काँग्रेस नेता गगन थापाले भने, जोरबिजोर प्रणालीको अवज्ञा गरौँ
मंसिर १३, काठमाडौँ । काँग्रेस नेता तथा सांसद गगन थापाले सवारी व्यवस्थापनका आजदेखि लागु भएको जोरबिजोर प्रणालीको अवज्ञा गर्न आह्वान गरेका छन् ।
मंसिर १४ देखि मंसिर १७ गतेसम्म काठमाडौँमा हुने एसिया प्यासिफिक सम्मेलनलाई लक्षित गर्दै सरकारले यातायातमा लागु गरेको जोरबिजोर प्रणालीको अवज्ञा गर्न सांसद गगन थापाले आह्वान गरेका हुन् ।
गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा जनतालाई सास्ती दिने किसिमले लागु गरेको जोरबिजोर कार्यक्रम खेदजनक भएको उल्लेख गर्दै नेता थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत उक्त आह्वान गरेका हुन्।
null
ट्वीटरमा उनले युथ कांग्रेस नेपालले जारी गरेको विज्ञप्ति समेत समावेश गरी लेखेका छन्, ‘सही कामको लागि सरकारले आव्हान गर्दा जोर–विजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ। तर धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ। सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य हो, अवज्ञा गरौं।’
जोर–बिजोर प्रणालीसँगै १३ र १५ गते बिजोर नम्बर प्लेटका सवारी मात्र सञ्चालन हुने भएका छन् भने १४ र १६ गते जोर नम्बर प्लेटका सवारीले मात्र सञ्चालन अनुमति पाउने भएका छन् । सवारीसाधनको अन्तिम अंकका आधारमा जोर–बिजोर प्रणाली लागू हुनेछ ।
महाशाखाले एसिया प्यासिफिक सम्मेलनमा विभिन्न राष्ट्रका अति विशिष्ट र विशिष्ट व्यक्तिको सवारी आवागमनलाई व्यवस्थित बनाउन जोर–बिजोर प्रणाली लागू गरिएको जनाएको थियो ।
अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारीसाधनमा भने जोर–बिजोर प्रणाली लागू नहुने ट्राफिक प्रहरीले जनाएको छ ।