श्रीमतीको झापड !

कात्तिक २८, काठमाडौँ । ‘समाजसेवा गरौँ पुण्य कमाऔँ’ भन्ने नाराका साथ खोलिएको एक विद्यालयमा पदम नोकरी गर्थ्यो । उसको बेग्लै ठाँट थियो । नहोस् पनि कसरी ? सामाजिकता सम्मान गर्ने ऊ पढाउनु पनि सेवा नै ठान्दथ्यो, र दिलोज्यानले काम गर्दथ्यो । 

एक दिन पदम ढिलोगरि घर पुग्यो । अनुहार मलीन लिएर । विद्यालय बेचिएको खबर उसलाई बिझेको रहेछ । 

‘शिक्षा र स्वास्थ्यमा यस्तै व्यापार त छ नि, सेवा त नाममात्रै हो क्या ! देशै गञ्जागोल डटकम छ, कसलाई के भन्नु । मन भए गर्नु, ईमान्दार भै गर्नु, मन नलागे छोड्दिनु नि, के टाउको दुखाइ ?’ श्रीमतीको कुराले ऊ सामान्य भएको थियो । 

null

अर्को दिन पदम बेलैमा घर पुग्यो । विद्यालयका नयाँ सञ्चालक उसलाई पनि चिन्दा रहेछन् । 

‘आज हजुर यत्ति धेरै खुसी? कतै चिट्ठा पर्यो कि क्या हो ? के नयाँ जागिर भेट्टाइयो ?’ श्रीमतीको जिज्ञासा उसको अनुहारमा मुस्कान घोल्दैथियो ! 

‘तेस्तो क्यै हैन । नयाँ सञ्चालक त शिक्षासेवा पुरस्कार पाएका मलाई पनि चिन्ने मान्छे रहेछन् ।, हामी हजुरलाई हेरौँला ।’ भनेका छन् । ठिकै लागेर आयो ! 

‘हेर–हेर, यत्तिको उमेर खाएर पनि भाँती नपुर्याइ बोलेको ! नब्बे प्रतिशत पुरस्कार कस्तालाई दिइन्छ थाह छैन ? फेरि यस्ता संस्थामा त मान–पगरीहरू लिने परिपाटी हाबी छ पो ! भन्दा अप्ठ्यारो, मिठा कुरामा फुस्ल्याउँदै खाइरहको खाना कटाएर ललीपप थमाउँछन् यस्ताले त झन् । खोई मलाई त शङ्का लाग्यो । अलि जोगिएर काम गरे राम्रो होला ।’ 

बैसाख आयो, विद्यार्थी शुल्क बढाइयो । विनि र श्रोव्यले कसेर भत्ता उठाए । वासलात घाटाको बनाइयो र करमाथि कर गर्ने सरकार समेतलाई विश्वास गर्न कर लगाइयो । कर्मचारी र टिचरको सुविधा कटाइयो । 

निचोरेको कागतिजस्तो मुख पारी एकान्तमा घोत्लिएको पदमलाई ढाडिएको जुकाजस्तो कोही आउँछ र हात समाउँदै भन्छः हेर्नोस् सर, यसपाली सकिएन, दशैँमा मिलाउँछु । 

जेठ, असार, साउन, भदौ, असोज…. गोडा पाँचेक महिना बितेर गए । दशैँ गयो । पदम सामान्य चालमै थियो । ऊ सञ्चालक न आसेपासे, क्वै तेस्तो थिएन । सुविधामा परेन भन्दापनि घटुवामा पर्नु उसलाई नराम्रो लाग्यो । दशैँपछि गएर खाता बुझ्दा पो अचम्म मान्यो ! पैले खाइपाइ आएको तलबमान अझ खसालिएको रहेछ ! 

फेरि अर्को दिन पदम थाकेको भाव खुइय्य राख्तै घर पुग्यो । 

‘दशैँमा पाएको बोनस–तलबले पशुपतिमा आश्रितलाई भण्डारा सघाउँछु भन्थेँ, हेर न कता झारे झारे ! दिन त दशैँ–तिहारको शुभकामना कार्डसहित दिएका थिए, पछाडिपट्टि गोजीमा राखेको जस्तो लाग्छ, बित्याँस परिगो नि ! उसले कथा बनाएर भन्यो । 

‘हजुरको पचासेले अरु के–के हानी गर्नेभो नि, नारान ! राखन्धरनमा अलि होश पुर्याउनु पर्छ है । ल ल भैगो, सायद् हराएको जति आफ्नो थिएन । कात्तिके ग्रह कट्यो भन्ने चुप लाग्ने !’ 

चटक्क छोडिहाल्न पनि पढालु र सिर्जनशील विद्यार्थीहरूको अनुहार र विश्वास झल्झली मनमा राखी पदम टिचिङ गर्दै रह्यो । 

कसैलाई धोका हुनुहुन्न र परिश्रमको उचित कदर गरिनुपर्छ मान्ने ऊ यसरी ठग प्रणालीको चङ्गुलमा स्वयम् फस्न पुगेकामा भने चिन्तित भएकै थियो । अझ चिन्ता त उसलाई उबेला लाग्यो जब उसको नयाँ सञ्चालकलाई ‘अन्तराष्ट्रिय कुशल सञ्चालक’ पुरस्कार एकजना तीनपुस्ते भ्रष्टाचारी नेतामार्फत् उपलब्ध गराइयो । अनि मिडियाले डम्फु ठोके । 

कालखण्डले कोल्टे फेर्दै गयो । पदमले स्वरोजगारीमा हात बढाइसकेको थियो। जनताहरू पनि जागरुक हुँदै थिए । विदेशी कुनीति दुत्कार्न थालियो । एकता, न्याय र समानताका आवाज चारैतिर गुञ्जिन थाले । यसै क्रममा पदमका माकुरे सञ्चालक जो विद्यालय–व्यवस्था मन्त्री भएका थिए अशल शिक्षा र समाजकल्याणको भाषण गर्दागर्दै झापड खान पुगे । 

उनकै श्रीमती अख्तियार प्रमुख भैआएको र भ्रष्ट्राचारको ताँदो उनकै पतिले घरमासमेत छलेर चढाउने गरेको रहस्य खुलेको रहेछ । फलस्वरूप, गिरफ्तारीको लुकामारीका क्रममा सार्वजनिक भनाभन भएबाट यस्तो अवस्था आएको रहेछ । 

‘अब जथाभावी चल्दैन । उल्टोपाल्टो गर्ने कसैलाई छोडने छैन ।’ भीड नियन्त्रक, दृढ र टाठो थियो । त्यै भीडमा दृढतासाथ पदम पनि बोल्दैथिएः सङ्क्रमणपछि देश सबैखाले समस्या चिर्दै अनि विकासमा छलाङ मार्दै अगाडि बढेको तथ्य सबैमा चेतना भया । 

 – कथा 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *