चितवनमा दसैँतिहारका अवधिमा २९ दुर्घटना, १५ जनाको मृत्यु

कात्तिक २६, भरतपुर । चितवन जिल्लामा दसैँको घटस्थापनादेखि तिहारसम्मको अवधिमा २९ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । दुर्घटना बढी हुनेमा दुईपाङ्ग्रे साधन मोटरसाइकल रहेको छ । 

जिल्ला ट्राफिक कार्यालय चितवनका अनुसार दसैँतिहारको अवधिमा मात्रै २९ वटा सवारीसाधन दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने ७९ जना घाइते भएका छन् । 

‘दसैँदेखि तिहारसम्मको एक महिनाको अवधिमा भएका यी दुर्घटनाहरु धेरै नै हुन्’, जिल्ला ट्राफिक कार्यालयका प्रमुख वेदप्रसाद गौतमले भने, ‘अन्य सवारीसाधनको तुलनामा अझ धेरै त मोटरसाइकल दुर्घटना छन् ।’ 

null

दसैँतिहारको अवधिमा चितवनमा मोटरसाइकल दुर्घटनाबाट मात्र ६ जनाको मृत्यु भएको छ भने बाँकी ९ जनाको अन्य गाडी दुर्घटनाबाट ज्यान गएको हो । 

गौतमका अनुसार सबैभन्दा धेरै दुर्घटना नारायणगढ–मुग्लिन सडकमा भएका छन् । ‘नारायणगढ–मुग्लिन सडक राम्रो बनेको छ, सवारी साधनहरु तीव्र गतिमा हुइँकिँदा बढी दुर्घटना भएको पाइन्छ’, प्रमुख गौतमले भने । 

जिल्ला ट्राफिक कार्यालय भरतपुरले ट्राफिक नियमको पालना नगरी लापरबाही तरिकाले सवारीसाधन चलाउँदा दुर्घटना भएको जनाएको छ । 

दसैँतिहारको अवधिमा भएका तीन ठूला दुर्घटना नारायणगढ–मुग्लिन सडक र चितवनमा पर्ने पृथ्वीराजमार्गमा भएका छन् । 

असोज २९ गते फिस्लिङमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको थियो । दसैँको मुखमै भएको यस दुर्घटनामा १५ जनाभन्दा बढी यात्रु घाइते भएका थिए । 

यस्तै, असोज ३१ गते दूध बोकेको ट्याङ्कर र मारूती भ्यान एकापसमा ठक्कर खाँदा ३ जनाको मृत्यु भएको थियो । यसैगरी, दसैँको टीकाको दिन असोज २ गते जलविरेमा एक यात्रुबस त्रिशूली नदीमा खस्दा ३ जनाको ज्यान गएको ट्राफिक कार्यालय भरतपुरले जनाएको छ । 

‘यी दसैँतिहारको अवधिमा भएका ठूला सवारीसाधन दुर्घटना हुन्, यस अवधिमा थुप्रै सवारी दुर्घटना भएका छन्’, ट्राफिक कार्यालयका प्रमुख गौतमले भने । उनका अनुसार दुर्घटनाका प्रमुख कारणहरुमा तीव्र गति र हेलचेक्र्याइँ देखिएको छ । 

‘दसैँतिहारको समयमा पर्याप्त यात्रुहरुभेटिन्छन्, सिटभन्दा बढी यात्रु हालेर पनि सवारीसाधन चलाएको भेटियो, ओभरलोड भएर पनि गाडीहरु दुर्घटना भएका छन्’, ट्राफिक कार्यालयका प्रमुख गौतमले भने । 

मादक पदार्थ सेवनका कारणले पनि दसैँतिहारको अवधिमा दुर्घटनाहरु भएको उनको भनाइ छ । 

जिल्ला ट्राफिक कार्यालय भरतपुरले दसैँतिहारको अवधिमा सिट क्षमताभन्दा बढी यात्रु बोक्ने ५७ सवारीसाधनलाई कारबाही गरेको थियो । प्रमुख गौतमले सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनको कारबाहीबाट ५७ हजार राजस्व संकलन भएको जानकारी दिए । 

दसैँतिहारको मौकामा चौका हान्दै यात्रुबाट बढी भाडा असुल्ने ९३ वटा सवारीसाधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय भरतपुरले जनाएको छ । ९३ सवारीसाधनबाट १ लाख ३६ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको थियो । 

यसैगरी, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ४५ जनालाई ट्राफिक कार्यालयले कारबाहीसहित जरिवाना गरेको छ, जसबाट ४५ हजार राजस्व संकलन भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *