मेरो देश मेरो नेपालः हिमालपारीको जिल्ला जाँदा-१
प्राकृतिक सुन्दरताले भरिपूर्ण हिमाल पारीको जिल्ला मुस्ताङ भ्रमणको साइत जुर्यो यसपटक । पाँच वर्षदेखि मुस्ताङ घुम्ने चाहना थियो । दशैं अघि नै मामाले फोन गरेर ‘भाञ्जा यस पटकको छुट्टीमा घुम्ने प्लान बनाउ है’ भन्दा मनमा उत्साह र उमंग छल्कियो ।
कहिले जाने, कसरी जाने ? केहि थाहा पत्तो छैन तर, सामाजिक संञ्जालमा मुस्ताङ गएकाहरुले हालेका फोटाहरु सम्झँदै मन उद्देलित भयो । हिमालपारीको जिल्ला मात्र नभएर धार्मिक प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्न र पितृ मुक्तिका लागि कागवेनीमा श्राद्ध गरी मुक्तिनाथ दर्शन गर्न मुस्ताङ जानेहरुको संख्या दिन प्रतिदिन बढिरहेको अवस्थामा मलाई पनि एक पटक मुक्तिनाथ दर्शन गर्ने र त्यहाँको प्राकृतिक सुन्दरतामा हराउने हुटहुटी चल्यो ।
null
दशैं आउन १५ दिन अगाडी नै मामाले फोनमा ‘मलाई केहि थाहा छैन, कसरी जाने, कहाँबाट जाने सबै ब्यवस्था गर्नु’ भनेर आदेशात्मक निर्देशन दिनु भएकोले दशैं लगत्तै मुस्ताङ भ्रमणको कार्यतालिका बनाउने विचार गरें । तर, कामको चाप र राजधानीको दौडधुपले कहाँ योजना बनाउन सकियो र ! दशैंको अस्टमीको दिन सबैका घरमा पुजा आजा चलिरहँदा आफुभने कार्यालयमा कम्प्युटर खोलेर बसिरहेको थिँए ।
मामाले फोन गर्नु भो ‘हेल्लो भान्जा के छ तयारी ? म ढुक्क छु है, ९ गते हिँड्नुपर्छ काठमाडौंबाट म ८ गते आइपुग्छु ।’ परेन वित्यास !
हतार हतार गुगलमा गएर मुस्ताङ रुटको बारेमा केहि जानकारी लिएँ । काठमाडौंबाट पोखरा हुँदै जानुपर्ने रहेछ । काठमाडौंबाट प्लेनमा सिधै मुस्ताङ जोमसोम पनि गएर जान सकिने रहेछ । जोमसोमको हवाई टिकट पाउन दुई महिना देखि पालो कुर्नुपर्ने रहेछ । दिनको दुई ओटा मात्र फ्लाइट जोमसोमका लागि रहेछ ।
त्यसपछि, टुरिष्ट बसमा पोखरासम्म जाने त्यहाँबाट मुस्ताङ जाने योजना बनाएँ र, मामालाई त्यहि अनुसारको योजना सुनाएँ । उहाँले ५ दिनको टुर बनाउन भन्नु भयो ।
त्यसपछि काठमाडौंबाट मुस्ताङ गएका साथीहरुसँग सम्पर्क गरें । उनीहरुले पोखराबाट सार्वजनिक डिलक्स बस, ल्याण्डलोभर तथा स्करपीयोबाट मुस्ताङ जान सकिने तथा मोटरसाइकलबाट समेत यात्रा गर्न सकिने बताए । उनीहरुबाट यातायातको ब्यवस्था, विचबाटोमा पर्ने रुटहरुको जानकारी र बस्नका लागि आवश्यक होटलहरुको सम्पर्क नम्बर लिएँ ।
टाढाको वेग, कहिल्लै नगएको ठाउँ, त्यसमाथी मामासँगै माइजु पनि जानुहुने भएकोले उहाँहरुलाई सहज र सुरक्षित रुपमा लैजानु मेरो दायित्व थियो । माइजु ठूलो ज्यानको मान्छे भिरपाखा नहिँडेको मलाई चिन्ता लाग्यो । कसरी पुर्याउने !
