सामाजिक सुरक्षा कोषबारे काँग्रेसः सरकारले आफ्नो अलोकप्रियता ढाक्न खोज्यो


मंसिर १६, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आउनुलाई सकारात्मक रुपमा लिएको बताएको छ । तर यसको कार्यान्वयन प्रकृया प्रवेश क्रमको प्रचार शैलीलाई भने काँग्रेसले भड्कीलो शैली ठहर गरेको छ ।
आज केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले प्रचार शैली भड्कीलो भएको भन्दै विरोध जनाए ।
null
देउवा सरकारकै पालामा पारित भएको एेनलाई आफ्नै जस्तै देखाएर केपी ओली सरकारले आफ्नो अलोकप्रियता ढाक्न खोजेको काँग्रेसको आरोप छ ।
सरकारले नयाँ युग भनेको तर्फ इंगित गर्दै कांग्रेसले ऐन संसदबाट पारित भएको दिन, राष्ट्रपतिबाट प्रमाणित भएको दिन वा तामझाम गरिएको मंसिर ११ वा कार्यान्वयनमा आउने २०७६ साउन १ कुन नयाँ युग हो भनेर प्रश्न गरेको छ ।
‘’नयाँ युगकै संज्ञा दिनु पर्ने हो भने संसदमा पेश भएको दिन अथवा पारित भएको दिन अथवा राष्ट्रपतिबाट प्रमाणिकरण भएको दिन अथवा गत मंसिर ११ मा तामझाम गरिएको दिन, अझ यो कार्यान्वयनमा आउन तय गरिएको ०७६ को साउन १ को दिन …। एउटै सन्दर्भमा कतिवटा दिनलाई नयाँ युगको संज्ञा दिने? त्यसैले नयाँ युगको संज्ञा केवल सरकारको बढ्दो अलोकप्रियतालाई ढाक्न खोज्ने पातलो पछ्यौरी मात्रै हो भन्ने हाम्रो ठहर छ।’ ’, काँग्रेस प्रवक्ता विश्वप्रकास शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
श्रमिकको हितका लागि ल्याइएको कार्यक्रमको प्रचार नै गर्नुपर्दा श्रमिकको तस्वीर कहीँ प्रयोगमा नल्याइनु तर पार्टीगत चुनावी प्रचारमा जस्तै गरेर प्रमको तस्वीरलाई ‘चौतारीमा राजा भेटिए’ शैलीमा यत्रतत्र सर्वत्र टास्नुले नयाँ युग होइन पुरानो युगको सम्झना गराएका शर्माको भनाइ थियो ।
साथै काँग्रेसले निर्मलाका तस्विर च्यातिनुमा पनि आपत्ति जनाएको छ । एउटा छोरी निर्मला पन्तलाई न्याय चाहियो भनेर उनको तस्वीर सहितको पोष्टर टाँसिदा च्यातिनु पर्ने र नागरिक गिरफ्तार हुनु पर्ने ? काँग्रेसले प्रश्न गरेको छ ।
त्यस्तै एसिया प्यासेफिक समिटलाई इंगित गर्दै काँग्रेसले धार्मिक आस्थामा अधारित अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको आयोजनामा काठमाडौंमा भइरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा सरकार समेत आयोजकको भूमिकामा संलग्न हुनु र राज्यको व्यापक बजेट र साधानको प्रयोग हुनु संविधानको मर्म र भावना समेतको विपरीत रहेको हाम्रो ठहर छ ।
