सार्वजनिक गरियो प्रदेश १ को प्रगति विवरण, विद्यालयबाट झोला र किताब विस्थापित गरिने

 

पुस ११, विराटनगर । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले अबको १० वर्षभित्रमा १ नम्बर प्रदेशका सबै विद्यालयबाट झोला र किताब विस्थापित हुने बताएका छन् । 

चालु आर्थिक वर्षमा हालसम्म भएका कामहरु सार्वजनिक गर्न सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिमिरेले अब सरकारले ई–एजुकेशनलाई प्रोत्साहन गर्दै विद्यार्थीहरुले झोला र किताब बोकेर विद्यालय जानुपर्ने परिस्थितीको अन्त्य गरिने बताएका हुन् । 

null

‘अब साक्षरताको परिभाषा बदलियो । अब ई–एजुकेशन हाम्रो उच्च प्राथमिकतामा छ । त्यसका निमित्त अब दश वर्ष भित्र १ नम्बर प्रदेशका सबै विद्यालयबाट झोला र किताब विस्थापित हुनेछन् । सबै शिक्षा इ– एजुकेशनबाटै हुनेछ ।’ उनले भने । 

मन्त्री घिमिरेले इन्टरनेटको जमाना आएकोले त्यसको पनि तालिम दिनुपर्ने बताएका छन् । उनले इ– एजुकेशनको परीक्षणको रुपमा सय वटा विद्यालयमा परिक्षण गर्न लागिएको जानकारी दिए । उनले अबको ५ वर्षभित्रमा सामुदायिक विद्यालयको गुणस्तर सुधार हुने बताउँदै त्यसको परिणाम देखिन थालेको स्पष्ट पारे । 

पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्रालयका प्रवक्ता गोपीप्रसाद घिमिरेले चालु आर्थिक वर्षमा मन्त्रालयबाट विभिन्न मन्त्रालयलाई ९८ करोड २२ लाख १ हजार रूपैयाँ अख्तियारी दिइएकोमा ३ करोड ९९ लाख ९२ हजार रूपैयाँ केन्द्रले फिर्ता लगेको बताए । 

मन्त्रालयका सचिव हरिप्रसाद दाहालले मन्त्रालयमार्फत् ९८ करोड २२ लाख बजेट निकासा भएकोमा हालसम्म २ करोड ६५ लाख ४४ हजार खर्च गरेको जानकारी दिए । यो कूल बजेटको २७ दशमलव ३७ प्रतिशत हो । मन्त्रालयको कूल बजेट ३ अर्ब ६८ करोड ८७ लाख २५ हजार रहेको छ । कार्यक्रममा आर्थिक वर्षको अन्त्य सम्ममा सबै बजेट खर्च हुने मन्त्री घिमिरेले बताए । 

सामाजिक विकास मन्त्रालयले प्रदेशका १३ वटा उत्कृष्ट सामुदायिक मध्यामिक विद्यालयलाई छनौट गरी ५ लाखका दरले पुरस्कार वितरण गरेको जनाएको छ । त्यस्तै प्रदेश विश्वविद्यालयको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन भई कार्य सञ्चालन भईरहेको जानकारी बताइएको छ । 

भारतको पुणेस्थित एमआईटी वर्ड पिस यूनिभर्सिटी र प्रस्तावित मनमोहन टेक्निकल युनिभर्सिटीको बीचमा मैत्री सम्बन्ध स्थापित गर्ने समझदारी भएको र चाँडै एमओयु गरिने भएको छ । पत्रकार सम्मेलनमा १ नम्बर प्रदेशका विद्यालय तथा क्याम्पसहरुको विवरण सार्वजनिक गरिएको थियो । 

जसअनुसार सामुदायिकतर्फ ३ हजार १ सय ३६ प्रा.वि, ९ सय ७२ नि.मा.वि, ६ सय ६९ मा.वि र ४ सय ८९ उच्च मावि रहेका छन् । त्यस्तै निजीतर्फ ६ सय ३६ प्रा.वि, ४ सय १४ नि.मा.वि, ५ सय ७२ मा.वि र १ सय ३९ उच्च मावि रहेका छन् । 

प्रदेश नम्बर १ मा ७ हजार २ सय ३२ विद्यालय रहेको जनाइएकाे छ भने १ सय ५६ क्याम्पस रहेको छ । प्राविधिक तर्फको टि–एस.एल.सी सञ्चालन गर्ने ४८ विद्यालय रहेका छन् । सो अवसरमा शिक्षा महाशाखाका उपेन्द्र दाहालले आगामी एसईई परीक्षाका लागि ९२ हजार ७ सय १९ उत्तरपुस्तिका छपाईका लागि जनक शिक्षा सामाग्री केन्द्रसँग सम्झौता भएको जानकारी दिए । 

मन्त्रालयले यस अवधिमा प्रदेश घरेलु हिंसा सम्बन्धी ऐन, २०७५ र प्रदेश सामाजिक विकास संस्था ऐन, २०७५ पारित गराएको र ६ वटा विधयेकहरु मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति लिई मस्यौदा समेत तयार गरी अन्तिम स्वीकृतिका लागि पठाईएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

विराटनगरस्थित कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पतालका रुपमा रुपान्तरण गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ । तत्काल गर्नुपर्ने सुधारका लागि कार्यदल गठन गरी कार्य पूरा भएको र प्रतिवेदन चाँडै सार्वजनिक गर्ने बताइएको छ । 

जडिबुटी उत्पादन प्रशोधनको सम्भाव्यता अध्ययन गर्न एक कार्यदल गठन गरी अध्ययन प्रारम्भ गरिएको छ । यस्तै ज्येष्ठ नागरिक दन्त मुस्कान कार्यक्रम अन्तर्गत पाइलट प्रोजेक्टको रुपमा खोटाङको रावाबेसी गाउँपालिकाका एक सय ज्येष्ठ नागरिकलाई दाँत लगाइएको छ । 

झापा, मोरङ र सुनसरीका पानी उद्योगहरुको अनुगमन गरी पिउने पानीको शुद्धताका लागि जनजागरण ल्याउने, व्यवस्थापनमा सुधार ल्याउने र कमजोरी गर्नेलाई कारबाही गर्ने कार्य पनि प्रारम्भ गरिएको छ । 

निजी तथा सरकारी स्तरमा सञ्चालित अस्पतालको नियमन र व्यवस्थापनको लागि आवश्यक नीति निर्देशिकाको तयारी भइरहेको उल्लेख गरिएको छ । फुटबल खेलको विकासका लागि २०७९ सम्म दुई ठूला फुटबल प्रतियोगिता गर्ने सम्झौता भएको छ । 

अहिलेसम्म प्रदेश १ का सामाजिक विकास मन्त्रालयलाई ३३ वटा कार्यालयहरु संघीय सरकारबाट हस्तान्तरण भएका छन् भने १० वटा कार्यालय स्थापना गरिएको छ । 

सामाजिक विकास मन्त्रीको भारत भ्रमणका क्रममा झापा, मोरङ, सुनसरी र इलामका विभिन्न नगरपालिका प्रमुखहरु र नास्टका वैज्ञानिकहरुसँग समेत मुख्य–मुख्य शहरहरुबाट उत्पन्न हुने फोहोर व्यवस्थित विसर्जन गर्ने, त्यस्ता फोहोरहरुबाट विकेट उत्पादन गर्ने, प्लाष्टिकजन्य फोहोरबाट इन्धन उत्पादन गर्ने र अन्य फोहोरबाट कम्पोष्ट मल बनाउने विषयमा छलफल अघि बढाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *