आखैं अगाडीको माछापुच्छ्रे त हराएछ !

९ गते विहान ५ बज्नु अगावै निन्द्रादेवीले छोडिन । नुहाइधुवाई गरेर ताजा भएसँगै स्करपीयो चलाउने हाम्रा पथप्रर्दशक (गाइड) लाई फोन गरें । उहाँ लामो यात्रामा निस्कँदा सवारीका लागि चाहिने आवश्यक तयारी गर्दै हुनुहुँदो रहेछ । ‘एक छिन वेट गर्नुस म टायरहरु हाल्दैछु, तपाईहरु रेडि भएर बस्नुस म आउँछु ।’ केहि समयमै सवारी आइपुग्यो । ड्राइभर सहित ४ जना खाली जस्तै भएर लागियोे उत्तर अर्थात, मुस्ताङ, मुक्तिनाथ । 

गाडीले पोखराबाट उत्तर हान्दै जाँदा माछापुच्छ्रे आँखा अगाडी नाच्दै जाँदो रहेछ । 

माछापुच्छ्रेको चुचुरोमा हिउँ कम पहाड ज्यादा देखियो । सायद ग्लोवल वार्मिङले होला । हाम्रा हिमालहरु पग्लँदै गएका छन् दिनदिनै । पर्यावरणमा आएको यो परिवर्तनले अाउँदा दिनमा हाम्रा हिमालहरुमा हिँउ देखिन छाड्नेछन् । 

null

 

जसोजसो पोखरालाई पछाडी पारिँदै गयो त्यसै मन रोमाञ्चक हुँदै गयो । पीच कम खाल्डाखुल्डी ज्यादा भएको सडकमा गाडी कुदाउन कहाँ सजिलो छ ! हामी बल्ल तल्ल प्रति घण्टा ४० को स्पीडमा जानुको विकल्प छैन । त्यसमा ठाडो उकालो अझ एक लेनको । झनै गाह्रो । कतैकतै ठूला सवारी आएको ठाउँमा ब्याक गरेर भएपनि साइट दिनुपर्ने । 

१० बजे लुम्लेमा सामान्य चिया नास्ता गरियो । त्यसपछि मनभरी मुस्ताङको रसिलो स्याउ, सेता हिमाल अनि पवित्र मुक्तिनाथलाई सम्झँदै लागियो । 

मुस्ताङ धार्मिक पर्यटकीय क्षेत्र मात्र नभएर पर्यटकीय क्षेत्रले संसारकै अनुपम स्थल हो । विश्वका धेरै देशले विकासको मूल आधार पर्यटनलाई बनाएका छन्, हामीलाई प्रकृतिले नै यतिधेरै सम्पत्ति दिएको छ जसलाई विश्व बजारमा चिनाउन सके हाम्रो संबृद्धिको आधार तय हुन्थ्यो । 

 

चारैतिर हरियाली, माछापुच्छ्रेसँगै लहरै हासिँरहेका हिमाल हेर्दै १२ बजे हामी पर्वत पुग्यौं । अघिसम्म हाम्रा अघिल्तिर हामीलाई नै हेरेर हाँसिरहेका हिमाल त छैनन् ! आखैं अगाडीको माछापुच्छ्रे त हराएछ ! चारैतिर आँखा डुलाएर हेर्दा त माछापुच्छ्रे हाम्रो पछाडी लुक्न आँटेको रहेछ । मुस्ताङलाई त्यसै हिमालपारीको जिल्ला भनिएको रहेनछ । 

 

पर्वतः नेपालकै अग्लो झोलुङे पुलको जिल्ला, रहस्यमयी गुफा, गुप्तेश्वर महादेव, मोदी वेनी पवित्र धार्मिक पर्यटकीय स्थल, सबैभन्दा बढि जलविद्युत आयोजना भएको जिल्ला । प्राकृतिक सुन्दरताले भरिपूर्ण पर्वतको सदरमुकाम कुस्मा बजार हो । यहाँ केहि वर्ष अघिको आन्तरिक भ्रमणमा दुई चार दीन बसेको छु । सदरमुकाम भएकोले आवश्यक पूर्वाधार छन् । कुस्मा आउने पर्यटकले झोलुङगे पुल नहेर्ने कुुरा भएन । हामीले यहाँका झोलुङगे पुल फर्कदा हेर्ने बाचा र्गयौं । 

 

आजै जसरीपनि जोमसोम पुग्ने योजनामा थियौं त्यसैले अलमल नगरी अगाडी बढ्यौं । १ बजेतिर बेनी बजार आइपुगियो । कालिगण्डकीको तिरमा बसेको यो बजार बाग्लुङ जिल्लाको ऐतिहासिक सदरमुकाम हो । बेनीमा विहानको खाना खाएर मुस्ताङबाट फर्कँदा बस्ने योजनाका साथ अगाडी बढ्यौं । 

बेनीको बजार जसै छाडियो अब हाम्रो यात्रा कष्टकर बन्यो । कच्ची तथा साँघुरोबाटो भएकोले स्करपीयोमा बस्दा समेत हामीलाई सहज भएन । त्यसमाथी कतै ठाडो उकालो त कतै ओरालो । दायाँतिर कालीगण्डकी एकोहोरो सुसाइरहेको । डाँडामा पुगेर खोलातिर हेर्दा आङ्नै सिरिङग हुने । तर, जतिजति अगाडी बढ्यो त्यत्ति मुस्ताङको सौन्दर्य हेर्ने अभिलाषाले हाम्रो डरलाई जितेको थियो । 

 

बाग्लुङको रुप्से झरना बाटैमा पर्दोरहेछ । सेता मोतीका दाना झरेजस्तो कञ्चन रुप्से झरना साँच्चीकै अनुपम रहेछ । मुस्ताङ जाने जोकोही एक पटक रुप्सेको सौन्दर्यमा नडुबी अगाडी नबढ्ने । हामीले फर्कँदा हेर्ने भन्दै अगाडी बढ्यौं । 

साँधुरोबाटो, ढुङ्गा माथी गाडी कुदाउन कहाँ सजिलो हुन्छ र ! धन्न अनुभवी ड्राइभर रहेछन् । बाग्लुङ र मुस्ताङको सिमानामा जसै पुग्यौं । गाडीको लस्कर देखियो । बुझ्दा जाम परेछ । साँधुरो बाटोमा ठूल्ठूला बस हालिएका छन् । एउटा बस बिच बाटोमा विग्रिएछ । साइड दिने ठाउँ नभएपनि दुवैतिरका सवारीले विग्रिएको गाडी नबनुन्जेल अगाडी बढ्न सकिएन । 

 

करिब चार किलोमिटर गाडीको ताँती देखेपछि मैले मामालाई पैदल हिँडेर अगाडी बढ्ने कुरा राखें । प्राकृतिक सौन्दर्यतामा डुबुल्की लगाउन आउनु भएका मामाले नाई भन्ने कुरा भएन । माइजु चाहिँ अलिक मोटी, हिँड्न सक्नुभएन । उहाँलाई गाडीमा राखेर मामाभाञ्जा कालिगण्डकीलाई हेर्दै अघि बढियो । एक ठाउँमा कालिगण्डकी पोखराको सेती नदी जस्तै भएर खोँचमा बगेकी रहेछिन्, एकोहोरो हेर्दा रिंगटा नै लाग्ने । २ घण्टा पछि जाम खुल्यो त्यतिञ्जेलसम्म हामी दुई भाइ ५ किलोमिटर अघि बढिसकेका थियौं । हिँडाईले स्वास बढेको थियो । लू लाग्छ भन्थे, डाँडाकाँडा नकुदेको हामीलाई पनि त्यस्तै भो । बल्लबल्ल जाम छिचोलेपछि हाम्रो गाडी आइपुग्यो । 

मुस्ताङमा बास बस्न होटल पाउन एकदमै समस्या । दशैं तिहारको विदाको समय सदुपयोग गर्न धेरै नेपाली मुस्ताङ आउँछन् । मैले पोखराबाटै त्यहाँको एउटा होटलको फोन नम्बर लिएकोले बाटोभरी चार पाँच पटक फोन गरेर रुम राख्न अनुरोध गरिरहेको थिएँ । 

करिब ६ बजेतिर लेते भन्ने ठाउँमा आइपुगियो । यहाँबाट निलगीरी हिमाल प्रष्ट देखिँदो रहेछ । हिमालपारी घाम डुब्नै लागेकोले हिमालमा लाली चढेको थियो । ७ बजे मार्फा बजार आइपुगियो । मुस्ताङे स्याउको लागि अत्यन्तै चर्चित ठाउँ । राजधानीमा मासुको सुकुटी पाइथ्यो । यहाँ त स्याउको सुकुटी । स्याउलाई काटेर स–साना टुक्रा बनाएर सुकाइएको स्याउ किलोको १५ सय ! वाफ रे कति महंगो ? 

हामीलाई जसोतसो जोमसोम पुग्नुपर्ने भएकोले गाडीमा सामान्य विस्कुट, पानी चाउचाउ खाँदै अगाडी लाग्यौं । करिब ८ बजेतिर जोमसोम पुगियो । जोमसोमको चिसो सिरेटोले नाकको टुप्पो रसायो । विकट पहाडी धरातल भएपनि जोमसोममा आलिसान होटलहरु रहेछन् । नेपाली भन्दा पनि विदेशी पर्यटकको घुँइचो । बाटबाटोमा स्याउ टोक्दै, वियर खाँदै हिँडेका पर्यटक देखेर अचम्म लाग्यो । मलाई बाक्लो ज्याकेट, टोपी लगाँउँदा पनि जाडो भइरहेको थियो, उनीहरु एकसरो लुगामा हिडिरहेका थिए । जोमसोमको नयाँपुल पारी रहेछ हाम्रो होटल । फोनमा लोकसन सोध्दै पुगियो । होटल सञ्चालक दिनेश थकालीको मिठो आत्मियता पाइयो । 

भोलीपल्ट कागवेनीमा मामाले श्राद्ध गर्नुपर्ने भएकोले सामान्य सादा खाना खाएर निन्द्रादेवीको काखमा लुट्पुटिएँ । क्रमस…. 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *