‘गणतन्त्रकी राष्ट्रपति राजाभन्दा महंगी र विलासी’
पुस १६, काठमाडौँ । राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले तत्कालीन सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।
सोमबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा बनेको सरकार सबैभन्दा शक्तिशाली भएपनि दुई तिहाईको सरकारले काम गर्न नसकेको आरोप लगाएका हुन् । ‘यो सरकारले जनताको पक्षमा काम गर्न सकेको छैन’ राणाले भने, ‘सरकारप्रति नेकपा सचिवालयभित्रै प्रश्न उठ्ने स्थिति सिर्जना भइसकेको छ।’
वर्तमान सरकार ‘होली–वाईन’ खान र नक्कली क्रिश्चियनहरुको काखमा सुत्न गएको आरोप पनि राणाले लगाए। ‘दुई तिहाई बहुमतका प्रधानमन्त्री केपी ओली तीन दिनसम्म ‘होली–वाईन’ खाएर नक्कली क्रिश्चियनहरुको काखमा सुत्नुभयो’ राणाले भने, ‘योभन्दा लाजमर्दो अर्को कुरा के हुन्छ?’
null
उनले सरकारसँगै राष्ट्रपति विद्यादेवी भण्डारीको पनि चर्को आलोचना गरे । उनले राष्ट्रपति भण्डारी राजा भन्दा पनि महंगी बन्दै गएको आरोप लगाउँदै उनीमाथि प्रश्नको चाङ्ग लगाए ।
‘गणतन्त्रकी राष्ट्रपति किन महंगी बन्दै हुनुहुन्छ ? करोडौँका गाडी चाहिने? अर्बौँको हेलिकप्टर खरिद गर्नुपर्ने?’ अध्यक्ष राणाले भने, ‘अहिलेको विशाल शितलनिवास राष्ट्रपतिज्यूलाई सानो भयो रे, प्रहरी तालिम केन्द्रपनि उहाँलाई नै चाहिने भयो भन्ने सुनिँदैछ, यो कस्तो विलाशीपना हो?’
उनले राजतन्त्रकालमा नदेखिएका दृश्यहरु गणतन्त्रमा देख्न भन्दै राष्ट्रपतिलाई दिइएको सुविधाप्रति आक्रोश व्यक्त गरे ।
त्यस्तै राप्रपा अध्यक्ष राणाले नेपाललाई हिन्दुराज्य कायम गर्नुको विकल्प नभएको दाबी गरे । ‘नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दुराज्यको बारेमा बहस हुनुले सकारात्मक सन्देश प्रवाह गरेको छ । ‘अब प्रजातन्त्रवादीहरु एक ठाउँमा उभिनुपर्छ, देशलाई जोगाउनुपर्छ, सन्तुलित परराष्ट्र नीति बनाएर देश चलाउनुपर्छ।’, उनले भने ।