विराटनगर महानगरका डस्टबिन प्रयोगविहीन

 

पुस १, विराटनगर । केही समयअघि विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा राखेका डस्टबिनहरु अहिले प्रयोगविहीन बनेका छन् । 

सडकमा जथाभावी फ्याँकिने फोहोर कम गर्न महानगरपालिकाले बजार क्षेत्रमा राखेका डस्टबिनहरु सडकमा हिँड्ने तथा स्थानीयले वास्ता नगरी जथाभावी दुरुपयोग गर्ने गरेका कारण फुटेर काम नलाग्ने अवस्थामा पुगेका छन् । 

null

विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापन तथा वातावरण सुधार परियोजना अन्तर्गत बजार क्षेत्रका सडकमा फाल्ने फोहोर कम गर्न प्रतिगोटा करिब एक हजार नौ सय रुपैयाँको लागतमा ३ लाख ८० हजारको २ सय डस्टबिन महानगरका विभिन्न क्षेत्रमा राखेको थियो । डस्टबिन राख्ने कार्यको गत असार २४ मा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरेका थिए । 

 

तर महानगरपालिकाले राखेका डस्टबिनहरुको अहिले कुनैको बिर्को हराएका छन्, कति राखेका ठाउँमा छैनन्, कुनै ठाउँमा दुई वटा राखिएका छन् भने बजार क्षेत्रमा राखिएका डस्टबिनहरु सडकमा तथा फुटपाथमा ढलिरहेका छन् । 

बजारक्षेत्रमा राखिएका ती डस्टबिनहरुमा सडकमा फ्याँक्ने फाहोरहरु प्रायः फ्याँकिएको भेटिँदैन । डस्टबिन बाहिर फोहोर थुप्रिएको भेटिन्छ भने डस्टबिन खाली भेटिन्छन् । यस्तै केही डस्टबिनमा स्थानीयले समेत घरबाट कुहिने तथा दुर्गन्धित हुने फोहोरहरु ल्याएर फ्याँक्ने गरेको पाइएको छ । 

सडकमा हिँड्ने व्यक्तिहरुले डस्टबिनमा फोहोर नफ्याँकेर बाटोमा फ्याँक्ने तथा कसैले वास्ता नगरी डस्टबिन सडकमा ढालेर हिँड्ने गरेको नगरबासीहरु बताउँछन् । 

 

विराटनगर–५ का महेन्द्र रामले सडकमा हिड्ने व्यक्तिहरुले फोहर डस्टबिनमा नफ्याँक्ने गरेको र सडकमै जथाभावी फाल्ने गरेकाले नगरका विभिन्न स्थानमा डस्टबिन राख्नुको अर्थ नरहेको बताए । उनले भने ‘ बाटोमा हिँड्ने मान्छेहरु त परै जावस् आसपासका स्थानीय व्यापारी र नगरवासीले पनि फोहर डस्टबिनमा फ्याँक्दैनन् ।’ उनले बजारमा प्लाष्टिक टिपेर हिँड्नेहरुले डस्टबिननै उठाएर लगि बिक्री बिक्री गर्ने गरेको बताए । 

त्यस्तै मोरङ कटहरीका सिटि रिक्सा चालक गंगाराम मण्डलले पनि स्थानीय नगरवासीहरुले डस्टबिन सदुपयोग गर्नुको साटो दुरुपयोग गर्ने गरेको बताए । उनले आफू सडकमा दिनहुँ सिटि रिक्सा चलाएर हिँड्दा महानगरका विभिन्न भागमा राखिएका डस्टबिनहरु सडकमै जताततै लडिरहेको भेटिने गरेको जानकारी दिए । 

उनले डस्टबिन सदुपयोगका लागि विराटनगर महानगरपालिकाले योजना बनाउनुपर्ने सुझाव दिएका छन् । ‘म बजारमा दैनिक सिटि रिक्सा चलाउँछु । कसैले पनि डस्टबिनमा फोहर फ्याँकेको देख्दिन् । विराटनगरका विभिन्न ठाउँमा राखिएका डस्टविनहरु जतततै ढलिराखेको देख्छु । यदि सदुपयोग नै नहुने हो भने किन पैसा खर्च गर्नु ? बरु डस्टविन सदुपयोग गर्ने महानगरले कुनै योजना ल्याए राम्रो’, उनले भने । 

नगरको सरसफाईका लागि राखिएका ती डस्टबिनहरुमा कसैले वास्ता नगर्दा डस्टबिनहरु प्रयोगविहीन बनेका छन् । डस्टबिन राखेपछि पनि सरसफाईमा कुनै परिर्वतन देखिएको छैन । डस्टबिनको प्रयोग नभई थप दुरुपयोग भएका विषयमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले स्थानीय बजारका पसलेहरुलाई समिति बनाएर उनीहरुलाई नै त्यसको जिम्मा दिने बताए । 

मेयर पराजुलीले भने ‘डस्टबिनको सदुपयोगका लागि हामीले स्थानीयहरुलाई समेटेर समिति बनाइ अगाडी बढ्ने सोचमा छौँ । जहाँ–जहाँ डस्टबिनहरु राखिएको छ त्यहीँका स्थानीयलाई समेटेर डस्टबिनको जिम्मेवारी दिने र वडा कार्यालयहरुबाट अनुगमन गराउने हाम्रो सोच छ यो सकभर चाँडै सुरु गर्छौँ ।’ 

महानगरलाई सफासुग्घर बनाई सुन्दर बनाउनका लागि राखिएका डस्टबिनहरुको दुरुपयोग भईरहँदा यस महानगरले गरेको लगानी बालुवामा पानी हाले सरह भएको छ । तसर्थ महानगरपालिकाले थालेका यस्ता सकारात्मक योजनाहरुलाई स्थानीय नगरकवासीले साथ दिएर कार्यान्वयन गराउन अग्रसर हुन जरुरी छ । यस्तै महानगरले पनि आफ्ना योजनालाई थप व्यवस्थित गर्न आवश्यक छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *