लाहुरेको सहर धरानमा लाहुरे भेट्नै मुश्किल

धरान । पूर्वको सुन्दर सहरभित्र पर्ने सुनसरीको धरान उपमहानगरपालिकामा विकास निर्माणका कार्यहरु अन्य स्थानीय तह भन्दा फरक छ । यसको प्रमुख श्रेय पनि यहाँका स्थानीयवासीलाई नै जान्छ । लाहुरेको सहर समेत भनेर चिनिने धरानको विकासमा सबैभन्दा ठूलो देन लाहुरेकै छ भन्दा फरक नपर्ला । 

यहाँ बसोबास गर्ने हरेक लाहुरेहरु कि त बेलायती सेनामा काम गरेर अवकास प्राप्त गरेका छन् त कति सिंगापुर, हङ्कङ, इन्डियन लगायतका छन् । 

अहिले उनीहरु आवासीय रुपमै बेलायत तथा सिंगापुर बस्न थालेपछि भने धरानका हरेक क्षेत्र प्रभावित भएका छन् । 

null

पछिल्लो समय गोर्खा भूपू सैनिकहरुले बेलायती सेना सरह पेन्सन लगायत अन्य सेवा सुविधाको माग राखी आन्दोलन गरेसँगै उनीहरुको आंशिक माग सुनुवाई पश्चात् बेलायतमा बस्न पाउने अधिकार समेत सुनिश्चित भएको छ । 

यो अधिकार प्रयोग गर्दै बेलायतमा कार्यरत बहालवाला सेना तथा भूपू सेनाका परिवार बेलायत बस्न थालेपछि धरानका हरेक क्षेत्र प्रभावित बन्दै गएको हो । 

धरानमा रहेको दर्जन भन्दा बढी ब्रिटिस गार्खालीहरुको व्यवसायिक फर्म, उनीहरुको पहिचान झल्कने भौतिक संरचना, भूपूहरुले सञ्चालन गर्दै आएका सामाजिक संघ संस्थामा पुस्ता हस्तान्तरणको समस्या, वैदेशिक रेमिट्यान्समा असर पर्नुका साथै धरानको व्यापार व्यवसायमा समेत असर पुगेको गोर्खा भूपू सैनिक एकता समाजका अध्यक्ष गजेन्द्र इस्बोले बताए । 

पेशाबाट निवृत्तिभरण भइसकेपछि भूपूहरुलाई चलायमान बनाउन उनीहरुले व्यवसायिक फर्मसँगै भूपूले गरेका योगदानलाई पुस्ताैँ पुस्तासम्म यादगार बनाउन स्मरण योग्य भौतिक संरचना समेत निर्माण गर्दै आएका छन् । 

उनीहरुले धरान १० मा ब्रिटिस सैनिक भवन, धरान २ भानुचौकमा गोर्खा कम्प्लेक्स, गोर्खा स्मृति पार्क लगायत भूपूको पहिचान झल्कने आधा दर्जन भन्दा बढी भौतिक संरचना निर्माण गरिसकेका छन् । 

गोर्खा भूपू सैनिकका परिवारलाई रोजगारीमुलक कार्यमा व्यस्त राख्न सञ्चालनमा आएका वित्तिय संस्था, व्यापारिक प्रतिष्ठानमा भूपू बेलायती सेनाहरु धरानबाट घरजग्गा नै बेचेर बेलायत पलायन हुँदा वैदेशिक रेमिट्यान्ससँगै यहाँको व्यापार व्यवसायमा ठूलो असर गोर्खा बचत ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर राईको भनाइ छ । 

त्यतिमात्र हैन धरानका गल्ली–गल्ली, चोक–चोकमा कालोपत्रे हुनुमा पनि लाहुरे समुदायकै योगदान रहेको छ । अहिले उमेर ढल्केका केही बेलायती भूपू सेनाबाहेक सबै बेलायत बसोबास गर्न थालेपछि भने धरानको विकासमा समेत ठूलो प्रभाव पारेको महसुस स्वयम् भूपू लाहुरेहरुले गरेका छन् । 

यसलाई मध्यनजर गर्दै राज्यले भूपू लाहुरेलाई नेपालमै बस्ने अवस्था सिर्जना गर्न जरुरी रहेको भूपू ब्रिटिस सैनिक दानबहादुर राई बताउँछन् । 

आफूले कमाएको रकमलाई सही सदुपयोग गर्दै व्यवसाय सञ्चालनमा शेयर हाल्ने भूपू सेना विदेशमै पलायन हुँदा धरानको व्यवसायमा ७५ प्रतिशत भन्दा बढी गिरावट आएको सुनसरी उद्योग वाणिज्य संघ धरानका सदस्य एवम् बराह ज्वेलसरी इण्डिष्ट्रिज प्रा.लिका धरान शाखा प्रमुख मानबहादुर विश्वकर्मा बताउँछन् । 

करिब १० हजार भूपू गोर्खा मध्ये आधा जति बेलायत गइसकेका छन् भने अरु पनि धमाधम जाने क्रममा छन् । उनीहरूको बेलायत बसाइँले नेपाल भित्रिरहेको मासिक ६५ करोड बराबरको रेमिट्यान्स अब उतै रहन थालेको छ । 

यसरी विगतमा ५० प्रतिशत भन्दा बढी भूपू सैनिकको बसोबास रहेका धरानलाई पुनः पहिलेकै जस्तो चलायमान बनाउन धराने जनता, स्थानीय सरकार, प्रदेश सरकार र नेपाल सरकारले उनीहरुको भावनालाई बुझेर नीति नियम बनाउन जरुरी छ । यस्तो नभएमा रेमिट्यान्स भित्रिने ठुलो माध्यमको रुपमा रहेको धराने भुपु लाहुरेहरुको समस्याले धरानको अर्थतन्त्रमा प्रभाव पार्ने निश्चित छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *