नेकपामा दिगम्बर झाको नियुक्तिको विरोध, ४३ केन्द्रीय सदस्यले गरे खारेजीको माग

 

पुस ८, काठमाडौँ । विवादास्पद पृष्ठभूमि भएका व्यक्तिहरुलाई राजनीतिक नियुक्ति दिइएको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले त्यस्ता व्यक्तिलाई बर्खास्त गर्न माग गरेका छन् । 

विवादित पृष्ठभूमि भएका दिगम्बर झालाई सरकारले पुनः दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको भन्दै नेकपाका केन्द्रीय सदस्य तथा नेताहरुले नियुक्ति खारेजीको माग गरेका हुन् । विवादित छवि भएकाहरूलाई सम्मानका साथ राजनीतिक नियुक्ति दिइएको भन्दै सदस्यहरूले विराेध जनाएका हुन् ।  

null

नेकपाका ४३ केन्द्रीय सदस्यहरूले भ्रष्ट र विवादित छवि भएकाहरूको राजनीतिक नियुक्ति र मानपदवी खारेज गर्न माग गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन्। 

उनीहरूले पार्टी कार्यालयका कृष्णगोपाल श्रेष्ठ मार्फत् अध्यक्षहरूलाई ज्ञापनपत्र बुझाएका हुन्। 

‘अत्यधिक बहुमतसहितको कम्युनिष्ट सरकारले ‘भ्रष्टाचारबारे शून्य सहनशीलता’ को नीति शुरुमै घोषणा गरेको हो । सरकारको भ्रष्टाचार विरोधी वचनबद्धताले तमाम कार्यकर्ता र नेपाली न्यायप्रेमी जनसमुदायमा आशा र भरोसा सञ्चार गरेकै हो । यसो हुँदाहुँदै पनि दिगम्बर झाजस्ता भ्रष्ट र विवादित छविका मानिसहरुले राजनीतिक नियुक्ति पाउन सफल भए’, ज्ञापनपत्रमा भनिएको छ । 

यस्तै सरकारको सिफारिसमा भ्रष्ट र विवादित छवी भएका मानिसहरु सम्माननीय राष्ट्रपति महोदयबाट विभुषित भएका कुराहरुमा पनि असन्तुष्टि जाहेर गरिएको छ । सदस्यहरुले यस्ता काम–कारवाहीहरुले कम्युनिष्ट सरकारको गरिमा र लोकप्रियतामा गम्भीर धक्का दिने हुँदा यसतर्फ पार्टी शीर्ष नेतृत्वको ध्यानाकर्षण गराउनुका साथै यस्ता कुरालाई जारी स्थायी समितिको बैठकमा छलफलको विषय बनाउन आग्रह गरेका छन् । 

ज्ञापनपत्रमा भनिएको छ, ‘दिगम्बर झा र उनीजस्ता भ्रष्टाचारमा विवादित भएकाहरुलाई यथाशिघ्र पदबाट बर्खास्त गर्नका लागि पार्टीको तर्फबाट सरकारलाई आवश्यक निर्देशन दिइयोस् भन्ने विनम्र अनुरोध गर्न चाहन्छौं ।’ 

ज्ञापनपत्रमा कृष्ण के.सी. ठाकुर गैरे, माधव अर्याल, भास्कर काफ्ले, रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा र डा.विजयकुमार पौडेलले हस्ताक्षर गरेका छन् भने अन्य ३६ जनाले समर्थन रहेको जानकारी गराएका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *