नेपाल-कतार व्यवसायिक भेटवार्तालाई अध्यक्ष राणाद्वारा संवोधन:संयुक्त लगानी गरी लाभ उठाउन सकिने स्पष्ट

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कतारको दोहामा आयोजित उच्चस्तरीय व्यवसायिक भेटवार्तालाई संवोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कतारी लगानीकर्ताहरूलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गरेकी छन् । 

दुवै देशका उद्यमी व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको नेपाल-कतार व्यवसायिक भेटवार्ता (Nepal-Qatar Business Meet) मा अध्यक्ष राणाले बदलिँदो प्रतिस्पर्धी विश्व व्यापारको वातावरणमा नेपालमा आफ्नो व्यापार लगानी विस्तार गर्न आग्रह गरिन् । राष्ट्रपति विद्यादेवी भण्डारीको कतारको ४ दिने औपचारिक भ्रमणका साथ महासंघका अध्यक्ष राणाको नेतृत्वमा उपाध्यक्ष चन्द्र प्रसाद ढकाल सहितको महासंघको प्रतिनिधिमण्डल अहिले कतारको दोहामा रहेको छ ।निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था महासंघले मुलुकको आर्थिक समृद्धि तथा आत्मनिर्भर अर्थ व्यवस्थालाई सदैव विकेन्द्रीत अवधारणा अनुसार अघि सारेर कार्य गरिरहेको राणाले बतार्इन् । लामो राजनीतिक अस्थिरता पश्चात नेपालमा पूर्णरूपमा राजनीतिक स्थिरता कायम भई लगानीको वातावरण बनेको समेत अध्यक्ष राणाले प्रष्ट पारिन् । साथै उनले महासंघले पी-टु-पी अवधारणा (P2P Approach) मार्फत आर्थिक विकास र आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिँदै आएको पनि जिकिर गरिन् ।चार लाख भन्दा बढी नेपालीहरूले कतारमा काम गरेर ठूलो मात्रामा रेमिट्यान्स पठाई नेपाली अर्थतन्त्रमा सहयोग पुर्‍याईरहेको उल्लेख गर्दै अध्यक्ष राणाले तुलनात्मक रूपमा सस्तो श्रम शक्तिमा अन्य थुप्रै क्षेत्रहरूमा नेपालमा संयुक्त लगानी गरी लाभ उठाउन सकिने दावि गरिन् । 

द्विपक्षीय व्यापार अत्यन्त न्यून रहेको प्रसंग उठाउँदै अध्यक्ष राणाले व्यापार अभिवृद्धिका लागि दुवै देशबाट महत्वपूर्ण पहल हुनुपर्नेमा समेत जोड दिइन् । कार्यक्रममा कतारी उद्योगी व्यवसायीहरूले नेपालको कृषि, वित्तिय, उर्जा, पूर्वाधार, पर्यटन एवं नेपालमा वैदेशिक लगानी आकर्षणका लागि आवश्यक सहजीकरणमा महासंघको प्रतिवद्धता लगायतका अन्य थुप्रै क्षेत्रमा चासो देखाएका थिए । नेपाल तथा कतार बीच सन् १९७७ जनवरी २१ बाट दौत्य सम्बन्ध स्थापना भएको र सन् २००५ मा महासंघ र कतार उद्योग वाणिज्य संघ बीच आपसी सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको स्मरण गराउँदै अध्यक्ष राणाले आपसी सहमती अनुसार दुवै संस्था बीच व्यवसायिक भेटवार्ता, व्यापार मेलाहरू, व्यावसायिक प्रतिनिधिमण्डलको आदान प्रदान, संयुक्त लगानी प्रवर्धन, लगानीका सम्भाव्य क्षेत्रहरूको पहिचान, पर्यटन, कृषि तथा सेवा क्षेत्रमा सहकार्यका लागि पहल हुनुपर्नेमा जोड दिर्इन् । अध्यक्ष राणाले सन् २०२० को पर्यटन वर्षसँगै नेपालमा अन्तराष्ट्रिय तथा क्षेत्रीय विमानस्थल, द्रुतमार्ग, रेलवे, केवलकार र स्मार्ट सिटिज जस्ता पूर्वाधार निर्माणमा ठूलो लगानीको अवसर रहेको जानकारी गराउँदै विशेष गरी उर्जा, पर्यटन, कृषि तथा वनजन्य, सूचनाप्रविधि तथा खानीजन्य, उत्पादनमुलक र पूर्वाधार निर्माण लगायतका क्षेत्रमा नेपालले ठूलो लगानी खोजीरहेको बतार्इन् । नेपाली कृषि उपजलाई कतारले सहज र सिधा पहुँच दिनपनि अध्यक्ष राणाले आग्रह गरिन् ।महासंघमा रहेको तथ्यांक अनुसार आर्थिक वर्ष सन् २०१६/१७ मा नेपालले कतारबाट रू. ४४ करोड ५३ लाखको वस्तु तथा सामान आयात गरेको र नेपालबाट रू. ९३ लाख ८७ हजार मुल्य बरावरको वस्तु तथा सामान निर्यात भएको पाइन्छ । यो व्यापार घाटालाई कम गरी व्यापार विस्तार हुनुपर्नेमा सो अवसरमा दुवै पक्षबाट जोड दिइयो । नेपालबाट पास्ता, कार्पेट, हस्तकलाका सामग्री र चियाकफी निर्यात भएको पाइन्छ भने नेपालले प्लाष्टीक्सजन्य सामान, विद्युतीय सामग्री, मेशीनरी सामान आदि आयात गरेको देखिन्छ । नेपालमा पर्यटन र सेवा क्षेत्रमा गरी करिव १.४८ मिलियन अमेरिकी डलर वरावरको कतारी लगानी रहेको तथ्यांक छ । कतारमा रहँदा महासंघको प्रतिनिधिमण्डलले राष्ट्रपतिको औपचारिक कार्यक्रमहरूमा सहभागी हुनुका साथै कतारका उद्योगी व्यवसायी र त्यहाँको गैह्र आवासीय नेपाली प्रतिनिधिहरूसँग समेत औपचारिक भेटवार्ता गरेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *