धरानका पानीमा कोलीफर्म भेटियो
असोज २८, धरान । धरानमा पानीका विभिन्न स्रोतहरुमा कोलीफर्म भेटिएको छ । शुक्रबार धरानमा आयोजित पानी चौतारी नामक अन्तरक्रिया कार्यक्रममा पानीका गुणस्तर परिक्षणका क्रममा मानव शरीरलाई हानी गर्ने फिक्कल कोलीफर्म भेटिएको तथ्य सार्वजनिक गरिएको हो ।
विगत ३ वर्षदेखि धरान र धुलिखेल उपमहानगर पालिकाहरुमा पानी व्यवस्थापन सम्बन्धि अध्ययन अनुसन्धान गर्दै आएको अन्तर्राष्ट्रिय संस्था साउथ एशियन इन्स्टीच्युट अफ एडभान्स स्टडी (सियास) ले आयोजना गरेको कार्यक्रममा सियासकी सल्लाहकार डा. नानी रावतले धरानका पानी प्रदुषित रहेको जानकारी दिइन् ।
डा. रावतका अनुसार धरानका २० स्थानको पानीको नमुना लिएर ल्याब जाँच गर्दा सबैमा कोलीफर्म पाईएको बताईन् । २० स्थान मध्ये नेपाल खानेपानी संस्थानको एउटा रिजर्भ वयर, वडा नं. ७ विष्णुचोकका ५ स्थान, मकालु वस्तीको वडा नं १४ को ८ स्थानबाट लिइएको पानीको नमुनामा कोलीफर्म पाइएको उनले जानकारी दिइन् ।
null
कोलीफर्म भएको पानी खाँदा झाडापखाला, जण्डिस, टाईफाईड र छाला सम्बन्धि रोग लाग्ने चिकित्सकहरु बताउँछन् ।
जलवायुमैत्री पानी सुरक्षाको लागि लैंगिक समावेशिकरण सम्बन्धि सो अन्तरकिया कार्यक्रममा यहि दशैं देखि नयाँ परीयोजना अन्तर्गतको स्वच्छ सफा र प्रशस्त पानी खुवाउने हाम्रो चाहना हुँदा हुँदै धरानकै एक संस्थाले अदालतमा मुद्धा हालेका कारण खुवाउन नसकिएको कुरा धरान उपमहानगर पालिकाकी कावा मेयर तथा धरान खानेपानी वोर्डकी संयोजक मन्जु भण्डारीले बताइन् ।
यसैगरी खानेपानी वोर्डका सदस्य आनन्द श्रेष्ठले ३५ हजार घर धुरी भएको धरानमा १७ हजार ग्राहकलाई मात्र नेपाल खानेपानी संस्थाले पानी खुवाई रहेको र अन्य १८ हजार परीवारले अाफैँले स्रोत खोजेर असुरक्षित पानी खाइरहेको बताए ।
उनले नयाँ परीयोजनाले धरानका सबै वडामा स्वच्छ सफा पानी खुवाउने लक्ष्य रहेको जानकारी दिए ।
त्यस्तै जलवायु परीवर्तन सम्बन्धि विषयका विज्ञ तथा सियासका अध्यक्ष नगेन्द्र दाहालले विश्वमा जलवायु परीवर्तनको मारबाट पीडित देशहरु मध्ये नेपाल ५ औँ स्थानमा आउने भएकोले प्लाष्टिकजन्य बोटलहरुलाई विस्थापित गर्नुपर्ने सुझाव दिए ।