भरतपुर महानगरले कृषिमा ४४ लाख अनुदान दिने


मंसिर २१, चितवन । भरतपुर महानगरपालिकाले गत वर्षदेखि नै दूधमा प्रतिलिटर २५ पैसाका दरले अनुदान दिइरहेको छ । यही वर्ष कृषिका विभिन्न क्षेत्रमा भारी अनुदान दिने महानगरपालिकाको तयारी अन्तिम चरणमा पुगेको छ । जसको लागि आवेदन मागसमेत गरिसकिएको छ ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले यही वर्ष कृषिका विभिन्न विधामा ४४ लाख अनुदान दिने बताइन् । उनले भनिन्, ‘मेयरसँग युवा कृषक कार्यक्रमलगायत ८ वटा कृषिका कार्यक्रममा ४४ लाख अनुदान दिने तयारी अन्तिम चरणमा पुगेको छ ।’
null
महानगर प्रमुख दाहालका अनुसार भरतपर महानगरपालिकालाई कृषि क्षेत्रमा अगाडि बढाउन अनुदानको कार्यक्रम ल्याइएको हो । यसले किसानलाई उत्प्रेरणा जगाउँछ, किसानमा प्रोत्साहन बढ्छ ।
प्रमुख दाहालले भनिन्, ‘यो वर्ष किसानहरुलाई ४४ लाख अनुदान दिन लागेका हौँ, आगमी कार्यक्रमहरुमा किसानहरुलाई दिने अनुदान अझ बढाइनेछ ।’ कृषिमा पनि महानगरलाई नमुनाको रुपमा विकास गर्न महानगर लागिरहेको दाहालको भनाइ थियो ।
मेयरसँग युवा कृषक कार्यक्रमअन्तर्गत केरा, तरकारी, पुष्पखेती र मौरी, माछापालनको लागि १० जना किसानलाई एक लाखका दरले १० लाख अनुदान दिने भरतपुर महानगरको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन शाखाले जनाएको छ ।
शाखाका कृषि विकास अधिकृत विनोद लामिछानेले पहाडी क्षेत्रको लागि उच्च प्रविधिको प्लाष्टिक घर निर्माणको लागि २ लाख ५० हजारका दरले २ जना (व्यक्ति वा समूह सहकारी) लाई ५ लाख अनुदान दिने बताए । उनले भने, ‘द्वन्द्व भूकम्पपीडित लक्षित कृषि कार्यक्रमअन्तर्गत ४ जनालाई तरकारी खेतीको लागि प्रतिव्यक्ति एक लाखको दरले ४ लाख अनुदान दिनेछौँ ।’
यस्तै कृषि उपज प्रशोधन केन्द्र निर्माण सहयोग कार्यक्रमअन्तर्गत मह, कुटानी पिसानी मिलको लागि ३ जनालाई (व्यक्ति, समूह सहकारी) २ लाख ५० हजारका दरले महानगरले अनुदान दिने भएको छ । यसैगरी कृषक समूह वा कृषि सहकारीलाई तोरी मिल स्थापनाको लागि २ लाख ५० हजार अनुदान दिइने महानगरपालिकाको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखाले जानकारी दिएको छ ।
शाखाका प्राविधिक सहायक धु्रव आचार्यले बीउ गोदाम घर निर्माणको लागि एउटा फर्म वा सहकारीलाई एक लाख अनुदान दिने बताए । उनले भने, ‘कृषि उपज संकलन केन्द्र निर्माण तथा मर्मत सहयोग कार्यक्रमअन्तर्गत ३ लाख अनुदान छ । यो अनुदान समूह वा सहकारीलाई प्रदान गरिन्छ ।’
यस्तै, सिमान्तकृत वर्गका लागि सामूहिक तरकारीखेतीका लागि सहयोग कार्यक्रमअन्तर्गत २ लाख अनुदान दिइने महानगरपालिकाको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखाले जनाएको छ ।
भरतपुर महानगरले २९ वडाबाट अनुदानको लागि आवेदन लिइसकेको छ । ‘आवेदन लिने काम सकिएको छ, अब हामी चाहेर पनि आवेदन लिन सक्दैनौँ’ भरतपुर महानगरको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन शाखाका कृषि विकास अधिकृत विनोद लामिछानेले भने, ‘१४ जना व्यक्तिलाई र १० वटा समूह सहकारीलाई अनुदान दिने हो ।’
व्यक्ति र सहकारी समूह गरी ६२ वटा आवेदन परेको शाखाले जनाएको छ । व्यक्तिबाट ४२ र समूह सहकारीबाट २० वटा आवेदन परेको शाखाका कृषि विकास अधिकृत लामिछानेले जानकारी दिए ।
भरतपुर महानगरको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखाका प्राविधिक सहायक धु्रव आचार्यले अनुदानको आवेदन लिने काम सकिएको र आर्थिक विकास समितिको बैठकले छनौट गर्ने बताए ।
उनका अनुसार छिटै किसान छनौट गरी अनुदान वितरण गरिनेछ । किसानलाई सम्झौता गरेर अनुदान दिइने र काम गर नगरेको अनुगमन हुने महानगरपालिकाले जनाएको छ । यसअघि महानगरले गहुँ, तोरी, मकै, मुुसुरो र धानमा साढे २३ मेट्रिक टन अनुदान दिएको थियो ।
