इपिएल क्रिकेटः अपराजित विराटनगर र भैरहवा भिड्दै, काठमाडौं र ललितपुरबिचको खेल पनि आजै
काठमाडौं । तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछ । बुधबार भैरहवा ग्लाडीयटर्स र विराटनगर वारियर्स तथा काठमाडौं किङस इलाभेन र ललितपुर प्याट्रीयट्सबीच खेल हुनेछ ।
टियु क्रिकेट मैदानमा शरद भेषावकरको भैरहवा र पारस खड्काको विराटनगरबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
जारी लिगमा दुई टोली अपराजित रहेको छ । दुई खेलमा ४ अंक जोडेको भैरहवा दोस्रो र समान अंकसहित विराटनगर तेस्रो स्थानमा छ ।
null
पहिलो खेलमा भैरहवाले पोखरा राइनोज र दोस्रो खेलमा चितवन टाइगर्सलाई हराएको थियो । विराटनगरले पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा पोखरालाई सुपर ओभरमा हराएको थियो ।
तेस्रो खेलका लागि मैदान उत्रदा दुवै टोलीले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । यस्तोमा दुई टोलीबीचको खेल रोमान्चक हुने देखिएको छ । दुई टोली गत बर्षको फाइनलिस्ट समेत हो । विराटनगरले भैरहवालाई हराएर उपाधि जितेको थियो ।
यस्तै बुधबार हुने दोस्रो खेलमा सोमपाल कामीको काठमाडौंविरुद्ध शीर्ष स्थानको ललितपुरले प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल अपरान्ह १ बजे सुरु हुनेछ ।
यस खेल दुवै टोलीको लागि महत्वपूर्ण रहेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरको यो चौथो खेल हो । ललितपुरले ३ खेलबाट ४ अंक जोडेको छ । यस खेलमा जित निकाले ललितपुर अर्को चरणमा पुग्ने सम्भावना बलियो बन्नेछ ।
पहिलो खेलमा विराटनगरसंग पराजित ललितपुरले दोस्रो खेलमा चितवन र तेस्रो खेलमा पोखरा राइनोजलाई हराएको थियो ।
यता, काठमाडौंको भने यो दोस्रो खेल हो । काठमाडौंले पहिलो खेलमा चितवनलाई हराएको थियो ।