बन्यजन्तु आक्रमणबाट रोइरहेको माडी : दुई दशकमा ६० जनालाई निल्यो

मंसिर २३, माडी । चितवनका माडी उपत्यका विकासबाट पछाडि छ । साविक चार वटा गाविस मिलाएर बनाइएको माडी नगरपालिका जंगलको बिचभागमा अवस्थित छ । 

माडी उपत्यकालाई सामुदायिक वन र निकुञ्जले बिच भागमा रोकेर घेरेको छ । बन्यजन्तु आक्रमणबाट पटक–पटक रुन्छ माडी । दुई दशकमा बन्यजन्तुको आक्रमणबाट माडीका मात्रै ६० जनाको मृत्यु भइसकेको छ । 

पछिल्लो पटक माडी–९ स्थित रिउ खोलाकिनारमा घाँस काट्न गएका दुई स्थानिय महिला सुशीला भण्डारी र तृष्णकली पौडेल जैसीको चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । यो साउन यता बन्यजन्तुको आक्रमणबाट माडी नगरपालिकाका पाँच जनाले ज्यान गुमाइसकेका छन् । 

null

चितवन निकुञ्ज कार्यालयका सूचना अधिकारी गोपालबहादुर घिमिरेले आर्थिक वर्ष २०५५/५६ देखि हालसम्म २० वर्षको अवधिमा बन्यजन्तुको आक्रमणबाट माडी क्षेत्रका ६० जनाको मृत्यु भएको जानकारी दिए । निकुञ्जले जनकारी दिए अनुसार आर्थिक वर्ष ०७२/०७३ मा बन्यजन्तुको आक्रमणबाट माडीका ९ जना घाइते मात्र भए । 

२०७३ देखी ०७५ सम्ममा बन्यजन्तुका आक्रमणबाट माडीमा ५ जनाको मृत्यु भईसको छ । माडीका बासिन्दाको मुख्य आयस्रोत कृषि र पशुपालन भएका कारण नजिकै जंगल हुनाले जतिबेला पनि घाँस उपलव्ध हुने हुन्छ । त्यही घाँस काट्न स्थानीय जंगल जाने क्रममा वन्यजन्तुको आक्रमणमा पर्ने गरेको चितवन निकुञ्जले जनाएको छ । 

‘०७५/०७६ मा साढे ४ महिनाको अवधीमा वन्यजन्तुको आक्रमबाट ५ जनाको मृत्यु भइसकेको छ, अन्य ठाउँको तुलनामा माडीमा बन्यजन्तु आक्रमण बढेको छ’ निकुञ्जका सूचना अधिकारी घिमिरेले भने, ‘अन्य ठाउँको तुलनामा माडीमा बन्यजन्तु आक्रमण बढी छ ।’ उनका अनुसार आक्रमणबाट घाइते हुनेको संख्या र कृषि तथा पशुचौपायाको नोक्सानीको विवरण पनि लामो छ । 

सदरमुकामबाट झन्डै ५० किलामिटर पर रहेको जंगलको बिच भागमा रहेको माडी नगरपालिका पूर्वाधार विकासबाट पछाडी छदैँ छ, त्यसमा पनि जंगली जनावरबाट आक्रान्त पनि माडीबासी नै छन् । मान्छेमाथि आक्रमणमात्र होइन, माडी क्षेत्रमा बन्यजन्तुले धेरै बालिनाली नोक्सान गरेको छ, जसको कुनै लेखाजोखा छैन । 

माडीका बासिन्दा जंगलमा बढी आश्रित रहेका छन् । जंगलसँगै जोडिएका घरखेत छन् । जसले गर्दा सजिलै बन्यजन्तुले आक्रमण गरिरहेको छ । माडीवासीका भौतिक संरचनाहरु पनि बन्यजन्तुको आक्रमणबाट भत्केका छन् । 

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले बन्यजन्तुबाट सुरक्षित राख्न बगईदेखि पाण्डवनगरसम्म ड्यामसहितको वाल निर्माण गर्न सके माडी वन्यजन्तुबाट सुरक्षित रहने बताए । उनले भने, ‘बगईदेखि पाण्डवनगरसम्म करिब ३५ किलोमिटर छ, यो ठाउँमा ड्यामसहितको वाल निर्माण गर्नुपर्छ, यति ठूलो बजेट माडी नगरपालिकाले हाल्न सक्दैन यसमा राज्य लाग्नुपर्छ ।’ 

प्रमुख ढकालका अनुसार मोटामोटी वाल निर्माणको लागि १ अर्ब ३ करोड लाग्छ, राज्य लाग्यो भने एक वर्षमै काम सकिन्छ । उनी मध्यवर्ती क्षेत्र हटाएर मात्र माडीको समस्या समाधान नहुने बताउँछन् । उनी भन्छन्, ‘निकुञ्ज र यहाँका मध्यवर्ती जंगलहरु अभिशाप भइरहेको छ, यसलाई वरदान बनाउन राज्य लाग्नुपर्छ ।’ 

माडी नगरपालिकाका प्रमुख ढकाल राष्ट्रिय निकुञ्ज ऐन २०२९ नै परिमार्जन हुनुपर्ने बताउँछन् । ‘वन्यजन्तुले बालीनाली नोक्सान गरे निकुञ्ज ऐनमा राहतको व्यवस्था छ, हामी क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छौँ’ प्रमुख ढकालले भने । 

बन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा पिडित परिवारलाई निकुञ्जले १० लाख उपलव्ध गराउँदै आएको छ । पछिल्लो समय माडी नगरपालिकाले पनि कुनै वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा तत्काल २५ हजार उपलव्ध गराउने निर्णय गरेको छ । पटकपटक भइरहेको वन्यजन्तु आक्रमणबाट यतिबेला माडीका झन्डै ५० हजार जनसंख्या चिन्तित छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *