सामाजिक सुरक्षा योजना शुभारम्भको खुशीयालीमा दीप प्रज्वलन


मंसिर ११, काठमाडौँ । सामाजिक सुरक्षा योजना आरम्भको खुशीयालीमा ट्रेड युनियनहरुले संयुक्त रुपमा दीप प्रज्वलन गर्ने भएका छन् ।
सरकारले सबै क्षेत्रका श्रमिकलाई लागु हुने गरी आजदेखि सुरु गरेको पेन्सनसहितको सामाजिक सुरक्षा योजनाको खुशीयालीमा ट्रेड युनियनहरुले दीप प्रज्वलन कार्यक्रमको आयोजना गर्ने भएका हुन् ।
मंगलबार साँझ ५ बजेपछि माइतीघर मण्डलामा हुने सो कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट उपस्थित हुने ट्रेड युनियनले जानकारी दिएको छ ।
null
सरकारले आज देखि लागु हुने गरी शुभारम्भ गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले रोजगारदाता र श्रमिकको असुरक्षित यात्रा समाप्त हुने विश्वास लिइएको छ ।
सामाजिक सुरक्षा योजना सञ्चालनका लागि ऐन, नियमावली र कार्यविधिसमेत निर्माण भइसकेका छन् । पहिलो चरणमा औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी चार कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी छ ।
रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको सञ्चयकोषबापत १० प्रतिशत रकम, उपदानबापत ८ दशमलव ३३ प्रतिशत आफैँले र श्रमिकको पारिश्रमिकबाट ११ प्रतिशत कट्टी गरी कुल ३१ प्रतिशत रकम कोषमा अनिवार्य जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ ।
श्रमिकले कुनै कारण पारिश्रमिक नपाउने अवस्था आई नियमित रूपमा कोषमा रकम जम्मा गर्न नसक्ने भए तीन महिनासम्मको रकम सूचीकृत रोजगारदाताले नै व्यहोर्नुपर्ने कानुनी व्यवस्था छ ।
