दुई साता पछि सर्यो डा. केसीको अनसन

 

पुस २, काठमाडौँ । प्राध्यापक डाक्टर गोविन्द केसीले शिक्षा र स्वास्थ्य समितिले आफ्नो माग अनुसार विधेयक अघि बढाउन समय माग गरेपछि आफ्नो पूर्वघोषित अनसन दुई साता पर सारेका छन् । 

आफ्नो माग पुरा गर्न सरकारले आलटाल गरेको आरोप लगाउँदै डा. केसी सोमबार (पुस २) देखि १६ औं अनसन बस्ने तयारीमा थिए । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा अध्यादेश अघि बढाउन केही समय लाग्ने जानकारी दिएपछि उनले १७ गते सम्मलाई आफ्नो अनसन स्थगित गरेका छन् । 

null

डा. केसीले १७ गतेसम्ममा पनि सरकारले आफ्नो माग सम्बन्धमा चासो नदेखाए पुनः १६ औँ अनसन थाल्ने पत्रकार सम्मेलनमार्फत् चेतावनी दिएका छन् । दुई साताभित्र विधेयक पारित नगरिकन कुनै चलखेल गरे जुनसुकै बेला अनशन बस्नेसमेत उनले ध्यानकर्षण गराए। 

डा. केसीले १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै डा. केसीले सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गर्न माग गरेका हुन् । 

‘गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिस बमोजिम बर्खास्ती लगायतका कारबााही गरियोस्। त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस्’, विज्ञप्तिमा उल्लेख छ । 

साथै केसीले सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघ बढाउन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् । 

यस्तै निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाउनुका साथै प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरुमाथि तत्काल फौजदारी मुद्दा चलाउनुपर्ने डा. केसीको माग छ । 

उनले नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले शुल्क तोकेकोमा पनि आपत्ति जनाएका छन् । उनले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही अघि बढाउन पनि माग गरेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *