सिटी क्रिस्टल प्यालेससँग स्तब्ध, लिभरपुुललाई फाइदा
एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी क्रिस्टल प्यालेससँग स्तब्ध बनेको छ । सिटी घरेलु मैदानमा क्रिस्टल प्यालेससँग ३–२ ले स्तब्ध बनेको हो ।
शनिबार भएको खेलमा सिटीलाई स्तब्ध बनाउन क्रिस्टल प्यालेसका जेफ्री स्कुलप, एन्ड्रोस टाउनसेन्ड र लुका मिलीभोजेभिकले गोल गरे । घरेलु टोलीका लागि इकेए गुन्डोगान र केभिन डि ब्रुयनले गोल गरे ।
null
सिटीले खेलको २७ औं मिनेटमा गुन्डोगानको गोलबाट खेलमा सुरुवाती अग्रता बनाएको थियो । क्रिस्टल प्यालेसका जेफ्रीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । त्यसको २ मिनेटपछि नै एन्ड्रोसले गोल गरेपछि क्रिस्टलले खेलमा २–१ को अग्रता बनायो ।
५२औं मिनेटमा केयल वार्करले बक्सभित्र एन्ड्रोसलाई फल गरेपछि क्रिस्टल प्यालेसले पेनाल्टीको मौका पाएको थियो । जसलाई लुका मिलीभोजेभिकले सदुपयोग गरेपछि क्रिस्टल प्यालेसले खेलमा ३–१ को अग्रता बनायो ।
खेलमा ३–१ ले पछि परेपछि सिटीले दवाव सिर्जना गर्दै एक गोल थपेपनि त्यो जितको लागि पर्याप्त बनेन । ८८औं मिनेटमा केभिन डि ब्रुयनले गोल गरेपनि टिमलाई जिताउन सकेन ।
हारपछि सिटीले शीर्ष स्थानको लिभरपुलसँगको अंक दुरी छोट्याउने मौका गुमाएको छ । सिटीको १८ खेलबाट ४४ अंक छ । शीर्ष स्थानको लिभरपुलको ४८ अंक छ ।