राष्ट्रिय सुरक्षा चुनौतीबाट कुनै खतरा छैनः प्रधानमन्त्री

 

मंसिर २८, काठमाडौँ । प्रधानमन्त्री एवम् राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताएका छन् । 

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले हाल राष्ट्रिय एवं क्षेत्रीय सुरक्षा चुनौतीबाट कुनै खतरा नदेखिएको जानकारी गराएका हुन् । 

null

मुलुकमा सङ्घ, प्रदेश र स्थानीय तीन वटै तहको निर्वाचन भई कार्यान्वयनमा आएको अवधिका विषयवस्तु प्रतिवेदनमा समेटिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले परिषद्को निर्णयबाट परिचालन भएको नेपाली सेनाबाट निर्वाचनलाई भयरहित, स्वच्छ र निष्पक्ष निर्वाचनमा ठूलो योगदान पुगेको बताए । 

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले परम्परागत सुरक्षाका साथै नवीनतम सुरक्षा चुनौतीलाई सामना गर्दै मुलुकको समग्र सुरक्षा व्यवस्था प्रभावकारी बनाउन परिषद्का पदाधिकारीलाई सुझाव दिइन् । 

प्रस्तुत प्रतिवेदनमा राष्ट्रिय सुरक्षा परिषद्को ऐतिहासिक पृष्ठभूमि, राष्ट्रिय सुरक्षासम्बन्धी व्यवस्था, अन्तरराष्ट्रिय, क्षेत्रीय र आन्तरिक सुरक्षा परिस्थिति लगायतका विषयवस्तुको गहन विश्लेषण गरिएको छ । 

राष्ट्रिय सुरक्षा परिषद्बाट आर्थिक वर्ष २०७४/७५ मा सम्पादन भएका कार्य र सचिवालयको स्तरोन्नतिका लागि गर्ने प्रयास समेत प्रतिवेदनमा उल्लेख छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *