वर्षौपछि धरानमा लाग्नै आँटेको मेलामा झमेला, कांग्रेस लगायतका ७ दलको विरोध

असोज २८, धरान । धरानमा दशैं तिहारको समयमा लाग्ने मेला विगत लामो समयदेखि नै स्थगित भएको थियो । केही समययता पुनः लाग्ने भनिएको मेलामा राजनीतिक दलले भाँजो हाल्न सुरु गरेका छन् । राजनीतिक दलहरुले मेलामा विकृति निम्तने भन्दै विरोध जनाएका हुन् । 

मेलामा जुवाजन्य तमासा लगाएको भन्दै कयौँ वर्षसम्म बन्द रहेको मेलालाई धरान उपमहानगरपालिकाले दशैँको समयमा पुनः लगाउन अनुमति दिएपछि यसको विरोध सुरु भएको हो । 

धरान उप–महानगरपालिकाको गत बिहिबार सम्पन्न कार्यपालिका बैठकले धरान–१२ स्थित छिमेकी युवा समुहलाई मेला लगाउने स्वीकृति दिएलगत्तै त्यसको भोलीपल्ट नेपाली काँग्रेस र पर्सीपल्ट शनिबार बसेको अन्य ६ दलहरु संघीय लिम्बुवान मञ्च धरान नगर समिति, संघीय समाजवादी फोरम, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेश्नल अर्गनाइजेशन, किरात खम्बुवान साझा पार्टी र नेकपाको बैठकले असहमति जनाएको हो । 

null

मेला लगाउने प्रशासन तथा नगरपालिकाले अनुमति दिएपनि सबै राजनितिक दलहरुसँग परामर्श नगरेकाले सो मेलाको विरोध गरिएको पत्रकार सम्मेलनमा संर्घष समिति संयोजक तथा संघीय लिम्बुवान मञ्चका धरान नगर अध्यक्ष सञ्जुहाङ लिम्बुले जानकारी दिए । 

सम्मेलनमै जनुमक्ति पार्टीका धरान नगर अध्यक्ष चित्रथापा मगरले जाती विशेषलाई प्राथमिकतामा राखेर स्थानीय सरकारले सामान गर्नुपर्छ भने । ‘एउटा जातीको चाडपर्ब कटौती गरेर एउटा जातीलाई प्रोत्साहन गर्नु अन्यायपुर्ण हो । त्यसैले पनि हाम्रो विरोध हो’ उनले भने । 

विगतका दिनहरुमा धरानमा आयोजक एउटा संस्था देखाएर अर्कै गिरोहले मेला सञ्चालन गर्दै आएको थियो । यस्तो समस्याले गर्दा बेलाबेला झैझगडा लगायतका अपराधिक गतिविधि हुने गरेका थिए । 

करिब ३/४ बर्षदेखि मेला लगाउने अनुमति नदिएपनि यसपालि भने जिल्ला प्रशासन कार्यालय तथा स्थानीय सरकार धरान उपमहानगरपालिकाले मेला आयोजना गर्ने अनुमती दिएको हो । 

गत वर्ष पनि मेलाको चर्चा चलेको भएतापनि स्यम् मेयर तारा सुब्वाले लगाउन दिएका थिएनन् । तर यो बर्ष भने बडा दशैं शुरु भइसकेपछि गत बिहिबार बिहान मात्रै बसेको कार्यपालिका बैठकले मेला सम्बन्धी एजेण्डा पारित गरेको हो । 

सो बैठकले धरान ६ पानमारामा ब्वाइज युनियन क्लबलाई पानवारी महोत्सव आयोजना गर्न र धरान १२ स्थित छिमेकी युवा समुहलाई सस्तो बजार तथा रमाइलो साँस्कृतिक उत्सव नामको मेला आयोजना गर्न स्वीकृति दिएको हो । 

धरान उपमहानगर कार्यपालिकाका प्रवक्ता एवम् वडा नं २० का अध्यक्ष मणीराम राईले चाडपर्वलाई रमाइलो बनाउनका लागि मेला चलाउन स्वीकृति दिने नीतिगत निर्णय कार्यपालिका बैठकले गरेको बताए । 

बैठकले मेलाको लागि मापदण्ड तयार गर्न एउटा अनुगमन समिति पनि गठन गरेको छ । मेलाको मादण्ड तयार गर्न कार्यपालिका बैठकले वडा नं १५ का अध्यक्ष नरेश इवारमको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिति समेत गठन गरेको हो । 

अन्य सदस्यहरुमा समितिमा वडा नं १२ का अध्यक्ष टंक राई, वडा १० का अध्यक्ष श्रीप्रसाद लिम्बू, वडा १७ का अध्यक्ष मनोज भटराई र वडा १ का अध्यक्ष रोशन अधिकारी समेत सदस्य रहेका छन् । 

विगतमा मेलाबाट लाखौंको चलखेल हुने गरेको, र मिलेमतोमा मेला लगाउने अनुमति दिएको भन्दै नेपाली कांग्रेसले आपति जनाएको छ । 

एता जुनसुकै पार्टी दलले विरोध गरेपनि मेला लगाउन जिल्ला प्रशासनकै अनुमति समेत आईसकेकाले मेला लाग्ने र प्रत्येक दिन गाउँमा लाग्ने मेलालाई ५ हजार र शहर बजारमा लाग्ने मेलालाई ७ हजार मेला कर लाग्ने धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मन्जु भण्डारीले जानकारी दिईन । 

स्मरण रहोस् विगतमा स्थानीय राजनीतिक दलहरुका नेताहरुलाई समेत कमिसन दिएर जुवाजन्य खेलसहितको मेला धरान १२ स्थित पब्लिक उच्च् माविको खेल मैदानमा सञ्चालन हुँदै आएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *