प्रधानमन्त्रीको स्वास्थ्यबारे भ्रामक समाचार प्रकाशन गर्ने पत्रकार मानन्धर पक्राउ

कात्तिक १४, काठमाडौँ । त्रिवि शिक्षण अस्पतालमा तीन दिनदेखि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे भ्रामक समाचार फैलाउने एक पत्रकार पक्राउ परेका छन् । 

सोमबार बिहान त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्रीको स्वास्थ्यबारे जथाभावी लेख्ने पाथीभरा अनलाइन डटकमका स्याङजा घर भई काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका – ८ बस्ने ४६ वर्षीय हरिप्रसाद मानन्धर पक्राउ परेका हुन् । 

मंगलबार साँझ अस्पतालको शैय्याबाटै एक सन्देश वक्तव्य जारी गर्दै केही सामाजिक सञ्जाल र केही डिजिटल मिडियाबाट आफ्नो स्वास्थ्य अवस्थाबारे आएको आधारहीन प्रचारप्रति आपत्ति जनाएका थिए । 

null

सो लगत्तै महानगरीय प्रहरी अपराध महाशाखाले मानन्धरलाई पक्राउ गरी विद्युतीय अपराध तथा कसुरअन्तर्गत कारबाही सुरु गरेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो स्वास्थ्यप्रति देखाएको चिन्ता र स्वास्थ्यलाभको कामनाका लागि धन्यवाद दिए थिए । उनले मौसमी रुघाखोकी र त्यसबाट हुनसक्ने संक्रमणको रोकथामका लागि आफू अस्पताल भर्ना भएको वक्तव्यमार्फत् जानकारी दिएका छन् । 

साथै उनले सामाजिक सञ्जाल तथा कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट आफ्नो स्वास्थ्यबारे गरिएको आधारहीन प्रचारबारे आफू जानकार रहेको बताएका छन् । 

‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रजारबाजीको मलाई जानकारी छ,’ प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, ‘यसप्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध गर्दछु।’ 

प्रधानमन्त्री ओलीले देशका विभिन्न ठाउँमा भएका अनपेक्षित घटनाप्रपति आफू संवेदनशील रहेको समेत बताएका छन् । धर्म संस्कृति वा दलीय बहसको नाममा आपसी सद्भाव खलबल्याउने कुनै गतिविधि स्वीकार्य नहुने भन्दै उनले यस्तो काम नगर्न र नगराउन आग्रह गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *