कांग्रेसलाई बेइमान हुनबाट बचाऔं

नेपाल ट्रेड युनियन कांग्रेस मार्फत नेपाली कांग्रेसको रूखलाई जागिर मात्र हैन पसिनाले मात्र पनि नभएर रगतले सिच्ने श्रमिकहरूलाई दुई दशक सम्म कुनै प्रतिनिधित्वको ब्यबस्था गरेन कांग्रेसले । 

सँगैका नेपाल विद्यार्थी संघका फुच्चेहरू, तरूण दलका बलिष्टहरू कांग्रेस र देश हाँक्ने भए । ट्रेड युनियन कांग्रेसका हामी चाहिँ उनिहरूसँग कहिले सबैका लागि सामाजिक सुरक्षाका लागि गिडगिडायौं, कहिले बन्द कारखाना खुलाउन ।  

कांग्रेसले प्रतिनिधित्वको बैधानिक ब्यबस्थाको त कुरै गर्दै गरेन । समकालीन एमाले संबद्ध ट्रेड युनियनका साथिहरू पोलिटब्यूरो सदस्य र मंत्री भए । २०६३ का माओवादी साथिहरूको हैसियत पार्टि नेताको भन्दा कम भएन । हामी चैं मात्र कांग्रेसका हनुमान हुन पुग्यौं ।  

null

ट्रेड युनियन कांग्रेसका नेताहरू कांग्रेसका शिर्ष नेताका नाताले कोहि ज्वाइँ हुनुहुन्थ्यो, कोहि भान्जा वा भाईहरू । 

मैले २०६३ को आन्दोलन पछि ट्रेड युनियन कांग्रेसको केन्द्रीय समितिको बैठकमा भनेको थिएँ–‘हामी कांग्रेसको कमैया र सुकुम्बासी मात्र नबनौं । कित ज्वाइँ र भान्जाका नाताले दान र दाईजोमा कांग्रेसको पद पोजिशन ल्याउ, कित ट्रेड युनियनका अभियन्ता बनेर काग्रेस सँग पदिय, पार्टी सहभागिताको सौदाबाजी गरौं ।’ 

मान्दैनन भने चारतारे झण्डामा १ तारा श्रमिकको प्रतीक थपेर नयाँ पार्टी खोलौं । हामी तत्कालीन महा समितिको बैठक, प्रज्ञा प्रतिष्ठान अघि नाराबाजीमा उत्रियौं । 

नेताहरू आए । भाषण गरे । प्रतिबद्धता जनाए । तर, हात लाग्यो शून्य । 

तत्कालीन अबस्थाको चित्रण गर्दै कांग्रेस नेता अर्जुन नरसिंह केसीले भनेका थिए–‘कांग्रेसको कान गैडाको छालाको जस्तै छ । नघोची सुन्दै सुन्दैन ।’ 

 

पछि ट्रेड युनियन कांग्रेस काठमाडौको गणेश भट्टराईको कार्यक्रम पछि पार्टी श्रम बिभाग प्रमुख बद्रि पाण्डेको पहल हुँदै लक्ष्मण दाई र हामीहरूको जोडमा ट्रेड युनियन कांग्रेसको चितवन महाधिवेशनमा तत्कालीन सभापति स्व. शुशिल कोइरालाले कांग्रेसको बुथ देखी नै श्रमिक सहभागिता गराउने लगायतका सात बुँदे संझौतामा अहिलेका पार्टी सभापति लगायतका नेताहरूको उपस्थितिमा हस्ताक्षर गरेका थिए । 

तर, त्यसलाई बेवास्ता गरियो । कुनै बैधानिक ब्यवस्था भएन । 

कांग्रेसजनलाई कांग्रेस नेता अशोक कोइरालाको भनाई पनि बुद्धि फिराउनका लागि उपयुक्त होला । अशोक कोइरालाले भन्ने गर्दथे–‘२००३ सालको मजदूर आन्दोलनले नै नेपालमा प्रथम पटक राणा शासन झुकायो र २००७ सालको क्रान्ति सफल भयो ।’ 

मजदूर आन्दोलनको शुरूवात बिराटनगर मिल्स एरियाको हटताली हाटको रूखको चौतारीबाट शुरू भएको थियो । पछि २०१५ सालको निर्बाचनमा कांग्रेसले रूख चिन्ह राख्यो ।  

‘यो रूख चिन्ह नै मजदूर आन्दोलनको प्रतीक हो । त्यसैले कांग्रेसले जहिले पनि मजदूरलाई साथै लिएर हिड्नु पर्छ ।’ भनी २०१५ सालमा वीपीले त्यहि आम सभामा भनेका थिए । तर, अहिलेको कांग्रेसले मजदुरहरुलाई प्रयोग गर्यो । समातेर लैजान सकेन । 

११ जना महाधिवेशन प्रतिनिधिको ब्यवस्ता बाहेक थप केही भएन । 

अहिले हामी भन्छौं, गौरवमय इतिहास भएको कांग्रेस जिम्मेबार भएन । बैमान भयो । कांग्रेस महासमितिलाई कानमा बतास लगाउन महासमिति बैठकमा भेला हौं । नारा लगाऔं । पार्टीले गरेको संझौता अनुरूप विधान बनाउन दवाब दिऔं । कांग्रेसलाई बेइमान हुनबाट बचाऔं । 

लेखक गिरिजाप्रसाद कोइराला मजदुर फाउण्डेशनका महासचिब हुन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *