अब विराटनगरबाटै माउन्टेन फ्लाईट, प्रतियात्रु भाडादर कति ?

मंसिर ४, विराटनगर । आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गर्दै विराटनगरबाट व्यावसायिक रुपमा माउन्टेन फ्लाईट सुरु हुने भएको छ । 

विराटनगरका पर्यटन व्यवसायीहरुको पहलमा विराटनगर विमानस्थलबाट चार्टर विमानमार्फत् हप्ताको एक दिन शनिबार माउन्टेन फ्लाईट गराईने भएको हो । जसका लागि भारत र बंगलादेशसहित आन्तरिक पर्यटकलाई काठमाडौँ भन्दा सस्तोमा विराटनगरबाट माउन्टेन फ्लाईटको साप्ताहिक उडान गर्न लागिएको हो । 

‘विराट होलिडेज’ नामक संस्थाले निजी हवाई कम्पनि यति एयरलाइन्ससँगको साझेदारीमा आगामी शनिबार (मंसिर ७ गते) पहिलो माउन्टेन फ्लाईट विराटनगरबाट गराउने विराट होलिडेजका अध्यक्ष भविषकुमार श्रेष्ठले जानकारी दिए । 

null

संस्थाले पत्रकार सम्मेलन गरी उडानलाई पहिलो चरणमा पर्यटन व्यवसायीहरुको पहलमा माउन्टेन फ्लाईटको उडानको तयारीको बारेमा जानकारी दिएको हो । अध्यक्ष श्रेष्ठले यात्रु पाएको अवस्थामा एयरलाइन्सले आफ्नै कार्यसूचीमा उडान गराउने समझदारी गरिएको बताए । त्यसका लागि पर्यटन व्यवसायीहरुले कम्पतिमा १५ उडान सफल बनाउनु पर्ने जिम्मेवारीसहित चुनौती लिएको बताइएको छ । 

माउण्टेन फ्लाइटका लागि यति एयरलाइन्सले हप्तामा एउटा उडान विराटनगर विमानस्थलबाट भर्नेछ । त्यसका लागि यात्रुको जिम्मेवारी पर्यटन व्यवसायीले लिने भएका हुन् । भारतको सिक्किम, बंगाल र विहार तथा बंगलादेशका पर्यटकलाई सम्पर्कमा ल्याउन त्यहिँको ट्राभल्स एशोसिएशनसँग कुराकानी गरिएको छ । 

यसअघि २०७३ सालमा एउटा माउण्टेन फ्लाईट विराटनगरबाट गराइएको थियो । उद्योग संगठन मोरङले त्यसबेला आयोजना गरेको विराट एक्स्पोको समयमा पर्यटन व्यवसायीले माउन्टेन फ्लाईट गराएका थिए । 

तर, त्यसपछि निरन्तर हुनसक्ने आशा राखिएको माउन्टेन फ्लाईट भने भएको थिएन । विराटनगरबाट सुरु हुने माउन्टेन फ्लाईटमा पर्यटकले प्रदेश १ भित्र पर्ने आठ हजार मिटरमाथिका हिमश्रृंखलाको अवलोकन गर्न पाउनेछन् । प्रदेश १ मारहेका सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मकालु आदि हिमशिखरहरु सहजै अवलोकन गर्न सकिने छ । 

प्रदेश १ मा मात्रै अहिले १४ वटा विमानस्थल रहेका छन् । जसमध्ये लुक्काका लागि मात्रै सरकारले उडान अनुमति दिएमा विराटनगरदेखि दैनिक पाँचवटा फ्लाईट हुनसक्ने व्यवसायीहरुको अनुमान छ । काठमाडौं–लुक्काका लागि अहिले दैनिक ५० उडान हुने गरेपनि अझै अभाव देखिदैँ आएको व्यवसायीहरु बताउँछन् । 

विराटनगरबाट एयर चार्टरमा सुरु गरिने माउण्टेन फ्लाईटमा प्रतियात्रु ९ हजार ९ सय रुपैयाँ भाडादर कायम गरिएको छ । प्रदेश सरकार गठन भए पश्चात् प्रदेश १ सरकारले समेत विराटनगरबाट माउन्टेन फ्लाईटको सम्भावना रहेको बताउँदै पहल गरेको थियो । तर, लामो समय हुँदासम्म केहि नभएपछि व्यवसायीहरुले चार्टरमा माउन्टेन फ्लाईटको सुरुवातसँगै चुनौति लिएकोे विराट होलिडेजका अध्यक्ष श्रेष्ठले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *