तिहारमा अत्यधिक विद्युत् खपत : अनावश्यक बत्ती नबाल्न आग्रह

भरतपुर, कात्तिक १६ । उज्यालो पर्व तिहारमा चारैतिर झिलिमिली बत्ती बालिने हुनाले अत्यधिक विद्युत् भार पर्ने देखिएको छ । 

तिहारको समयमा अत्यधिक विद्युत् भार पर्दा करेन्ट प्रवाहमा समस्या आउन सक्ने हुनाले कर्मचारीलाई ‘हाईअलर्ट’मा राखिने छ । विद्युत् कार्यालय भरतपुरले कुकुर तिहारदेखि भाइटीकाको दिन रातिसम्म विद्युत् भार अत्यधिक पर्ने जानकारी दिएको छ । कार्यालयका अनुसार अत्यधिक विद्युत् भार तिहारको लक्ष्मीपूजाको दिन पर्नेछ । 

विद्युत् कार्यालय भरतपुरका ईन्जिनियर अबिनाश महतले भरतपुर सवस्टेसन र चनौली सवस्टेसनबाट तिहारको लक्ष्मीपूजाको दिन कम्तीमा ३० मेगावाट विद्युत् खपत हुने बताए । उनले भने, ‘यी दुई स्टेसनबाट गत वर्ष नै लक्ष्मीपूजाको दिन २५ मेगावाट विद्युत् खपत भएको थियो, यो वर्ष जनघनत्व पनि बढेको हुनाले कम्तीमा ३० मेगावाट विद्युत् खपत हुने देखिन्छ ।’ 

null

गत वर्ष लक्ष्मीपूजाको दिन भरतपुर सवस्टेसनबाट मात्रै १६.१५६ मेगावाट विद्युत् खपत भएको थियो । यसवर्ष भरतपुर सवस्टेसनबाट मात्रै तिहारको लक्ष्मीपूजाको दिन २० मेगावाट विद्युत् खपत हुने अनुमान गरिएको छ । लक्ष्मीपूजाको दिन रातभरि घरै झिलिमिली हुने गरी बिजुली बालिने हुनाले यो दिन अत्यधिक विद्युत् भार पर्ने विद्युत् कार्यालयले जनाएको छ । 

विद्युत् कार्यालयका सहायक इन्जिनियर रोशन चौधरीले भरतपुर सवस्टेसन र चनौली सवस्टेसनको ५४ मेगावाटसम्म विद्युत् क्षमता रहेको बताए । उनले भने, ‘कुनै प्राविधिक कारणले करेन्ट प्रवाह रोकिने अवस्था सिर्जना हुन सक्छ, तर तिहारको समयमा अत्यधिक विद्युत् भार परेकै कारणले लोडसेडिङ गर्नुपर्ने अवस्था आउँदैन ।’ 

तिहारमा अत्यधिक विद्युत् भार पर्ने हुँदा ट्रान्सफर्मर जल्ने, फ्युजहरु जाने सम्भावना बढ्ने हुनाले कर्मचारीहरुलाई विद्युत् कार्यालयले सूचना नै निकालेर हाईअलर्टमा राखेको छ । 

‘तिहारको समयमा विद्युतमा आउने समस्या निराकरणका लागि कर्मचारीहरुको कार्यसूची नै तयार पारिएको छ’, विद्युत् कार्यालय भरतपुरका सहायक ईन्जिनियर तीर्थराज पौडेलले भने । तिहारमा झिलिमिली बत्तीका कारण दसैँमा भन्दा तिहारमा बढी विद्युत् भार पर्छ । विद्युत् कार्यालय भरतपुरले तिहारमा बढी विद्युत् भार परेर करेन्ट प्रवाहमा समस्या आउन सक्ने हुनाले अनावश्यक झिलिमिली बत्ती नबाल्न अनुरोध गरेको छ । 

‘तिहारको समयमा प्रायः उद्योगहरु बन्द नै हुन्छन् । तर, घरहरुमा बालिने झिलिमिली बत्तीहरुले विद्युत् भार बढाउँछ, त्यसैले अनावश्यक झिलिमिली बत्तीहरु नबालौँ’, सहायक ईन्जिनियर पौडेलले भने, ‘विद्युत् भार परी भरतपुर क्षेत्रमा एउटा ट्रान्सफर्मरको फ्युज गयो भने कम्तीमा फ्युज नहालेसम्म १०० घरमा अन्धकार हुन्छ ।’ 

स्थानीय तहले पछिल्लो समय ठाउँठाउँमा सडक बत्ती जडान गरेको हुनाले पनि यसपटक तिहारमा अल्लि बढी विद्युत् भार पर्ने उनी बताउँछन् । दैवी प्रकोपबाहेक सबैभन्दा बढी विद्युतका समस्याहरु मानवीय कारणले तिहारमा नै आउँछन् । 

विद्युत् कार्यालयका अनुसार पहिला मानिसहरुले घरमा फिलामेन्ट बल्बबाट बत्ती बाल्ने गरेका थिए । यो बल्बले अत्यधिक विद्युत् खपत गराउँथ्यो । पछिल्लो समय मानिसले सीएफएल बल्ब राख्न थाले । अहिले त धेरैले एलइडी बल्ब राख्न थालेका छन् । 

कार्यालयका अनुसार फिलामेन्टको २५ वाटको बल्बले दिने उज्यालो सीएफएलको ५ वाटले दिने र सीएफएल ५ वाटले दिने उज्यालो एलइडी ३ वाटले दिनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *