क्याम्पसको जग्गा जोगाउन विद्यार्थी सडकमा-‘भू-माफिया मुर्दावाद, स्थानीय सरकार होसियार’

 

धरान । मोहीलाई अघि सारेर पुर्वको प्रतिष्ठित शैक्षिक संस्थामा गनिने महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गा हडप्न भुमाफियाहरु सक्रिय भएको भन्दै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले विरोध र्याली निकालेका छन् । 

क्याम्पस बचाउ संघर्ष समितिको अगुवाईमा बुधबार विद्यार्थीहरुले सडक आन्दोलन गरेका हुन् । क्याम्पसबाट शुरु भएको विरोध र्याली धरान उपमहानगरपालिकामा पुगेको थियो । नाराबाजी गर्दै पुगेका विद्यार्थीहरुले कार्यवाहक मेयर नरेश इवारम र प्रमुख प्रशासकीय अधिकृत विनोद पोख्रेललाई ज्ञापन पत्र पनि बुझाएका छन् । 

null

 

विद्यार्थीहरुले भुमाफिया मुर्दावाद, स्थानीय सरकार होसियार, नक्कली मोही हुँदैन, क्याम्पसको जग्गा दिँदैनौलगायत नारा लगाएका थिए । 

ब्यानर र प्ले कार्ड सहित र्याली निकालेका विद्यार्थीहरुले भानुचोकमा पुगेर कोणसभा पनि गरेका थिए । २०३४ सालमा क्याम्पसले जग्गा खरीद गर्नुअघि नै भोगचलन गर्न छोडिसकेको जग्गामा अहिले ४१ बर्षपछि भुमाफियाको चलखेलमा हकदाबी गर्न आएको भन्दै विद्यार्थीहरुले चर्को विरोध जनाएका छन् । 

 

मोही हकको लागि कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीको ठाडो निर्देशनमा वडा नं ११ ले पनि नामसारी सिफारिश गरिदिएकोप्रति विद्यार्थीहरुले गम्भीर आपत्ति प्रकट गरेका छन् । 

‘भोगचलन नभएको थाह हुदाहुदै पनि कार्यवाहक प्रमुखको ठाडो निर्देशनमा वडा कार्यालयले मोही हक नामसारीको सिफारिश दिएकोप्रति कडा निन्दा र भत्सर्ना गछौ’, ज्ञापन पत्र बुझाउदै संघर्ष समितिका सचिव दोर्ची शेर्पाले भने । 

संघर्ष समितिका संयोजक एवं क्याम्पस स्ववियु सभापति सरगम सागर चेम्जोङले पनि क्याम्पसले जग्गा खरीद गर्नुअघि नै मोही लगतमा नाम भएका डम्बरबहादुर घिमिरे र उनको परिवारले जोतभोग गर्न छोडेको र क्याम्पसले विभिन्न संरचनाहरु बनाएको बताए । 

 

चार दशकसम्म कसैले पनि खोजी एवं दाबी नगरेको धरान ११ स्थित स्वास्तिक चोकमा रहेको क्याम्पसको जग्गामा वास्तविक मोही डम्बरबहादुर घिमिरेका माइला छोरा यज्ञबहादुरले मोही हक दाबी गरेका छन् । 

मोही हक यज्ञबहादुरले दाबी गरेपनि करोडौंको जमिन हत्याउन पर्दापछाडि भुमाफियाहरुको चलखेल रहेको छ । वास्तविक मोही डम्बरबहादुर र उनकी श्रीमति मृत्यु भइसकेको छ भने जेठा छोराको पनि निधन भइसकेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *