युद्धकालमा रोकिएको मेला २५ वर्षपछि पुनः सुचारु हुँदै

 

मंसिर २७, धरान । मोरङको केराबारी–६ मा लाग्दै आएको कालोपानी पुषे मेला करिब २५ वर्षपछि पुनः सुचारु हुने भएको छ । 

आयोजक कालोपानी धार्मिक तथा साँस्कृतिक मेला व्यवस्थापन समिति केराबारी–६ मोरङले बिहीबार पत्रकार सम्मेलन गरी सो मेलाको निरन्तरता स्वरुप कालोपानी धार्मिक तथा साँस्कृतिक मेला २०७५ सुचारु गर्न लागेको जानकारी दिएको हो । 

null

सम्मेलनमा केराबारी वडा नं ६ का वडा अध्यक्ष उपेन्द्र लुङगेलीले परापुर्वकाल देखिनै आफ्नो बेग्लै पहिचान राख्दै आएको यस क्षेत्रका पुराना सँस्कृतिहरु खतरामा पर्न सक्ने अवस्था देखिएकाले यस्ता किसिमका कार्यक्रमहरु हुन जरुरी रहेको बताए । 

उनका अनुसार साँस्कृतिक मेला मार्फत् ओझेलमा परेका सम्पदा तथा साँस्कृतिक धरोहरका साथै ऐतिहासिक, पौराणिक विषयवस्तु उठान गर्नु र पछाडि परेका मोरङको एक कुनालाई चिनाइने छ । 

अध्यक्ष उपेन्द्रले यस स्थानको उत्तरी भेगमा मधेशलाई सजिलैसँग नियाल्न सकिने टाकुरे डाडा, दुम्से ढुङगा, जगरेडाडा, तापथुम्का, याङसिला, चिउरी भञ्जयाङ, चम्पावती देवीको प्राचीन मन्दिर, आहाले सिमसार प्राचीन मन्दिर र क्षेत्र यहि वडामा रहेको छ भने । 

‘यहाँका मौलिक सँस्कृति दोल, हुर्रा, साकेला, लाखे, सेले लगायतका नाचहरुले समेत यहाँका विशेषतालाई उजागर गर्ने भएपनि प्रचारप्रसार र अन्य आफ्नै आन्तरीक कारणले ओझेलमा परेको छ’, उनले भने । 

सोही कार्यक्रममा मेला व्यवस्थापन समितिका अध्यक्ष तथा मेलाका संयोजक प्रकाश श्रेष्ठले केराबारीमा मेला लगाउनुको मुख्य उद्देश्य नै मोरङ जिल्लाको उत्तरी भेगमा अवस्थित तत्कालिन वडा नं ४, ५, ६, हालका वडाहरु १ देखी ९ सम्म र धनुकुटाको डाँडा बजार, पुर्वमा लेटाङ र दक्षिणमा चारकोेसे झाडीसहित धरानलाई जोड्ने रहेको बताए । 

करिब १५ लाखको लागतमा हुन लागेको सो मेला आगामी पुष १५ गतेबाट सुरु भई पुष २१ गते सम्म चल्नेछ । सुनसरीको धरान, पानमारी, ईटहरी, मोरङको लेटाङ, धनकुटाको डाँडाबजार लगायतका स्थानहरुमा पर्यटकहरुको जमघट गराईने आयोजकको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *