‘सरकारले नौ महिनाको कार्यकालमा ऐतिहासिक महत्वको काम गरेको छ’


मंसिर २१, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तापक्ष र प्रतिपक्ष मिलेर नै समृद्धिको अभियान चलाउनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले राजनीतिक संघर्ष सकिएका कारण अब सत्तापक्ष र प्रतिपक्ष मिलेर नै विकास निर्माण र समृद्धिको अभियान चलाउनुपर्ने बताएका हुन् ।
null
कार्यक्रममा उनले तत्कालीन सरकारको नौ महिने कार्याकालमा धेरै ठूलो र ऐतिहासिक महत्वको कार्य सम्पादन भएको जिकिर गरे । सरकारले जनअपेक्षा अनुसार काम नगरेको भन्दै चौतर्फी आलोचना भइरहँदा अध्यक्ष प्रचण्डले सरकारको बचाउ गर्दै यस्तो बताएका हुन् ।
प्रचण्डले भारत र चीनसँग रेलमार्ग तथा बन्दरगाह प्रयोग सम्बन्धी सम्झौता गर्नु, रेल सेवा सञ्चालनका लागि दुवै देशसँग समझदारी गरेर अघि बढ्नुलाई वर्तमान सरकारका ठूला तथा ऐतिहासिक उपलब्धिका रुपमा व्याख्या गरेका हुन् ।
अध्यक्ष दाहालले शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था संविधानमै ग्यारेन्टी गरेकाले अब त्यो समस्या हल हुँदै जाने विश्वास पनि व्यक्त गरे । उनले संविधानमा गरिएको यस्ता व्यवस्थाले राजनीतिक नेताहरुलाई सन्तोष गर्ने र गौरव गर्नलायक बनाएको बताए ।
साथै प्रचण्डले चुनावमा गरिएको प्रतिवद्धता चार वर्षभित्र पूरा गर्ने संकल्प पनि कायमै रहेको स्पष्ट पारे ।
