डोरी तानेर मनाइयो मुक्ति दिवस

 

मंसिर २५ ,काठमाडौँ । हिजो मुक्तिदिवसको अवसरमा लगनलखेलस्थित राजदल गणको खेलमैदानमा उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय डोरीतान प्रतियोगिताक सम्पन्न भयो । 

मुक्ति दिवस तत्कालीन जहानियाँ राणाशासनविरोधी आन्दोलनमा मुक्तिसेनाका कमान्डर भोजपुरका रामप्रसाद राईको कमान्डमा राणाफौजबाट भोजपुरलाई बिना रक्तपात मुक्त गरिको दिन हो । सोही दिनको स्मरण गदैँ हिजो रामप्रसाद राई स्मृति प्रतिष्ठान, काठमाडौँ र नेपाल डोरीतान संघद्वारा संयुक्त रुपमा लगनलखेलस्थित राजदल गणको खेलमैदानमा उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय डोरीतान प्रतियोगिताको आयोजना गरिएको हो । 

null

उक्त प्रतियोगिताको डोरी तानेर उद्धघाटन गर्दै प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले खेल र खेलाडीहरूको सम्मान र विकास गर्दै देशमा अनुशासित नागरिक तयार पारिने बताए । उक्त अवसरमा मुख्यमन्त्री राईले जननायक रामप्रसाद राईहरूकै कारण आजको परिवर्तन सम्भव भएको धारणा व्यक्त गरे । 

त्यसै गरी सांसद विशाल भट्टराईले प्रजातन्त्र, लोकतन्त्र र संघीय गणतन्त्रका स्वप्नदर्शी जननायक रामप्रसाद राईलाई सरकारले राष्ट्रिय बिभूति घोषणा गरी सम्मान दिनुपर्ने माग राखे । उनले डोरीतान खेललाई राष्ट्रिय खेल बनाउनु पर्नेमा जोड दिए । 

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले ऐतिहासिक दिनको स्मरणमा डोरीतान खेल आयोजना गरिनु महत्वपूर्ण कार्य भएको उल्लेख गरे । संघका अध्यक्ष तथा जया मल्टिपल कलेजका प्राचार्य भवानीप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका कार्यवहाक अध्यक्ष देवीप्रसाद घिमिरे र महासचिव देवान राईले कार्यक्रमको उद्देश्य र प्रतिष्ठानका गतिबिधिबारे प्रकाश पारेका थिए । डोरीतान खेल प्रतियोगितामा जम्मा ५३ वटा टिमले भाग लिएका थिए । जसमा छात्रातर्फ २३ टिम र छात्रतर्फ ३० टिम सहभागी थिए । छात्रातर्फको प्रतिस्पर्धामा जनप्रेमी स्कुल भक्तपुर पहिलो, निर्मल स्कुल ललितपुर दोस्रो र नेक्सस ईन्टरनेश्नल स्कुल काठमाडौँले तृतीय पुरस्कार प्राप्त गरेका थिए । 

यसै गरी छात्रतर्फको प्रतिस्पर्धामा नोबल एकेडेमी काठमाडाैँ पहिलो, चाणक्य स्कुल भक्तपुर दोस्रो र हिमालय स्कुल काठमाडौँ तेस्रो भएका थिए । बिजेता टोलीलाई पदक, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. शिवकुमार राई र सभाध्यक्ष पौडेलले पुरस्कार प्रदान गरेका थिए । 

सो कार्यक्रममा जननायक रामप्रसाद राईकी छोरी कृष्णकुमारी राईले आमा चन्द्रकुमारी राई र दिदी बालकुमारी राईको नाममा अक्षय कोष स्थापना प्रतिष्ठानलाई एक लाखको चेक हस्तान्तरण गरेकी थिईन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *