सुवास नेम्वाङ्गको सुझावः ‘प्रतिपक्षीको कमजोरीलाई पाठ सम्झनुपर्छ’

 

पुस ६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको जारी बैठकमा दर्जनौँ विषयमा सरकार चुकेको भन्दै सदस्यहरुले त्यसको कटु आलोचना गरिरहेका छन् । 

अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पेश गरेको प्रतिवेदनमाथि हालसम्म ४१ सदस्यले आफ्नो असन्तुष्टी र सुझाव राखिसकेका छन् । 

null

शुक्रबारको बैठकमा सुवास नेम्वाङ, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, मणि थापा, गोकर्ण विष्ट, छविलाल विश्वकर्माले धारणा राखे र उनीहरुमध्ये अधिकांशले नेतृत्व पार्टी र सरकार सञ्चालनका अनेक विषयमा चुकेको आरोप लगाए भने कतिले सरकारको बचाउ गरे । 

यस्तैमा पूर्व सभामुख एवम् नेकपा संसदीय दलका उपनेता सुभासचन्द्र नेम्वाङले मिश्रित प्रतिक्रिया दिएका छन् । उनले बैठकमा बोल्ने क्रममा सरकारको राम्रो पक्षको प्रशंसा गरेका छन् भने नराम्रा पक्षहरु पनि केलाएका छन् । 

नेम्वाङले हालसालै सम्पन्न युनिफिकेशन चर्चको एशिया प्यासिफिकेशन समिटिमा सरकारको सहभागीतामा असन्तुष्टि जनाए । उनले समिटमा संसद र सरकारको लोगो प्रयोग हुनु सरकारको कमजोरी भएको बताए । 

नेम्वाङले जनताको मन जित्न पार्टी या सरकार दुवैको कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने सुझाव दिए । सरकारलाई अगाडी बढाउन गर्न नसकेका कामहरु पहिल्याइ सबैले छलफल गर्नु आवश्यक रहेको उनको भनाइ थियो । ‘प्रतिपक्षीका साथीहरु समेतको कमजोरीलाई हामीले पाठ सम्झेर अघि बढ्नुपर्छ’, उनले भने ।  

उपनेता नेम्वाङले सरकारको काम कार्वाहीप्रति आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिँदै सरकारले धेरै महत्वपूर्ण र उल्लेखनीय काम गरेको बताए । साथै नेम्वाङले सरकारका राम्रा कामहरुको प्रचार जनस्तरमा पुर्‍याउन पनि पार्टीका नेताहरुलाई आग्रह समेत गरे । 

सरकारले महत्वपूर्ण काम गरेपनि कतिपय सन्दर्भमा प्रश्न उठेको र त्यसबारे खण्डन या छलफल नगरेमा नकारात्मक परिणाम आउने उनको भनाई छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *