कांग्रेस महासमिति बैठक आजबाट, संशोधित विधानसहित महपूर्ण पाँच दस्तावेजसमेत प्रस्तुत गरिने

काठमाडौं। पार्टीलाई संघीय संरचनाको ढाँचामा लैजाने मुख्य लक्ष्यसहित बोलाइएको नेपाली कांग्रेसको महासमिति बैठक आज (शनिबार) देखि राजधानीमा सुरु हुँदै छ ।  महासमितिमा देशभित्र र विदेशस्थित जनसम्पर्क समितिबाट गरी करिब १ हजार ६ सय प्रतिनिधि सहभागी हुने कांग्रेसले जनाएको छ । 

तर, पार्टीलाई संघीय संरचनामा लैजान महत्वपूर्ण मानिने विधानमा भने पार्टीभित्रको गुटगत विवादका कारण शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा समेत सहमती जुटेको छैन । 

यस्तै, पार्टीको विगत, वर्तमान र भविष्यको बाटो बताउने महŒवपूर्ण दस्तावेजका रूपमा रहेको राजनीतिक प्रस्ताव र कांग्रेसको सांगठनिक अवस्थाका विषयमा महामन्त्री डा. शशांक कोइरालाले तयार गरेको सांगठनिक प्रतिवेदन भने शुक्रबार राति बसेको केन्द्रीय समितिले पारित गरेको छ । सहमहामन्त्री डा. प्रकाशशरण महतले पेस गरेको आर्थिक नीतिसहितको प्रस्ताव भने यस अघि नै पारित भइसकेको छ । 

null

पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले विधानका विषयमा शीर्ष तहमा छलफल जारी रहे पनि सहमति नभएको जनाए ।‘विधानमा सहमति खोज्नका लागि शीर्ष तहमा भागीरथ प्रयत्न भइरहेको छ । तर, सहमति भइसकेको छैन,’ नेता केसीले  भने । 

प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति उद्घाटनपछि सहमतीका लागि पुनः बैठक बस्ने जानकारी दिए । हाल कांग्रेस विधानमा पदाधिकारीको संख्या, सभापतिको अधिकार, सभापतिले मनोनीत गर्ने प्रतिशत, पार्टी सदस्यताको प्रकार, निर्वाचन प्रणाली, विभिन्न विभाग तथा समितिको गठन र निर्वाचन प्रणालीसहित केन्द्रीय समितिको आकारमा विवाद रहँदै आएको छ । 

महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान समितिमा समेत सहमति नजुटेपछि समितिले फरक मतसहितको विधानको मस्यौदा पार्टी केन्द्रीय समितिलाई बुझाएको थियो । 

विधानमा सहमति जुटाउन भन्दै शीर्ष तहका नेता शुक्रबार दिनभर पार्टी केन्द्रीय कार्यालय सानेपामा अनौपचारिक छलफलमा थिए । सोही कारण बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठकसमेत राती अबेर बसेको थियो ।बैठकमा सहभागी हुन आएका केही प्रतिनिधिको नाम दर्ता भने शुक्रबारै भएको छ । कांग्रेस विधानअनुसार महाधिवेशन भएको वर्षबाहेक हरेक दुई वर्षमा एकपटक हुनुपर्ने प्रावधान भए पनि २०७० साल पछि कांग्रेसको महासमिति हुन सकेको थिएन । 

बैठकमा हरेक निर्वाचन क्षेत्रबाट पाँच जनाका दरले प्रतिनिधि सहभागी हुँदै छन् । जसअनुसार २४० निर्वाचन क्षेत्रबाट पाँच जनाका दरले कुल १ हजार २ सय सहभागी हुनेछन् । यस्तै, विभिन्न भातृ तथा शुभेच्छुक संस्थाबाट ९७ जना र विदेशस्थित जनसम्पर्क समितिबाट ९७ जना तथा ७७ जिल्ला सभापतिमध्ये ४८ जना सहभागी हुनेछन् । 

यसैगरी, २९ जना महासमिति सदस्य नरहेका जिल्लाका सभापति पर्यवेक्षकका रूपमा सहभागी हुनेछन् । कांग्रेसका केन्द्रीय सदस्यसमेत महासमिति सदस्य हुनेछन् भने केही प्रतिनिधिसभा सदस्य र पूर्व सांसदहरूसमेत प्रतिनिधि छन् ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति बैठकमा संशोधित विधानसहित पार्टीका अति महपूर्ण पाँच दस्तावेजसमेत प्रस्तुत गरिने जानकारी दिए । 

जसअनुसार राजनीतिक दस्तावेज उपसभापति विमलेन्द्र निधि, सांगठनिक प्रस्ताव महामन्त्री डा. शंशाक कोइराला, विधान संशोधन प्रस्ताव सहमहामन्त्री पूर्णबहादुर खड्का, आर्थिक दृष्टिकोणसम्बन्धी प्रस्ताव डा. प्रकाशशरण महत र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सीतादेवी यादवले प्रस्तुत गर्नेछन् । दस्तावेजहरू उद्घाटनपश्चात् सुरु हुने बन्द सत्रमा प्रस्तुत गरिने बताइएको छ । 

उद्घाटन सत्रपश्चात् सातवटै प्रदेशको समूह बनाइने र प्रदेशअनुसार १ पुसबाट समूहगत छलफल सुरु हुने जनाइएको छ ।कांग्रेसले महासमितिमा सहभागी हुने प्रतिनिधिलाई बिहानको खाना, दिउँसोको खाजा र चिया पार्टीले खुवाउने तथा बेलुकीको खाना र बासको व्यवस्था आफैंले गर्नुपर्ने जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *