नेपाल र कम्बोडियाबीच हवाई सम्झौता

काठमाडाैं। नेपाल र कम्बोडियाबीच हवाई सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनका कम्बोडियाली समकक्षी हुन सेनको उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र कम्बोडियाका मिनिष्टर इञ्चार्ज अफ द स्टेट सेक्रेटरिएट अफ सिभिल एभिएशन माओ हाभनन्लले द्विपक्षीय सम्झौतामा बिहीबार हस्ताक्षर गरेका हुन्। 

नेपालले यो सहित ३९ देशसँग हवाई सम्झौता गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार यो सम्झौता नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण हुनेछ । 

कम्बोडियाका प्रधानमन्त्री हुन सेन एशिया प्यासिफिक समिटमा सहभागी हुन बिहीबार नै नेपाल आएका हुन्। गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न चाहने कम्बोडियाका नागरिकको चाहनालाई हवाई सम्झौताले मद्दत पुर्‍याउने विश्वास लिइएको छ ।  

null

सम्झौताअनुसार दुवै देशबीच हुने हवाई सम्झौतामा साताको दुवै देशको १४/१४ उडान हुनेछ । यस्तै कार्गाे सेवामा भने कुनै पनि शर्त लागू नहुने सहसचिव आचार्यले राससलाई जानकारी दिए। 

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध विमानस्थल निर्माणका क्रममा रहेको र आगामी जेठ अन्तिम सातादेखि उडानयोग्य हुने भएकाले हवाई सम्झौता थप महत्वपूर्ण हुने सहसचिव आचार्यको भनाइ छ । 

कम्बोडियाका ९६ दशमलव ९० प्रतिशत नागरिकले बौद्ध धर्म मान्ने भएकाले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागिसमेत सम्झौता दूरगामी महत्वको रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको भनाइ छ । 

उनले सम्झौतालाई कार्यान्वयन गर्न मन्त्रालयले आवश्यक प्रक्रिया सुरु गर्ने र दुवै देशका विमान सेवा प्रदायकबीच आवश्यक व्यवस्थापन गरिने बताए। 

कम्बोडियाले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नै उडान गर्ने इच्छा व्यक्त गरेको मन्त्रालयको भनाइ छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भइरहेको विमानस्थल आगामी जेठ मसान्तदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । 

अहिले याे विमानस्थलको धावनमार्गको कालोपत्र भइरहेको छ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सम्झौतालाई एक महत्वपूर्ण उपलब्धिका रुपमा टिप्पणी गरे। “यो महत्वपूर्ण सम्झौता हो, यसलाई कार्यान्वयन गर्न निगमले आवश्यक प्रक्रिया तत्काल सुरु गरिहाल्छ”, उनले भने। 

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा र कम्बोडियाली समकक्षी चुच फोयुमबीच सांस्कृतिक आदानप्रदानसम्बन्धी द्विपक्षीय सम्झौतामा समेत बिहीबार नै हस्ताक्षर भएको छ । दुई देशका संस्कृतिको आदानप्रदान गर्न याे सम्झौता महत्वपूर्ण हुने विश्वास लिइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *