आङ सान सुकीलाई ९ कक्षाको सामाजिक पुस्तक उपहार !
मंसिर १४, काठमाडौँ । म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीले आफूले विगतमा बसेको समयमा भन्दा काठमाडौँमा धेरै परिवर्तन भएको पाएको अनुभव बताएकी छिन् ।
प्रधानमन्त्री केपी ओलीसँगको भेटमा उनले यस्तो बताएकी हुन् ।
null
एसिया प्यासिफिक समिटमा सहभागी हुन नेपाल आएकी नेत्री सुकी सन् १९७३ मा आफ्ना श्रीमानले अनुसन्धान गर्न आएका बखत नेपालमा बसेकी थिइन् । नेपालकी अनगारिका धम्मावती गुरुमा सुकीकी बौद्ध गुरुआमा छिन् ।
भेटमा प्रधानमन्त्री ओलीले नेपालको कक्षा ९ को सामाजिक विषयमा रहेको नेत्री सुकीको व्यक्तित्व उल्लेख भएको पाठ्यपुस्तक समेत उपलब्ध गराएका थिए ।
यसैबीच नेपाल र मित्र राष्ट्र म्यान्माबीच पहिलो पटक आज व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेकी म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकीबीच भएको अलग अलग भेट र द्विपक्षीय वार्तापछि उनीहरुको उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यानमारका तर्फबाट अन्तर्राष्ट्रिय व्यापार सहकार्यमन्त्री यु क्यो टिनले हस्ताक्षर गरेका थिए ।