पोखराका सहकर्मी नरहरी पौडेल जीलाई सम्पर्क गर्दै ‘मुस्ताङ जान आउन लागेको यातायातको सुविधा मिलाउनु पर्यो’ भने, नरहरी जीले हार्दिकताका साथ कुनै चिन्ता नलिइकन आउन र आफन्तको स्करपीयो रिर्जभ लिएर जान सुझाब दिँदै स्करपीयो सञ्चालकको फोन नम्बर दिए । साथमा पोखरा आएर बस्नका लागि आवश्यक होटलको बन्दोवस्त गर्ने बताए । स्करपीयो सञ्चालकलाई फोन गरें, उहाँले आफु रारा ताल गएको र ९ गते बेलुकी पोखरा आउने भन्दै निश्चिन्त रहन भने । यति भएपछि मामालाई फोन गर्दै सबै सेटल भइसक्यो भनें । अनी मात्र दशैं मनाउन सुरसार गरें ।
मलाई कतै जानु पर्ने छ भने, योजना बनेदेखि नै त्यसको बारेमा सोचिरहने नराम्रो बानी छ । एक सातापछि भ्रमणमा जानु छ, आजैबाट निद्रा पर्न थालेन । कौतुहलता, जिज्ञासासँगै डरपनि थियो । त्यसमाथी मुस्ताङको मौसम कस्तो होला ? कसरी हिँड्ने चिन्ता लाग्न थाल्यो । एक मनले ‘आ जे पर्ला पर्ला भन्थ्यो, अर्को मनले स्वास्थ्यले साथ देला नदेला !’ भन्ने चिन्ता । तैपनि नयाँ ठाउँ, संसारले घुम्न चाहने ठाउँ भएकोले उत्साहले मेरो मनको डरलाई थिचिदियो ।
दशैंमा मामाघर टीका लगाउन जाँदा पनि मामाले यात्राकै कुरा गर्नुभो । मैले पनि सबै ब्यवस्था मिलाईसकेको बताएँ ।
कोजाग्रत पुर्णिमाको पर्सीपल्ट काठमाडौंबाट पोेखरा जानका लागि लाइनअप ट्राभल्समा मामा माइजु र मेरो लागी बसको ३ ओटा सिट बुक गरें ।
मुस्ताङ जाने अघिल्लो दिन निन्द्रा कम बैचैनी बढि भो । उत्साह, उमंग अनी डर एकैपटक भो । फेरी तीन चार वर्ष यता बसमा लामो यात्रा गरेको थिइन । राजधानी बाहिर कार्यालयको कामले जाँदा हवाईयात्रा की मोटरसाइकल यात्रा त कहिले चारपाङ्ग्रे सवारी चढिन्थ्यो । यसपटक बसको यात्रा गर्दा आउने स्वास्थ्य समस्या प्रति सजग भएर आवश्यक औषधी समेत बोके ।
अहिले धेरै नेपालीहरुमा वर्षको एक पल्ट घुम्नुपर्छ भन्ने भावना बढ्दै गएको त छ, तर उनीहरुमा नेपाल भन्दा विदेश भ्रमणको मोह बढेको छ ।
९ गते विहान ४ बजे नै उठेर नुहाईधुवाई गरें । काठमाडौंमा चिसो पसिसकेको छ । विहानै चिसो पानीले नुहाउँदा सामान्य टाउको दुख्यो ।
ट्राभल्सले विहान ७ बजेभित्र नयाँ बजार आइपुग्नु भनेकोले घरैबाट ट्याक्सी लिए । मामा माइजुलाई चावहिलमा रिसिभ गरेर नयाँ बजार लागें । मामा माइजु ट्रेकिङ्ग ब्याग सहित, आवश्यक जाडोका कपडा, लेक लाग्दा खाने सामान्य घरेलु वस्तुहरु सहित पुरै बन्दोबस्तीपूर्वक आउनु भएको रहेछ । दुवैको मुहारमा रोमाञ्चकता, कौतुहलता अनी डर देखें । ‘मामा सबै म्यानेज भएको छ चिन्ता लिनु पर्दैन’ भन्दै आश्वासन दिए ।
टुरिष्ट बसमा अधिकांश विदेशी पर्यटक थिए । नेपाली भनेका दुई जोडी नवविवाहित र दुई चार जना ट्रेकिङ्ग गाइड मात्र थिए । विदेशीका लागि नेपाल रिसर्च सेन्टर नै हो । प्राकृतिक, सांस्कृतिक, सामाजिक, धार्मिक हिसाबले । त्यसैले हरेक वर्ष लाखौं विदेशी विदाको सदुपयोग गर्न नेपाल आउँछन् ।
आहा ! नेपाल र नेपालीभूमी प्रति विदेशीको कस्तो मोह ! सात समुन्द्रपार गरेर आएका विदेशी देखेर मनमा उत्साह फैलियो साथमा स्वर्ग जस्तो आफ्नो देशको भ्रमण गर्न नसकेकोमा खिन्नता पनि भो । अहिले धेरै नेपालीहरुमा वर्षको एक पल्ट घुम्नुपर्छ भन्ने भावना बढ्दै गएको त छ, तर उनीहरुमा नेपाल भन्दा विदेश भ्रमणको मोह बढेको छ ।
आफ्नै देशको प्राकृतिक, सास्कृतिक, सामाजिक धरातल नबुझि विदेशको मोह ठिक हैन । लाखौं विदेशीहरु प्रत्येक वर्ष विदाको सदुपयोग गर्न नेपाल आउँछन्, हामी आफ्नै घर भित्र हराउँछौं ।
विहानको समय भएकोले कलंकी थानकोटको जाम कम थियो । त्यसमा भर्खरै कलंकीमा बनेको अण्डरपास रोडले जाम छिचोल्न सहज बनाइदियो । तर, नागढुङ्गा निस्कन केहि समय लाग्यो । यहाँ सडक निर्माणको काम अवरुद्ध भएको छ । साँघुरो सडक, त्यसमाथी खाल्डाखुल्डी बल्लबल्ल एक घण्टामा बस थानकोट कट्यो । राजधानी छिर्ने मुख्य नाकाको वेहालत देखेर राज्य ब्यवस्था सञ्चालकसँग रिस उठ्यो ।
देशमा कानुनी राज्य नहुँदा ठेकेदारको मनपरी छ । थानकोट कलंकी सडक त्यसको ज्वलन्त उदाहरण हो ।
करिब ९ बजे हामीले थानकोट छोड्यौं । नौविसेमा खाजा खान गाडी रोकियो । त्रिसुलीको तिरैतिर हुँदै करिब १ बजेतिर नौविसेमा खाना खाइयो । अनी, हरियाली डाँडा काँडा, नागवेली सडक हेर्दै करिब २ बजेतर कास्की पुगियो । पोखरा प्रवेश गर्नु अगाडीबाटै पोखराको सुन्दरता आँखामा झल्झल्ती आउँछ । मनमोहक माछापुच्छ«े हिम सृंखला, चिल्ला सडक अगाडी पोखरेली ढुङ्गा जडित आधुनिक घरहरुले मलाई रोमान्चक बनायो ।
काठमाडौंमा दिनहुँ धुलो धुँवा र फोहरमा हिँडिरहँदा थकित शरीर स्वच्छ र हराभरा पोखरा देखेर उत्साहित बन्यो । बसपार्कमा मित्र नरहरी जी लिन आउनु भो । खुसी लाग्यो, उहाँले नै लेकसाइट होटलसम्म लानुभो, सामान्य भलाकुसारी हुँदै यात्राका बारेमा जानकारी लिनेदिने काम भयो । होटलमा लगेज राखेर साँझ ६ बजे पोखराको लेक साइटमा स्वच्छ हावामा लामो स्वास छोडें । फेवातालको पानीमा माछापुच्छ्रे धुमिल हुँदै गएको रहेछ । गएको वर्ष भन्दा यसवर्ष फेवाताल फोहर भएछ ।
काठमाडौं देशको राजधानी हैन, फोहर, धुलो धुवाँ र भिडभाडको राजधानी हो । राजधानी हुनका लागि सामान्य सुविधा समेत नभएको काठमाडौंलाई राजधानी भनेर गौरब गर्न कहिले सकिएला ? पोखराको सुन्दरता र स्वच्छता हेरेर मनमा कुरा खेल्यो । पुरै दुई घण्टा फेवातालको डील र मत्स्य केन्द्र हिँडियो । लेक साइटमा नेपाली भन्दा विदेशी बढि । दिनभरको गाडीको यात्राले भारी भएको शरीर हल्का भो । क्रमसः