अधकचल्ट्याईको शिकार ‘छक्का पञ्जा ३’ फिल्म समिक्षा
अत्यन्तै गम्भीर विषयवस्तुको उठान गरेर कमजोर प्रस्तुतिको प्रतिफलको रुपमा आएको छ नयाँ फिल्म ‘छक्का पञ्जा ३’ । नेपाली राजनीति, शिक्षा, समाज र व्यक्ति विशेष नै भ्रष्टिकरण भईरहेको यथार्थ विषयलाई मियो बनाएको छ फिल्म ‘छक्का पञ्जा ३’ ले । नेपालमा व्यक्ति व्यक्ति भ्रष्ट भईरहेका छन् जसले गर्दा सिंगो समाज भ्रष्ट बन्दै गईरहेको छ । यसले नेपालको हरेक क्षेत्रलाई नै असर गरिरहेको छ र त्यसको परिणाम पनि देखिन थालिसकेको छ ।
फिल्मले नेपाली शिक्षा क्षेत्रमा देखिएको विकृतिलाई उजागर गर्न खोजेको छ र प्रयास गर्दा त्यसलाई असल ट्रयाकमा ल्याउन सकिन्छ भन्ने सन्देश दिन खोजेको छ । फिल्मले उठाएको विषयवस्तु र दिन खोजेको सन्देश फिल्मको सबैभन्दा सकारात्मक पक्ष हो । तर त्यो विषयवस्तुलाई प्रस्तुत गर्न बुनिएको कथा फिल्मको सबैभन्दा कमजोर पक्ष हो ।
छानिएको विषय शक्तिशाली छ, दिन खोजिएको सन्देशको भावना प्रशंसनीय छ, तर कथाले ती तमाम कुरालाई टिठलाग्दो बनाईदिएको छ । यद्यपि ‘छक्का पञ्जा’ सिरिजको पछिल्ला संस्करण भन्दा यसले आफैमा सुधार गरेको छ ।
null
विद्यालयको स्तर निर्धारण गर्न सरकारले केही सूचकहरु तय गरेको छ । त्यसैको आधारमा विद्यालयले पाउने सुविधा तथा अनुदानहरुको व्यवस्था गर्ने गरेको छ । नेपालका अधिकांश सरकारी विद्यालयहरुको आफ्नै भवन छ, प्रशस्त जमीन छ, तालिम प्राप्त शिक्षक छन् । तर, नतिजा निराशाजनक छ । त्यसको तुलनामा अधिकांश नीजी विद्यालय भाडाका घरमा सञ्चालित छन्, खुल्ला जमीन छैन, तालिमप्राप्त शिक्षक छैनन्, तर नतिजा अनुकरणीय छ । तर यसो भनिरहँदा कतिपय सरकारी विद्यालय पनि छन् जसका कारणले नजीकका नीजी विद्यालय बन्द हुने अवस्थामा पनि पुगेका छन् । फिल्म लेखकले यी दुवैखाले यथार्थलाई पनि नजरअन्दाज नगरेको भए पनि सुगन्ध थपिने थियो ।
फिल्मका चरीत्रहरुको चित्रात्मक व्याख्या कतै अतिरञ्जनात्मक छ भने कतै अस्ष्पष्ट छन् । हो, सरकारी विद्यालयका शिक्षकहरुले अपेक्षकृत नतिजा दिन सकेका छैनन् । तर, शतप्रतिशत शिक्षकहरु नै खराब छन् भन्ने किसिमले जुन कथानक बुनिएको छ त्यसले कथालाई कमजोर बनाएको छ ।
सबैभन्दा कमजोर र अस्पष्ट चरित्र विद्यालयका प्रधानाध्यापकलाई बनाईएको छ । विद्यालयको सुधारका लागि प्रधानाध्यापक कै छोरी उजेलीलाई शहरबाट गाउँ पुर्याइने क्लिसे प्रयोग गरिएको छ । तर उनको चरित्रसँग यति निर्मम चलखेल गरिएको छ कि त्यो चरित्र नै अलमल्लमा परेको छ । मानिसको विवाहको निर्णय अत्यन्तै महत्वपूर्ण हुन्छ । तर उजेलीले विद्यालय व्यवस्थापन समितिका अध्यक्षका छोरा राजासँग विवाह गर्ने निर्णयमा अति नाटकीयताको उपयोग गरेको छ, जुन स्वाभाविक छैन र दर्शकले पनि विश्वास गर्दैनन् ।
फिल्मभरि उनीहरुको सम्बन्धको आवश्यकता र उपयोगिता देखिदैन र सम्बन्ध स्थापित पनि हुँदैन । यद्यपि उनीहरुलाई पति पत्नी मान्न भने दर्शक विवश छन् । काठमाण्डौमा राम्रो टेलिभिजनमा समाचार वाचिकाका रुपमा कार्यरत र त्यो कामबाट पनि असन्तुष्ट भएर अष्ट्रेलिया जान खुट्टा उचालेकी युवती गाउँको विद्यालयमा पढाउन उद्दत हुनु स्वाभाविक छैन । उजेलीको चारित्रीकरणमा निर्माण पक्ष असफल भएको छ । सरकारी विद्यालयमा हम्मेसी शिक्षक भई हाल्ने अवस्था हुँदैन । भईहाले पनि स्वयंसेवी शिक्षक मात्र हुन सक्छ । वा, बढीमा करारमा नियुक्त गर्न सक्छ, त्यो पनि विद्यालय व्यवस्थापन समितिको निर्णयले, प्रधानाध्यापकले होईन । प्रतिकुल व्यवस्थापन समिति हुँदाहुँदै उजेलीको शिक्षिकाको रुपमा पदार्पण हुनु सम्भव छैन । पछि उनको खारेजीको लागि विद्यालय हड्तालको अवस्थामा पुग्नु भनेको क्लिसे मात्र हो । असम्भव नियुक्ति पाएकी उनले स्थायी शिक्षकलाई हानेको थप्पड हड्ताल गर्नकै लागि मात्र गरिएको अस्वाभाविक प्रयास मात्र हो ।
फिल्ममा राजा चरित्रलाई अतिरञ्जनात्मक बनाईएको छ । फिल्मको विषयबस्तुसँग जुन ठ्याक्कै मेल खाँदैन । कथा र पटकथाकार दीपकराज गिरीले त्यो लोभ नगरेको भए फिल्ममा अलि सुगन्ध थपिने थियो । फिल्मको विषयवस्तु एकातिर छ राजा भने दक्षिण भारतीय फिल्मका जादुई हिरो जस्तो ‘राजा …. राजा’ भन्ने पृष्ठसंगीत सहित प्रवेश गर्छन् जसले विषयवस्तुको गम्भीरतालाई कमजोर बनाउन मद्दत गरेको छ ।
फिल्ममा अर्को एउटा शक्तिशाली चरित्र छ, माग्ने बुढाकी बहिनी गमली को । तर उनको चरित्रको शक्ति नबुझेर हो वा लाईमलाईटका कलाकारहरुलाई मात्र महत्व दिईएर हो, त्यो चरित्रबाट फिल्मले सम्भावना हुँदाहुँदै पनि फाईदा लिनबाट चुकेको छ । उनलाई केन्द्रीय चरित्रको भुमिकामा न्याय गर्न सकेको भए फिल्मकै स्तर कहाँ पुग्ने थियो, त्यसको हेक्का निर्माण पक्षलाई नभएको महशुश हुन्छ ।
फिल्मको कलाकारहरुमा दिपिका प्रसाईं सबैभन्दा कमजोर देखिन्छन् । उनले अभिनयमा अलि अलि प्रयास गरेर पुग्दैन । अभिनय गर्नु खेलाचीँ होईन भन्ने जति सक्दो चाँडो बुझेको राम्रो
फिल्ममा नेपालका प्रायः सबै कमेडी टेलिश्रृंखलाका कलाकारहरुको भीड छ । सहकर्मीहरुलाई सम्झिएर स्थान दिनु निर्माता निर्देशकको सदासयता स्मरणीय छ, तर उनीहरुलाई न्याय भने हुन सकेको छैन ।
कलाकारका रुपमा दीपकराज गिरी उनको सिरिजका निरन्तरता हुन्, नयाँ उनले केही गर्न सकेका छैनन् । यसले उनको सीमा यति नै हो कि भन्ने महशुश हुन थालेको छ । त्यसैगरि जीतु नेपाल, बुद्धि तामाङ र केदार घिमिरे पनि उही गह्राका उत्पादन मात्र हुन् । उनीहरुमा पनि नयाँ केही छैन । जयनन्द लामाले बरु फिल्ममा प्राण हालेका छन् । स्वस्तिमा खड्का र प्रियंका कार्कीलाई अघिल्ला संस्करणको सफलताको धन्यवाद दिन मात्र राखिएको छ । लक्ष्मी गिरीलाई उपयोग गर्न सकिएन ।
नीर शाहको अभिनयमा प्रायः नाटकीयता बढि हुन्छ । तर, ‘छक्का पञ्जा ३’ मा भने उनको अभिनयमा स्वाभाविकता झल्किएको छ । बसन्त भट्ट चरीत्र र चारित्रीकरणमा अत्यन्तै स्वाभाविक छन् । मन्त्रीका रुपमा रमेश रञ्जन झा ‘शत्रुगते’ कै चरीत्रमा दोहोरिएका छन् । शिशिर बाङदेललाई जति गराईएको छ त्यो राम्रै छ । तर, उनको चरीत्र अस्पष्ट छ ।
फिल्मको कलाकारहरुमा दिपिका प्रसाईं सबैभन्दा कमजोर देखिन्छन् । उनले अभिनयमा अलि अलि प्रयास गरेर पुग्दैन । अभिनय गर्नु खेलाचीँ होईन भन्ने जति सक्दो चाँडो बुझेको राम्रो । फिल्ममा उनलाई सपाट देखिएको छ । उनले गरेको भुमिका फिल्मको सबैभन्दा शक्तिशाली र केन्द्रीय चरित्र हो तर उनको अभिनय त कमजोर छँदैछ, उनलाई जसरी प्रस्तुत गरिएको छ, त्यो पनि फितलो छ ।
‘छक्का पञ्जा’ र ‘छक्का पञ्जा २’ भन्दा यसमा निर्माण पक्ष सुधारिएको महशुश हुन्छ । संयमित पनि पाईन्छ । फिल्ममा जयनन्द लामालाई चरित्रको रुपमा राजनीतिले जनजातिलाई गरेको उपयोग उत्कृष्ट छ । जनजातिको रुपमा उनको सोझोपनालाई उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको छ । विद्यालयको पृष्ठभुमिमा उपयोग गरिएको देखाईए पनि सिंगो नेपाली राजनीतिले जनजातिहरुलाई यसरी नै उपयोग गर्दै आईरहेको छ ।
फिल्ममा सिनेमाटोग्राफीले मनोरञ्जन नै दिन्छ । कतिपय ठाउँहरुमा ड्रोनको प्रयोग राम्रो देखिएको छ भने कतिपय प्रयोग अनावश्यक छ । दृश्यहरुले आँखालाई शितलता प्रदान गर्दछ ।
फिल्मको गीत अघिल्ला सिरिज जस्ता कर्णप्रिय छैनन् । र, राखिएका पनि स्वाभाविक लाग्दैनन् । जबरजस्ती ठुसिएका छन् जसका कारणले फिल्म सकिदा सम्म ती बिर्सिई सक्छन् ।
फिल्मको अन्त्य सबैभन्दा अविश्वसनीय छ । अहिले हाम्रा छिमेकमा पनि सन्देशमुलक फिल्म बनाएर व्यापार र बौद्धिक उचाई हासिल गरिरहेको उदाहरण पाईन्छ । ‘छक्का पञ्जा ३’ मा पनि सन्देश दिने अभिष्ट राखिएको छ । तर विषयवस्तुको गहिराई सम्म पुग्न नसकेकाले बलात् थोपरिएको असल सन्देश स्वाभाविक लाग्दैन । नेपाल फिल्मको आम चरित्र रहेको गहिराईमा नपुग्ने अधकचल्ट्याईको शिकार ‘छक्का पञ्जा ३’ पनि भएको छ ।
‘छक्का पञ्जा ३’ लाई दर्शकले मन पराईरहेका छन् । तर, त्यति मात्र असल फिल्मको मानक हुन सक्दैन । त्यो एउटा तत्व हुन सक्छ । यत्तिको सफलताले मात्तिने गल्ती नगरे आगामी दिनहरुमा यो टीमबाट अझै राम्रो फिल्म आउने अपेक्षा गर्न सकिन्छ । फिल्ममा अन्य कुरा केही नसोच्ने दर्शकहरुलाई मनोरञ्जन दिन सक्छ । हिजो नेपाल टेलिभिजनको स्क्रिनमा देखिने हास्य श्रृंखलाका कलाकारहरु सम्मिलित यो फिल्म ती टेलिश्रृंखला भन्दा माथि छन् ।