एसिया प्यासिफिक समिट : राजारानी र राष्ट्रपतिसहितका बाँकी भीआईपी आज आउँदै

काठमाडौँ। एसिया प्यासिफिक समिटमा युनिफिकेसन चर्चकी प्रमुख हक जा हनले प्रधानमन्त्री केपी ओली र उनकी पत्नी राधिका शाक्यसहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई आशीर्वाद दिने तयारी छ । 

कान्तिपुरका अनुसार सूचीमा समिटको दोस्रो दिन आइतबार ‘प्रधानमन्त्री, मन्त्री, मेयर, नेता र शिक्षकका दम्पतीलगायतलाई चर्चकी गुरुआमाले आशीर्वाद दिने’ उल्लेख छ । त्यसपछि उनीहरू ‘मुन परिवारको अंग बन्ने सम्भावना रहने’ आयोजकको दाबी छ । 

‘यो आशीर्वाद समारोह युनिफिकेसन चर्च र यसका सदस्य तथा यसको बजारीकरणका लागि धेरै महत्त्वपूर्ण छ,’ कार्यक्रमको महत्त्व दर्शाउन सूचीको तल लेखिएको छ । दोस्रो दिनको पहिलो र दोस्रो सत्रमा जलवायु परिवर्तनको सम्बोधन र त्यसमा सञ्चारमाध्यमको भूमिकाबारे संगोष्ठी गरेपछि समापन सत्रमा दम्पतीहरूलाई आशीर्वाद दिन लागिएको हो । 

null

आयोजक युनिभर्सल पिस फेडरेसन ९यूपीएफ० नेपाल शाखाका अध्यक्ष एकनाथ ढकालका अनुसार दोस्रो सत्रमा देशैभरका मेयर र उपमेयरलाई निम्ता दिइएको छ । भित्रको हलमा सबै नअट्ने भएपछि हायातबाहिरको खाली ठाउँमा ३४ सय सिट क्षमताको अस्थायी हल बनाइएको उनले बताए । ‘आजको विश्वमा पश्चिमा हावा लागेर परिवार विखण्डन भइरहेको छ,’ यूपीएफ नेपालका महासचिव विनोद डाँगीले भने, ‘त्यसलाई नेपालमा आउन नदिन र परिवारलाई जोगाइराख्न उहाँबाट आशीर्वाद दिन लागिएको हो ।’ आशीर्वाद लिने ४ हजारमध्ये नेपालका उच्च पदस्थ १५ सय जोडी हुनेछन् । यसरी धार्मिक रीतले आशीर्वाद दिनुअघि प्रधानमन्त्री ओलीलाई चर्चकी गुरुआमाले ‘नेतृत्व तथा सुशासन पुरस्कार’ प्रदान गर्नेछिन् । कार्यक्रमको एक सय एक सदस्यीय आमन्त्रण समितिका अध्यक्ष माधवकुमार नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे केही पनि भनिएको थिएन । चर्चकी गुरुआमा यूपीएफका संस्थापक धार्मिक गुरु सन म्युङ मुनकी पत्नी हुन् । मुनले सन् २०५४ मा दक्षिण कोरियामा यूपीएफ स्थापना गरेका थिए, जसले सामूहिक रूपमा विश्वभर दम्पतीहरूलाई आशीर्वाद दिँदै आएको छ । चर्चकी सदस्य हानले १७ वर्षको उमेरमा ४० वर्षका मुनसँग सन् १९६३ मा विवाह गरेकी थिइन् । मुन दम्पतीले आफूहरूलाई धर्मावतार बताउँदै क्राइस्टले पूरा गर्न नसकेको दायित्व पृथ्वीमा पूरा गर्न आएको प्रचार गर्दै आएको छ । सन् २००४ मा मुनले आफूलाई मसिहा घोषणा गरेका थिए । सन् २०१२ मा मुनको मृत्यु भएपछि हान यूपीएफको मुख्य धार्मिक गुरु भएकी छन् । उनले आफूलाई ईश्वरकै अवतार घोषणा गरेकी छन् ।सम्मेलनमा भाग लिन म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन बिहीबार आएका छन् । उनीहरूलाई होटल सोल्टीमा राखिएको छ । 

न्युजिल्यान्डको पूर्वउपनिवेश समोआ आइल्यान्डका राजारानी, मार्सल आइल्यान्डका राष्ट्रपति, पालाओ आइल्यान्डका राष्ट्र प्रमुख, पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानी र भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडा शुक्रबार आउँदै छन् । 

उनीहरू सबैलाई सोल्टीमै राखेर शुक्रबार साँझ प्रधानमन्त्री ओलीले रात्रिभोज दिँदै छन् । आउने–जाने समयको बचत गर्न ओली बिहीबारबाटै सोल्टीमा बसेका छन् । हुन सेन सम्मेलनपछि लुम्बिनी जाँदैछन् भने सुकीको लुम्बिनी भ्रमण टुंगो नलागेको यूपीएफले जनाएको छ ।    

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *