काठमाडौँमा तिहारको रौनकः व्यापारी भन्छन्, ‘लाखौँ कमाइन्छ’

कात्तिक २०, काठमाडौँ । नेपालीहरुको दोस्रो महान् चाड तिहार सुरु भएलगत्तै उपत्यकाका बजारमा मानिसहरुको चहलपहल बढेको छ । 

काठमाडौँ उपत्यकाका मुख्य बजार असन, इन्द्रचोक लगायतका क्षेत्रमा तिहारका लागि फूलमाला, सप्तरंगी टीका, दियो, ढाका टोपी, मसला, लत्ताकपडा लगायतका सर–सामान किन्नेहरूको भीड लागेको छ । 

असन बजारमा १० वर्षदेखि भाइ मसलाको व्यापार गर्दै आएका जयराम सापकोटाले एक घण्टाको बिचमा नै ४–५ हजारको मसला बिक्री भएको बताए । उनले भने, ‘तिहारको समयमा महाबौद्धबाट सामान ल्याएर वर्षेनी २–३ लाखको व्यापार गर्दै आएको छु । यो वर्ष पनि त्यस्तै व्यापार हुनेमा ढुक्क छु ।’ 

null

 

तिहारको पहिलो दिन काग तिहार सुरु भएदेखि नै बजारमा फुलमालाको व्यापार पनि उत्तिकै चम्किरहेको हुन्छ । काग तिहारबाट सुरु हुने व्यापार भाइटिका सम्म पनि उस्तै रहन्छ । 

५ वर्षकाे उमेरदेखि फुलमालाको व्यापार गर्दै आएकी २३ वर्षीया अञ्जना बस्नेतले तिहारको समयमा फूलमालाको व्यापार राम्रो हुने बताइन् । उनी भन्छिन्, ‘अघिल्लो वर्ष ३ लाखको व्यापार भएको थियो । यो वर्षपनि त्यति नै व्यापार गर्ने आस छ, तर अहिले बजारमा रेडिमेट माला आएको हुनाले व्यापार घट्ने होकी भन्ने चिन्ता लागिरहेको छ ।’ 

 

त्यस्तै ५० वर्षदेखि इन्द्रचौकमा तिहारका समयमा माटाका भाँडा बेच्दै आएकी ७५ वर्षीया हरिमाया यो वर्ष व्यापार ठिकै रहेको बताउँछिन् । ‘गत वर्षको तुलनामा यो वर्ष खासै व्यापार भएन । अहिले दिनमा ३००० सम्मको व्यापार भइरहेको छ’, उनले भनिन् । 

विशेषगरी माटाका भाँडा अर्थात् माटाका दियोहरु लक्ष्मी पूजाका दिन दिप प्रज्वलनका लागि प्रयोग गर्ने गरिन्छ । 

यता सप्तरंगी टिकाको व्यापारी पनि उत्तिकै फुर्केका छन् । हिजोका दिनसम्म समय बिताउने बाटो मात्र बनेको व्यापार आज बढेको सप्तरंगी टिका व्यापारी बताउँछन् । 

बजारमा फूलमाला, पाला, टिका मात्रै होइन रातो माटो किन्नेको पनि उत्तिकै घुइँचो लागेको छ । गाउँघरतिर दैनिक रुपमा प्रयोग हुने रातो माटो काठमाडौँमा भने विशेषतः लक्ष्मी पूजाका दिन मात्रै प्रयोग गरिन्छ, लक्ष्मी भित्र्याउनका लागि । 

तिहारमा माटोको व्यापार गर्न भ्याइनभ्याइ हुने माटो व्यापारीहरुको भनाइ छ । अघिल्लो वर्ष १० रुपैयाँमा पाइने रातो माटो यो वर्ष भने २० रुपैयाँ मूल्य रहेको पाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *