चितवनमा जबर्जस्ती करणीको घटना बढ्यो


मंसिर २१, भरतपुर । चितवनमा जबर्जस्ती करणीका घटनामा वृद्धि भएको तथ्यांक छ । आर्थिक वर्ष २०७५–७६ को साउनयता साढे चार महिनामा जबर्जस्ती करणीका १६ वटा मुद्दा दर्ता भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
‘गत वर्षको तुलनामा यसवर्ष साढे चार महिनाको समयलाई मात्र हेर्न हो भने तथ्यांक बढेको पाइन्छ’, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता दुर्गाराज रेग्मीले भने, ‘साढे चार महिनाको समयमा १६ वटा मुद्दा दर्ता हुनुले पनि जबर्जस्ती करणीका घटना बढ्दै गएको पुष्टि गर्छ ।’
जिल्ला प्रहरी कार्यालय चितवनले जबर्जस्ती करणीका सबै अभियुक्तलाई पक्राउ गर्न सफल भएको जानकारी दिएको छ । ‘जबर्जस्ती करणीका १६ घटनाका २१ अभियुक्तलाई पक्राउ गरेर कानुनी कारबाही अगाडि बढाइएको छ’, प्रवक्ता रेग्मीले भने ।
null
जिला प्रहरी कार्यालय चितवनका अनुसार जबर्जस्ती करणीमा सबैभन्दा पीडित बालिका रहेका छन् । प्रवक्ता रेग्मीका अनुसार जबर्जस्ती करणीका १६ घटनामा १० जना बालिका पीडित रहेका छन् । ५ जना २५ देखि ३५ वर्षभित्रका छन् । ६० वर्षकी एक वृद्धा पनि जबर्जस्ती करणीमा परेकी प्रहरीको भनाइ छ ।
साउनयता साढे चार महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय चितवनमा जबर्जस्ती करणी उद्योगतर्फ ६ वटा जाहेरी परेको प्रवक्ता रेग्मीले जानकारी दिए । उनका अनुसार जबर्जस्ती करणी उद्योगतर्फ ६ जना अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रवक्ता रेग्मीले भने, ‘जबर्जस्ती करणी उद्योगतर्फ पनि एक बालिका पीडित छन् ।’
किन बढ्यो घटना ?
यतिबेला महिला हिंसाविरूद्धको १६ दिने अभियान चलिरहेको छ । दिनहुँजसो चितवनमा महिला हिंसाविरूद्ध सचेतनाका कार्यक्रमहरु भइरहेका छन् । तर पनि जबर्जस्ती करणीका घटनामा कुनै कमी नआएको स्वयम् महिला अधिकारकर्मीहरु बताउँछन् ।
महिला अधिकारकर्मी मीना खरेलले मदिरा र लागूऔषधको बढ्दो प्रयोग, सामाजिक सञ्जालको दुरूपयोग, बनेका कानुनको कार्यान्वयन नहुनु, पीडकलाई राजनीतिक संरक्षण गरिनु, नैतिक शिक्षाको अभावलगायतका कारणले जबर्जस्ती करणी तथा महिला हिंसाका घटनाहरु बढेको बताइन् ।
चितवनमा घरेलु हिंसाका घटनाहरुमा पनि कमी छैन । चितवनमा घरेलु हिंसाका ठाडो निवदेन साउनयता १०८ वटा परेको थियो, जसमा ५० वटा फस्र्यौट भइसकेको प्रहरीको भनाइ छ ।
यस्तो थियो पहिले
गत वर्ष चितवनमा जबर्जस्ती करणीका ५६ वटा मुद्दा दर्ता भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गत वर्ष जबर्जस्ती करणी उद्योगमा २३ वटा मुद्दा दर्ता भएका थिए ।
यस्तै, २०७३–७४ मा जबर्जस्ती करणीका २९ र जबर्जस्ती करणी उद्योगमा २५ वटा मुद्दा दर्ता भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार अघिल्लो वर्षको तथ्यांकलाई हेर्ने हो भने यसवर्ष जबर्जस्ती करणीका घटना बढेको देखिन्छ ।
कानुनमा के छ ?
नेपाल सरकारले भदौदेखि जारी नयाँ कानुनी संहिताअनुसार अबदेखि १८ वर्षमुनिका युवतीसँग मञ्जुरीमै शारीरिक सम्बन्ध राखे पनि करणी गरेको ठहरिने छ । जबर्जस्ती करणी गरेको पुष्टि भए महिलाको उमेर हेरेर आजीवन कारावाससम्मको सजाय तोकिएको छ ।
त्यस्तै, हाडनाता करणी गर्नेलाई जन्मकैदसम्मको सजाय तोकिएको छ । श्रीमतीलाई जबर्जस्ती करणी गर्ने श्रीमानसमेत ५ वर्ष जेल जानुपर्ने कानुनमा छ ।
