चितवनका मौरी किसान समस्यामा


मंसिर ११, भरतपुर । चितवनका मौरीपालक किसान समस्यामा परेका छन् । चितवनका मौरीपालक किसानलाई बाहिरी जिल्लामा मौरीका घार लैजान समस्या भएको छ ।
विभिन्न जिल्लाका स्थानीय तहले पत्र नै काटेर चितवनका मौरीपालक किसानलाई घार नल्याउन चेतावनी नै दिएका छन् । ‘मौरीलाई चराउन बिभिन्न जिल्लामा लैजानुपर्छ, तर ति जिल्लामा लैजाँदा त्यहाँका स्थानिय सरकारले पत्र काटेर नल्याउन भनेका छन्’, नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले भने ।
null
उनका अनुसार अहिले चितवनका ८० प्रतिशत मौरीका घार बाहिरी जिल्लामा छन् । अध्यक्ष पौडेलले भने, ‘दाङ र अर्घखाँचीका स्थानिय सरकारले मौरीका घार नल्याउन पत्र काटेका छन् ।’
चितवनका मौरीपालक किसानले मौरीको चरन क्षेत्र खोज्दै दाङ, अर्घाखाँची, प्युठान, रोल्पालगायतका जिल्लामा मौरीका घार लान्छन् । यतिबेला चितवन जिल्लाका ७० प्रतिशत मौरीका घार दाङ जिल्लामा रहेको अध्यक्ष पौडेलले जानकारी दिए ।
उनले भने, ‘चितवनमा मात्र मौरीको घार राखेर हुँदैन, बाहिरी जिल्लामा लैजाँदा नल्याउन पत्र काटेपछि मौरीपालक किसान समस्यामा छन्, हामीले यो समस्या प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई जानकारी गराएका छौँ, तर सुनुवाइ हुन सकेको छैन ।’
यतिबेला चिउरी फुल्ने समय हो । दाङमा लटरम्म चिउरी फुलेका छन् । चितवनका मौरीपालक किसानहरु मौरीका घार बोकेर दाङ जिल्ला लागेका छन् । तर, घार फिर्ता गराउने हुन् कि भन्ने डर किसानलाई छ । चिउरीको मह औषधिका रुपमा समेत प्रयोग हुने मौरीपालक किसान बताउँछन् ।
राम्रो मह हुँदाहुँदै पनि यहाँको महले बजार पाउन नसकेको मौरीपालक किसानले अर्को गुनासो गरेका छन् । मौरीपालक किसान राजेन्द्र गौतमले अहिले पनि किसान मह घरमा थुपारेर बस्नु परेको बताए । उनले भने, ‘५० प्रतिशत मह बाहिरबाट आइरहेको छ, सस्तोमा बाहिरबाट कम गुणस्तरका मह आउँदा यहाँको गुणस्तरीय महले बजार पाउन सकेको छैन ।’
नेपाल मौरीपालक महासंघका अनुसार नेपालमा ३३ जिल्लामा मौरीपालक किसानको सञ्जाल छ । चितवनमा २१ लाख मौरीको गोला र २१ हजार मौरीका घार छन् । ५ सयको हाराहारीमा मौरीपालक किसानहरु छन् । मौरीपालक महासंघले जंगल फँडानी, तोरीहरुमा विषादी, चरन प्रदेशमा रोकलगायतका मौरीपालक किसानका समस्याहरु रहेको जनाएको छ ।
चितवनलाई मौरीपालन क्षेत्रको राजधानी पनि मानिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चितवनका केही वडालाई मौरीको जोन घोषणा गरेको छ ।
चितवनको मौरी जोनमा कालिका नगरपालिकाको ९, १०, ११, राप्ती नगरपालिकाको १ देखि ६ वडासम्म, खैरहनी नगरपालिकाको ४, १० र ११ वडा परेका छन् । मौरी जोनमा मकवानपुर जिल्लाको राक्सीराङ गाउँपालिकाको ६ नं वडासमेत परेको परियोजना कार्यान्वयन इकाइ मौरी जोनका बरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सिनाले जानकारी दिए ।
