वीपी प्रतिष्ठानका उपकूलपतिलाई हटाउने तयारी, मंसिर ५ गते सिनेट राख्न स्वास्थ्यमन्त्रीको निर्देशन

कात्तिक २७, काठमाडौं । भ्रष्टाचार र चरम राजनीतिबाट लथालिङ्ग भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उकास्न उपकूलपति बर्खास्तको तयारी भएको छ । डेढ वर्ष अघि उपकुलपति भएर आएका डा. राजकुमार रौनियारले प्रतिष्ठान ध्वस्त बनाउँदै चरम भ्रष्टाचार गरेको पुष्टि भएपछि सरकारले उनलाई बर्खास्त गर्ने तयारी गरेको हो । 

डेढवर्ष यता प्रतिष्ठानले खरिद गरेका उपकरण, औषधी, कर्मचारी नियुक्ति, सरुवा बढुवा, प्रतिष्ठानमा निर्माणाधिन एमसिएच, अंकोलोजी, कार्डियोलोजी भवन निर्माण लगायतमा उपकूलपतिले अन्य पदाधिकारीलाई नै वाइपास गर्दै एकलौटी निर्णय गरेको देखिएपछि सरकारले उनलाई हटाउने तयारी थालेको हो । 

प्रतिष्ठानका सहकूलपति समेत रहेका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आउँदो मंसिर ५ गते प्रतिष्ठानको सिनेट राख्न उपकुलपतिलाई निर्देशन दिएका छन् । उक्त सिनेटले ‘प्रतिष्ठानलाई भ्रष्टाचारको दलदलमा डुवाउने मुख्य नायक उपकुलपति’ रहेको भन्दै बर्खास्त गर्ने तयारी गरेको छानविन समितिका एक सदस्यले बताए । ‘उपकूलपतिले डेढ वर्षमा जेजति निर्णय गरे, त्यसले प्रतिष्ठान अघि बढ्छ भन्ने देखिएको छैन । अब प्रतिष्ठान जोगाउन उहाँको विकल्प सरकारले सोच्ने बेला आएको छ ।’ उनले नाम उल्लेख नगर्ने शर्तमा भने । 

null

 

प्रतिष्ठानको ऐनको ११ घ बमोजिम उपकुलपतिले पदीय दुरुपयोग गरेको अवस्थामा महाभियोग लगाएर बर्खास्त गर्ने ब्यवस्था अनुरुप सिनेट डाकिएको एक सिनेटरले बताए । मंसिर ५ गते बोलाएको सिनेट प्रधानमन्त्री तथा प्रतिष्ठानका कूलपति केपी शर्मा ओलीको विशेष निर्देशनमा हुन लागेको स्रोतको दावि छ । पटक पटक विवादको घेरामा परेका डा. रौनियारलाई पदमुक्त गर्न उनकै पार्टी नेपाली कांग्रेस समेत सहमत भएको उच्च स्रोतको दावि छ । 

ती सदस्यका अनुसार प्रतिष्ठानका उपकूलपतिलाई बारम्बार सच्चिन आग्रह पनि गरिएको थियो । ‘कार्यकारीणी बैठकमै हामीले उहाँलाई सिष्टम र पद्दति बाहिर नजानुस, संस्था नै नरहे हामी केको पदाधिकारी भन्दा समेत उहाँले टेर पुच्छर लगाउनु भएन, भिरबाट लड्न आँटेको गोरुलाई रामराम भन्न सकिन्छ काँधै थाप्न सकिन्न ।’ उनले भने–‘अब उहाँले गरेका गलत निर्णयको फड्के साक्षी बस्न सक्दैनौं ।’ 

पछिल्ला दिनमा उपकुलपतिले प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई ब्यापक सरुवा गरे । रजिष्ट्रार मातहतका कर्मचारीलाई कुनै सरसल्लाह नगरी गलत नियतले सरुवा गरेपछि प्रतिष्ठानका कर्मचारीहरु आतंकीत नै भए । भने, केहि विषयगत विज्ञ कर्मचारीलाई फरक क्षेत्रमा समेत सरुवा गरेपछी उनीहरु सरुवाको विरुद्ध उच्च अदालत समेत गएर अन्तरिम आदेश लिएर आएका छन् । यसरी अन्तरिम आदेश लिएर आउनेहरुमा इन्जिनियर (इलेक्ट्रोनिक्स) पदमा कार्यरत कर्मचारी राहुल मिश्र, कम्प्युटर शाखामा कार्यरत इन्जिनियर राकेश दास तथा लेखा शाखाकी रुपा सिंहाची (अग्रवाल) रहेका छन् । उनीहरुले हिजो उच्च अदालत विराटनगरबाट अन्तरिम आदेश लिएर आएका हुन् । 

गत कार्तिक ९ गते उपकूलपतिले यी तीन जना लगायत दर्जनौं कर्मचारीलाई गलत नियत राखेर विषयगत विज्ञताभन्दा बाहिर सरुवा गरेका थिए । उपकूलपतिले कम्प्युटर शाखामा कार्यरत इन्जिनियर राकेश दासलाई मेडिकल रेकर्ड शाखामा सरुवा गरीदिएका थिए । आर्थिक लेखा शाखाकी रुपा सिंघाची अग्रवाललाई आन्तरिक लेखामा, योजनाका दिनेश दाहाललाई आर्थिक प्रशासनमा, चार्टर एकाउन्टेन्ट जोगमेहर श्रेष्ठलाई इन्टरनर अडिटमा सरुवा गरेका थिए । 

यसैगरी अस्पताल प्रशासनका सागर ताम्राकारलाई खरिद शाखामा, खरिद शाखाका रमेश पण्डितलाई अस्पताल प्रशासनमा सरुवा गरिएको थियो भने, दीपक शाक्यलाई सामान्य प्रशासनबाट स्टोर शाखामा, उमेश कोइरालालाई कर्मचारी प्रशासनबाट सामान्य प्रशासनमा तथा शैक्षिक प्रशासनबाट नारायण चापागाईलाई हटाएर कर्मचारी प्रशासनमा लगिएको थियो । 

त्यसैगरी स्टोर शाखाका विष्णु चापागाईलाई परीक्षा शाखामा पुर्याईएको छ । परीक्षा शाखाका हसिवुल रहमानलाई शैक्षिक शाखामा स्थानान्तरण गरिएको थियो । भने, लेखा शाखाका कर्मचारी कमल रायलाई एकेडेमिक ब्लकमा पठाइएको थियो । तीन जना कर्मचारीले अदालतबाट अन्तरिम आदेश ल्याएपछि अहिले अन्य विषयगत विज्ञ कर्मचारी पनि अदालत जाने तयारीमा रहेको प्रतिष्ठान स्रोतको दावि छ । 

सामान्यतयः प्रतिष्ठानका कर्मचारी सरुवा बढुवा गर्ने कार्य रजिष्ट्रार मातहतमा हुने गरेपछि उपकूलपतिले रजिष्ट्रार तुलबहादुर श्रेष्ठलाई अधिकार विहिन बनाएर एकलौटी रुपमा कर्मचारी सरुवा गरेपछि प्रतिष्ठानका अधिकांश कर्मचारी उपकुलपति विरुद्ध खनिएका छन् । ‘नियम संगत रुपमा गरिएको सरुवामा हाम्रो कुनै आपत्ति थिएन, तर, प्रकृया र विधिविधान विपरित नियोजित रुपमा हाम्रो विज्ञताभन्दा बाहिर गरिएको सरुवा प्रति हाम्रो आपत्ति हो, त्यसका विरुद्ध हामी कोर्ट गएका हौं ।’ उच्च अदालतबाट अन्तरिम आदेश लिएर आएका एक कर्मचारीले भने । 

उपकुलपतिले बदनियत तवरले कर्मचारी सरुवा गरेपछि आक्रोसित भएका स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दैनिक कामकारवाही वाहेक कुनै निर्णय नगर्नु भन्दै उपकुलपतिलाई पत्र समेत काटेका छन् । 

यता उपकूलपति भने स्वास्थ्यमन्त्रीकै विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा छन् । प्रतिष्ठानमा भए गरेका भ्रष्टाचारका लागि स्वास्थ्यमन्त्रीको संयोजकत्वमा छानविन समिति गठन गरेको र उक्त समितिले उनलाई विभिन्न विषयमा स्पष्टिकरण सोधेपछि उनले समितिकै बैधतामा प्रश्न चिन्ह उठाउँदै सर्वोच्च जाने तयारी गरेको स्रोतको दावि छ । समिति र स्वास्थ्यमन्त्रीलाई नै चुनौति दिन उनले आफ्ना वरीपरी आधा दर्जन वकिलहरु साथ लिएर उनीहरुको निर्देशन अनुरुप काम गरिरहेका छन् । डा. रौनियार आइतबारै छानविन समितिका विरुद्ध उजुरी हाल्न राजधानी आइपुगेका छन् । 

प्रतिष्ठानमा मौलाउँदो भ्रष्टाचारको मूल जड नै उपकूलपति भएपछि प्रतिष्ठानमा कूलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नै शक्तिशाली छानविन समिति गठन गरेर अनुसन्धान अगाडी बढाएका थिए । उक्त समितिले प्रतिष्ठानमा भ्रष्टाचार मौलाएको, पदाधिकारीले पदीय दुरुपयोग गर्दै सरकारी सम्पत्तिको चरम दुरुपयोग गरेको र प्रतिष्ठानलाई जोगाउन भ्रष्ट पदाधिकारी हटाउन सुझाब दिएको थियो । खासगरी प्रतिष्ठानले खरिद गर्न लागेको एमआरआई १.५ टेस्ला उपकरण, कार्डियोलोजी, अंकोलोजी भवन निर्माणमा परामर्शदाता छनौट प्रकृयामा भ्रष्टाचार गरेको ठहर गर्दै कारवाही हुनुपर्ने बताएको थियो । 

सोहि प्रतिवेदनलाई आधार बनाएर प्रतिष्ठानका सहकूलपति समेत रहेका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आफ्नै सयोजकत्वमा छानविन समिति गठन गरेका थिए । उक्त समितिले समेत उपकुलपतिले पदीय अधिकार भन्दा बाहिर गएर काम गरेको भन्दै उनलाई बर्खास्त गरिनुपर्ने राय दिएको थियो । भने, उपकूलपतिलाई पदबाट किन नहटाउने ? भन्दै ७२ घण्टे र २४ घण्टे स्पष्टिकरण समेत सोधिसकेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *