विश्वकपमा नेपाल प्रहरीको सहयोग माग्यो कतारले

कतार भ्रमणमा रहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग कतारको आन्तरिक मामिला मन्त्रालयले विश्वकपमा नेपालले सुरक्षा सहयोग दिनुपर्ने सम्बन्धमा छलफल गरेको छ। 

खनालको भ्रमणमा कतार सरकारले सन् २०२२ मा आयोजना हुने विश्वकपमा नेपाल प्रहरीको सुरक्षा सहयोगका विषयमा छलफल गरेको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताए। 

सुवेदीका अनुसार विश्वकप अवधिमा मेडिकल र प्राविधिक टोलीको आवश्यकता कतारले औंल्याएको हो। यस विषयमा पछि विस्तारमा छलफल हुने प्रवक्ता सुवेदीले बताए। 

null

‘विश्वकपमा सहयोग गर्न नेपाल प्रहरी कतार जाने विषयमा अहिले छलफलमात्र भएको छ, अन्य केही विषयमा सहकार्य गर्ने आशय पत्रमा हस्ताक्षर भएको हो,’ प्रवक्ता सुवेदीले भने। 

सन् २०२२ मा कतारमा हुने विश्वकपको सुरक्षाका लागि कतार सरकारले नेपाली सुरक्षा गार्ड लैजान चासो देखाएको थियो। 

गत साउनमा काठमाडौंमा गृहमन्त्री रामबहादुर थापासँग भेटेर नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले सन् २०२२ मा कतारले आयोजना गर्ने विश्वकपका लागि नेपाल सरकारसँग सम्झौता गरेर सुरक्षा गार्ड लैजान इच्छुक रहेको औपचारिक जानकारी गराएका थिए। 

महानिरीक्षक खनालको भ्रमणको क्रममा नेपाल प्रहरी र कतारको आन्तरिक मामिला मन्त्रालयबीच अपराध रोकथाम र नियन्त्रण, तालिम र प्राविधिक सहयोगमा सहकार्य गर्ने समझदारी भएको छ। 

कतारको आन्तरिक मामिला मन्त्रालय र नेपाल प्रहरीबीच बुधबार यस सम्बन्धी आशय पत्रमा हस्ताक्षर भएको हो। 

यसअघि प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीको नेतृत्वमा गएको टोलीले विषयगत छलफलमा सहमती जनाएर फर्किएको थियो। एआईजी कार्कीको टोलीले दुई देशबीच तालिम आदानप्रदानका विषयमा समझदारी गरेको थियो। 

कतारको आन्तरिक मामिला मन्त्रालयका अनुसार महानिरीक्षक सर्वेन्द्र खनाल र सार्वजनिक सुरक्षाका महानिर्देशक स्टाफ मेजर जर्नेल शाद विन जसिम अल खुलाइफीले आसयपत्रमा हस्ताक्षर गरेका हुन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *