार पाँच सय नेपाली र २५० विदेशी दाजुभाइलाई टीका लगाइसकेकी छिन् । 

“भूकम्प गएको तीन वर्ष बितिसक्दासम्म काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण गर्ने प्रयाससम्म गरेको छैन, यस वर्ष पनि मन्दिर बाहिरै बसेर भाइटीका लगाउनु पर्ने भयो । त्यसबेलादेखि सबै दाजुभाइलाई मण्डपबाहिरै राखेर भाइटीका लगाउँदै आएको छु,” अञ्जली दिदी भन्छिन्, ‘‘दिदीबहिनी नभएका दाजुभाइलाई दिदीका रुपमा आफ्नै माइती सम्झेर टीका लगाइदिँदै आएकी छु’’ । 

null

पुनःनिर्माणमा ढिला हुँदा वर्ष दिनमा आउने पर्व पनि राम्रोसँग मनाउन पाइएकाले सरोकारवाला निकायलाई अनुरोध गर्दै उनी जोड दिन्छिन् । जोड दिन्छिन्, “आगामी वर्ष यही मण्डपमा भाइटीका लगाउन पाइयोस् ।” 

यही कात्तिक २३ गते यस वर्ष भाइटीका परेको छ, त्यस दिन उनले दिउँसो १३ः३० देखि साँझ १६ः३० बजेसम्म भाइटीका लगाउने तयारी गरेकी छिन् । त्यतिमात्र होइन भाइटीकाका लागि प्रयोग हुने मिठाइ तयार गर्न पनि पसलेहरूलाई भनिसकेकी छन् भने अन्य सामग्री किनमेलमा मास्के अहिले व्यस्त छिन् । 

शुरुमा २०८ जनाका लागि टीकाका सामग्री तयार पारे पनि टीका लगाउँदै जाँदा सङ्ख्या वृद्धि भए सोहीअनुरुप सामग्री तयार गरी टीका लगाइदिने गर्दै आएकी ७३ वर्षीया मास्के भन्छिन्, “हरेक वर्ष टीका लगाउनका लागि पुरानै अनुहार मात्र नभएर केही नयाँ अनुहार पनि थपिने गरेका छन् ।” 

आफू रहेसम्म र शरीरले धानेसम्म टीका लगाइदिने इच्छा भएको र टीका लागाउन विदेशी पनि आउने गरेको जानकारी दिँदै उनी भन्छिन्, “विदेशमा पनि मेरा धेरै दाजुभाइ हुनुहुन्छ। जापान, बेलायत, भारत लगायत देशका दाजुभाइले निरन्तर रुपमा टीका लाउने गर्नुुहन्छ ।” 

वसन्तपुरमा दुई दर्जनभन्दा बढी ऐतिहासिक सम्पदा छन्, भूकम्पका कारण दशवटा सम्पदा पूर्णरुपमा क्षति भएको छ भने अन्यमा सामान्य क्षति पुगेको छ । 

हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलका अनुसार वसन्तपुरमा रहेका केही सम्पदाको पुनःनिर्माण कार्य शुरु भइसकेको छ भने केहीको तत्काल शुरु हुने अवस्थामा छ । 

वसन्तपुरकै महत्वपूर्ण मानिने सम्पदा नौतले दरबार र काष्ठमण्डप पुनःनिर्माण भइरहेका छन् । कुमारी घरको भूकम्पीय संवेदनशीलताको प्राविधिक पक्षबारे विश्लेषण भइरहेको छ भने गद्दी बैठक यस अघि नै पुनःनिर्माण भइसकेको छ । 

माजुदेगः पनि सोमबारदेखि पुनःनिर्माण शुरु भएको छ । काष्ठमण्डप पनि पुनःनिर्माण शुरु भइसकेकाले प्रयोग गर्न नपाए पनि आगामी वर्षको तिहारमा मन्दिर बाहिर बसेर टीका लगाउन नपर्ने पसखल बताउँछन् । 

रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *