काङ्ग्रेस महासमिति बैठकः १६ सय प्रतिनिधि सहभागी, एक करोड खर्च !

 

मंसिर २८, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक शुक्रबारदेखि शुरु भएको छ । 

मङ्सिर २८ देखि पुस ३ गतेसम्म चल्ने महासमिति बैठकका लागि अधिकांश प्रतिनिधि काठमाडौँ आइसकेको पार्टी कार्यालयले जनाएको छ । 

null

पार्टीको १३ औँ महाधिवेशनपछि हुन लागेको यो पहिलो महासमिति बैठक हो । महासमिति सदस्यलाई केन्द्रीय कार्यालयमा आज अपरान्ह २ देखि ५ बजेसम्म नाम दर्ता एवं स्वागत गरिने छ । 

सहभागी प्रतिनिधिलाई आजै काङ्ग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय समितिले पारित गरेको राजनीतिक साङ्गठनिक दस्तावेज पनि वितरण गरिनेछ । 

महासमिति बैठक उद्घाटन मङ्सिर २९ गते बिहान ११ बजे गर्ने कार्यक्रम रहेको छ । बैठकको उद्घाटन पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् । उद्घाटन लगत्तै बन्दशत्र शुरु हुने काङ्ग्रेसले जनाएको छ । 

महासमिति बैठकमा २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, केन्द्रीय सदस्य तथा भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनित, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ६०० प्रतिनिधि सहभागी हुने काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । महासमिति बैठक आयोजना गर्न करीब रु एक करोड खर्च हुने अनुमान गरिएको छ । 

उद्घाटनपछि प्रारम्भ हुने बन्द सत्रमा पार्टीको केन्द्रीय समितिमा प्रस्तुत भई छलफल भएका विभिन्न पाँच दस्तावेज पेश हुनेछन् । 

बैठकमा उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री डा. शशाङ्क कोइरालाले साङ्गठिनक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, सहमहामन्त्री डा. प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश गर्नेछन् । 

उक्त प्रतिवेदनलाई विस्तृत रुपमा छलफल गर्न महासमिति सदस्यलाई प्रदेशस्तरीय रुपमा सात समूहमा विभाजन गरिने प्रवक्ता शर्माले बताए । 

त्यसपछि पुस १, २ र ३ गते बिहान ८ देखि बेलुकी ५ बजेसम्म बन्द सत्र चल्नेछ । बैठकका सहभागीलाई बिहानको खाजा, खाना र साँझको खाजाको व्यवस्था गरिए पनि राति बस्ने र खाने व्यवस्था प्रतिनिधि स्वयंले बेहोर्ने काँग्रेसले जनाएको छ । 

हरेक दिन अपराह्न ४ बजे पत्रकार सम्मेलन गरी महासमिति बैठकमा भएका छलफलबारे मिडिया सेन्टरमार्फत् जानकारी दिइने प्रवक्ता शर्माले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *