किसान खेतमा व्यस्त, तिहारमा व्यापार सुस्त

भरतपुर कात्तिक १८ । यस वर्षको तिहार धान भित्र्याउने चटारोको समयमा परेको छ । मानो खाएर मुरी थन्क्याउन समयको मुखमै तिहार आइसकेको छ । 

‘गएका वर्षहरुको तुलनामा तिहार ढिला सुरू भएका कारणले धानको चटारोमा प¥यो’ भरतपुर–६ गीतानगरका किसान राजबहादुर भुजेलले भने, ‘कार्तिक १५ बाट नै धानको चटारो सुरू भएको हो । किसानलाई चाडभन्दा पनि वर्ष दिनभरी खाने धान प्यारो हुन्छ ।’ उनका अनुसार यस वर्ष किसानलाई तिहारको रौनक त्यति लाग्दैन । 

उनले आफ्नो बारीको धान काटेर त भ्याए । भित्र्याउने बेलामा ठ्याक्कै तिहार पर्छ । ‘तिहारकै एक/दुई दिनअघि धान झार्न र गोदाममा भर्नको लागि मजदुर खोजेका छन् । यस्तो चटारोमा तिहारको रौनक के लाग्नु ? उनको प्रश्न थियो । 

null

गीतानगरकै अर्का किसान कृष्णप्रसाद दाहाल पनि धान भित्र्याउने चटारोका कारण खल्लोमै छन् । तिहार आइसके पनि उनी वर्ष दिनभरि खाने अन्न भित्र्याउन लागिरहेका छन् । ‘धानको चटारोमा आयो रसिलो चाड तिहार, तर के गर्ने ? चाडभन्दा बाँच्ने आधार धान ठूलो हो । खासै रौनक छैन’ उनले भने । 

तिहार आइसके पनि किसानहरु धान भित्र्याउन मस्त छन् । दसैँ सकिएलगत्तै किसानहरु धानको चटारोमा लागेका हुन् । ‘चाडभन्दा वर्षभरि खाने अन्न ठूलो भयो । तिहार पनि मान्छौँ । तर चटारोले किनमेल गर्न भ्याइएको छैन’ उनले भने, ‘पानी आयो भने धान खत्तम पार्छ, त्यसैले तिहारसियार नभनी धान भित्र्याउन लागिएको छ ।’ 

धानको चटारोले होला बजारमा पनि खासै चहलपहल नभएको व्यवसायीहरु बताउँछन् । ‘अब एकदुईमै तिहार आउँछ, तर चहलपहल भएकै छैन’ राम मिष्ठान्न भण्डारका सञ्चालक रामप्रसाद सुवेदीले भने, ‘अघिल्लो वर्षको तुलनामा यस वर्ष व्यापार कम हुने लक्षण देखिएको छ ।’ 

उनका अनुसार तिहारमा धेरै मिठाई खपत हुन्छ, तर धानको चटारोले दिदीबहिनीहरु मिठाइ खरिदको लागि बजार आएकै छैनन् । उनले भने, ‘गत वर्ष तिहार आउन १० दिन बाँकी हुँदा नै मिठाइको अर्डर आउथ्यो, तर अहिलेसम्म १ किलो मिठाईको अर्डर छैन ।’ 

भरतपुर महानगरपालिकामा मात्र पाँच दिनको तिहारमा १५ क्विन्टलभन्दा बढी मिठाइको खपत हुनुपर्ने हो, तर नारायणगढको बजारको चहलपहलले त्यस्तो देखिदैन । व्यवसायी सुवेदीले भने, ‘यस वर्ष एक महिनामा दुईवटा ठूला चाड दसैँ र तिहार परर्यो, अनि अर्को कुरा धान भित्र्याउने चटारोमा तिहार आयो ।’ सुवेदीका अनुसार नारायणगढ बजारमा चहलपहल नै देखिएको छैन । 

किराना व्यवसायी संघका महासचिव रविन्द्रकुमार श्रेष्ठले किसानको व्यस्तताको समयमा चाड परेको हुनाले बजारमा तिहारको रौनक नभएको बताए । एकातिर धान भित्र्याउने चटारो, अर्कोतिर गाउँघरमा पनि भइरहेको बजार बिस्तारका कारणले नारायणगढ बजारमा चहलपहल कम भइरहेको व्यवसायीहरु बताउँछन् । 

यो वर्ष चितवनमा कुल खेतीयोग्य जमिनमध्ये २९ हजार ५०० हेक्टरमा धानखेती गरिएको छ । पूर्वी चितवनमा धान भित्र्याउने काम लगभग सकिएको छ भने भरतपुर महानगरका क्षेत्रहरुमा धानको चटारो चलिरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *