आरक्षित वर्गले नै पाउँदैनन् सार्वजनिक यातायातमा सिट र छुट सुविधा
मंसिर २७, विराटनगर । सार्वजनिक यातायातमा यात्रा गर्दा महिला, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकलाई छुट्याईएको आरक्षण सिट कार्यान्वयन नहुने गरेको पाइएको छ ।
प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट छुट्ने अधिकांश बसले छुट्याईएको आरक्षण सिटमा तोकिएको वर्गलाई नबसाई अन्य यात्रुहरु बसाउने गरेको पाइएको हो ।
null
सार्वजनिक यातायात आचारसंहिता २०६७ अनुसार महिला, शारीरिक अपाङ्गता तथा अशक्त व्यक्तिलाई आरक्षण सिट दिनुपर्ने भनिएको छ भने सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकलाई छुट र सुविधा दिनेसम्बन्धी कार्यविधि २०७० अनुसार ज्येष्ठ नागरिकलाई दुई वटा आरक्षण सिट सुरक्षित गरी आरक्षण सिटमा बस्ने दुई जनालाई कम्तीमा ५० प्रतिशत छुट सुविधा दिनुपर्ने व्यवस्था छ ।
तर कतिपय यातायातहरुले आरक्षण सिट नै छुट्याएका छैनन् भने कति यातायातले आरक्षण सिट भनेर छुट्याए पनि तोकिएको वर्गलाई आरक्षण सिटमा नबसाई अन्य यात्रुलाई नै बसाएर यात्रा गराउने गरेका छन् ।
१४ सिट भन्दा बढी सिट क्षमता भएका सार्वजनिक यातायातमा महिला, शारीरिक अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई आरक्षणको व्यवस्था भएपनि कतिपय सवारीले सो कुरा जानकारी नगराई अन्य यात्रुलाई बसाउने गरेको यात्रुहरुले बताएका छन् ।
बसमा यात्रा गरिरहेकी मोरङ विराटचोककी रमा निरौलाले लक्षित वर्गका लागि छुट्याईएको आरक्षण सिट र भाडा छुट कार्यान्वयन नहुने गरेको गुनासो गरिन् । उनले भनिन् ‘पहिले मलाई सार्वजनिक यातायातमा महिला, अपाङ्ग तथा जेष्ठ नागरिक सिट आरक्षण हुन्छ भन्ने थाहा थिएन । मान्छेहरुले सिट छोड्दैन थिए । तर थाहा पाएपछी आरक्षण सिटका विषयमा यातायात कर्मचारीहरुसँग कुरा गर्दा वास्ता गर्दैनन्’
अपाङ्ग, महिला, जेष्ठ नागरिक सिट भनेर लेखिएको हुन्छ तर अरुनै त्यो सिटमा बसेका हुन्छन् भन्दै उनले आक्रोश पोखिन् । रमाले यो कुरा यस्ता विषयमा यातायातमा काम गर्नेलाई भन्दा उल्टै बाझ्ने गरेको गुनासो गरिन् ।
यस्तै सार्वजनिक यातायातमै यात्रा गरिरहेका तेह्रथुमका जेष्ठ नागरिक लालबहादुर घतानीले सार्वजनिक यातायातले आरक्षण सिट दिन त परै जाओस् जेष्ठ नागरिक परिचयपत्र देखाउँदा समेत छुट नदिने गरेको गुनासो गरे ।
‘हामीलाई गाडीमा हिँड्दा सरकारले छुट सुविधा दिएको छ । जेष्ठ नागरिकलाई आरक्षण सिटको समेत व्यवस्था हुनुपर्ने हो तर, हामीलाई उचित सिट दिन त कता हो कता जेष्ठ नागरिक परिचय पत्र देखाउँदा समेत छुट दिँदैनन् ।’ उनले भने ।
याता सार्वजनिक यातायातका चालक तथा सहचालकहरुले भने सरकारले तोके अनुसार आरक्षण सिट र छुट सुविधा दिने गरेको दावी गरेका छन् । उनीहरुले लक्षित वर्गलेनै आरक्षीत सिट र छुट सुविधा नलिने गरेको बताए ।
सार्वजनिक यातायातका सहचालक (कन्टेक्टर) मणि भण्डारीले भने, ‘हेर्नुस् हाम्रो गाडीमा महिला, जेष्ठ नागरिक, आपाङ्गता भएका व्यक्तिहरुलार्इृ सिट तोकिएको छ । लेखेरै राखिदिएको छ । अब त्यो सिटमा बस्दैनन्, पाउने छुट लिदैनन् भने हामीले के गर्ने ?’
सिट र छुटबारे जानकारी गराउनु पर्छ नि भन्ने प्रश्नमा उनले भने, ‘त्यत्रो फुर्सद हामीलाई हुँदैन ।’
सरकारबाट पाउने सेवा सुविधा लिए पनि तोकिएको व्यवस्थालाई सार्वजनिक यातायातका चालक तथा परिचालकहरुले विभिन्न बहानामा टार्ने गरेका छन् ।
महिला, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा यात्रा गर्दा अभद्र व्यवहार हुने गरेको गुनासाहरु आएपछि ती वर्गहरुलाई आरक्षण सुविधा दिइएको हो । तर, सार्वजनिक यातायातले यसको पालना गर्नु त परै जाओस् यात्रुलाई टिकट नदिने, क्षमता भन्दा बढी यात्रु बोक्ने जस्ता कार्य गरेर अरु नियमको पनि उल्लङ्घन गर्ने गरेका छन् ।
यता सार्वजनिक सवारी साधनमा तोकिएको वर्गलाई आरक्षण सिट अनिवार्य गरिएको र अनुगमनका क्रममा भेटिएका आरक्षण सिटको दुरुपयोग गर्ने सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख शिवकुमार पोखरेलले बताए ।
तोकिएको वर्गले आरक्षण सिट नपाएको भेटिएपनि अहिले सबै सार्वजनिक यातायातले आरक्षण सिट सम्बन्धि व्यवस्थाको पूर्ण रुपले कार्यान्वयन गरेको उनको दाबी छ । ‘यो कुरामा हामीले अनुगमन गरिरहेका छौँ । हामीले सबै चालक तथा सहचालकलाई यो विषयमा खबरदारी गरिरहेका छौँ ।’, उनले भने, अनुगमनका क्रममा कसैले नियम कानुनको पालना गरेको छैन भने प्रचलित कानुन अनुसार कारवाही र जरिवाना गरिरहेका छौँ ।’
सार्वजनिक यातायातका चालक तथा परिचालकको मनलाग्दी र अनुगमन गरी कार्यान्वयनका लागि दबाब दिने निकायहरु मौन बस्दा महिला, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकहरु तोकिएका आरक्षण सेवाबाट बञ्चित भएका छन् । जसले गर्दा सार्वजनिक सवारीको प्रयोग गर्दा उनीहरुले थप समस्या झेल्नु परेको छ ।