आठ बुँदे सहमतिपछि पीडित परिवारले शव उठाए
मंसिर १४, माडी । माडीमा बुधबार दिउँसो जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका दुई महिलाका परिवारले शव उठाएका छन् । सन्तानलाई शिक्षा र रोजगारीको ग्यारेन्टी भएपछि पीडित परिवारले शव उठाएका हुन् ।
पीडित परिवारले शव उठाएसँगै बिहीबार दिनभर बन्द भएका माडी ठोरी सडक, मध्यवर्ती सामुदायिक वनमा लागेको ताला, बन्द भएका विद्यालय आज शुक्रबारदेखि खुलेका छन् ।
‘आठ बुँदामा सहमति भएपछि पीडित परिवारले शव उठाएका छन्’ प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले भने, ‘मृतक सुशीला भण्डारीका दुई सन्तानलाई निःशुल्क शिक्षा उपलब्ध गराउने र तृष्णाकाली पौडेल जैसीको एक अपाङ्गता भएका छोरालाई रोजगार उपलब्ध गराइने सहमति भएको छ ।’
null
यसैगरी एक महिनाभित्र पीडित परिवारलाई १० लाख र किरिया खर्चको लागि तत्काल २५ हजार उपलब्ध गराउने, मार्ने हात्तीको पहिचान गरी डार्क गर्ने, हात्ती मार्नैपर्ने अवस्था सिर्जना भए मार्नको लागि सिफारिस गर्ने, निकुञ्ज ऐन २०२९ परिमार्जन गर्न सिफारिस गर्ने, वन्यजन्तुलाई बस्तीमा प्रवेश रोक्नको लागि दिर्घकालीन उपायको खोजी गर्नेलगायतका सहमती भएको प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए ।
एउटा परिवारको लागि नभई सम्पूर्ण माडीवासीको मागको विषयमा सहमति भएको माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले जानकारी दिए । उनले भने, ‘माडीवासी कुनै बन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा तत्काल २५ हजार उपलब्ध गराउने माडी नगरपालिकाले निर्णय गरेको छ ।’
त्यस्तै माडी नगरपालिकाले बन्यजन्तुको आक्रमणबाट मृत्यु भएका पीडित परिवारका छोराछोरीको शिक्षादिक्षाको लागि ५ लाखको कोष खडा गर्ने निर्णय समेत गरेको छ ।
माडी नगरपालिकाका प्रमुख ढकालले यसअघि मान्छे मारेको र अहिले मान्छे मार्ने हात्ती एउटै भएको अनुमान गरेका छन् । उनले भने, ‘हात्तीको पहिचान गरेर मार्नैपर्ने अवस्था सिर्जना भएमा मार्नको लागि सिफारिस गर्न भनिएको छ ।’
उनले माडीको पाण्डवनगरदेखि बगइसम्म अग्लो कंक्रिट वालसमेतको ड्याम खडा गर्न सके माडी वन्यजन्तुबाट सुरक्षित रहने बताए । उनले भने, ‘यो निर्माणको लागि स्थानीय बजेटले पुग्दैन, केन्द्रबाट ठूलो बजेट पर्नुपर्छ । त्यसको माग गरिनेछ ।’
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपालबहादुर घिमिरेले यसअघि पनि पटकपटक हात्तीको आक्रमणबाट मान्छेको मृत्यु भएको छ, एउटै हात्तीले हो या फरकफरक हात्तीले हो, यसको पहिचान गरिने बताए । सूचना अधिकारी घिमिरेले भने, ‘एउटै हात्तीले मान्छे मारेको पुष्टि भए र मार्नैपर्ने अवस्था सिर्जना भए राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण बिभागमा मार्नका लागि सिफारिस गर्नेछौँ ।’
माडी नगरपालिका–९ स्थित रिउखोला किनारमा घाँस काट्न गएका स्थानीय ३५ वर्षीया सुशीला भण्डारी र ६० वर्षीया तृष्णाकाली पौडेल जैसीको हात्तीको आक्रमणबाट मृत्यु भएपछि पीडित परिवार र स्थानियले बिहीबार माडी ठोरी सडक अवरूद्ध पारेका थिए ।
यही वर्षमात्रै साढे चार महिनामा चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुको आक्रमणबाट ८ जनाको ज्यान गइसकेको छ । यसअघि विसं २०७० मा माडीमै ध्रुवे हात्तीले छ जनाको ज्यान लिएको थियो ।