झोराहाटमा मदन भण्डारीको जीवनीमा आधारित ‘बर्बरिक’
बिराटनगर, मंसिर २८ । कम्युनिष्ट नेता मदन भण्डारीको जीवनीमा आधारित ‘बर्बरिक’ नाटक बिहीबारदेखि मोरङको झोराहाटमा मञ्चन सुरु भएको छ । झोराहाट नाट्य समूहको आयोजनामा सुरु नाटक पुस २ गतेसम्म मञ्चन हुनेछ ।
उपन्यासकार प्रदीप नेपालको उपन्यास ‘बर्बरिक’लाई साहित्यकार भरत गुरागाईंले नाट्य रुपान्तरण गरेका हुन् । जीवन बरालले निर्देशन गरेको नाटक १ घन्टा लामो छ । हरेक दिन बिहान ११ र अपरान्ह ४ बजे गरी दुई शो हुने नाट्य समूहका अध्यक्ष भरत गुरागाईंले जानकारी दिए । नाटकमा मदन भण्डारीको २०४४ देखि २०५० सालसम्मको जीवनयात्रालाई समेटिएको छ । नेपाली काँग्रेससँगको सहकार्यमा पञ्चायत बिरुद्ध २०४६ सालमा भएको जनआन्दोलनलाई नाटकले मुख्य रुपमा उठान गरेको छ ।
null
नाटकमा गुरागाईँ सहित प्रयाग न्यौपाने, डीवी बस्नेत, अनु श्रेष्ठ, सुदीपजंग कार्की, दीपा पोखरेल, निराशा ढुंगेल, दीक्षा चौधरी, दिव्या रेग्मी, प्रज्वल काफ्ले, प्रदीप सरदार, विमल सम्वाहाम्फे, सौगात लुइँटेल, अर्जुन माझी, सुरज माझी, जिवय माझी, विद्याकान्त दाहालगायतले अभिनय गरेका छन् । नाटक हेर्न नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी, विनोद ढकाल, अग्रज पत्रकार शंकर खरेल, प्रेस युनियन मोरङका निवर्तमान अध्यक्ष मीनकुमार नवोदित, युवा संघ मोरङका अध्यक्ष मुकेश बुढाथोकीसहित बिभिन्न क्षेत्रका अगुवाहरूको सहभागिता रहेको थियो ।
झोराहाट नाट्यघरमा यसअघि लीलबहादुर क्षेत्रीको बसाइँ सहित १३ वटा नाटक मञ्चन भइसकेको छ । नाट्य समूहका अध्यक्ष गुरागाईंका अनुसार काठमाडौंको कुञ्ज थिएटरमा पनि आगामी पुस १८ गतेदेखि बर्बरिक मञ्चन हुने निश्चित भएको छ ।