अब कसैकाे मनोमानी चल्दैनः वरिष्ठ नेता पौडेल

 

पुस ८, दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र अब कुनै नेताको मनोमानी नचल्ने बताएका छन् । 

गृहजिल्ला तनहुँको दमौलीमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले विधान पारित भएपछि पार्टीमा कसैको मनोमानी नचल्ने बताएका हुन् । 

null

नेता पौडेलले पार्टीभित्रको कमजोरीलाई चिरफार गरी एकताको बाटोमा हिँडाउन महासमिति बैठकले सहयोग पुर्याएको बताए ।  

महासमिति बैठकबाट पारित विधान विश्वकै राजनीतिक दलको विधानभन्दा उत्कृष्ट बनेको दाबी गर्दै गर्दै विधानले पार्टीभित्र पूर्ण लोकतान्त्रिकको बाटोमा लैजान सहयोग पुर्याउने तथा समग्र पार्टीकै लोकतान्त्रिकरणमा टेवा दिने नेता पौडेलले विश्वास व्यक्त गरे । 

‘महासमिति बैठकले पार्टीभित्रको कमजोरीलाई चिरफार गरी एकताको बाटोमा हिँडाउन सहयोग पुर्याएको छ’, नेता पौडेलले भने, ‘राजनीतिक पार्टीमा तलदेखि माथिसम्म समावेशी बनाएर लैजान बनेको विधान काँग्रेस पार्टीभित्रको आत्मविश्वासको प्रतीक भएको छ ।’ 

उनले लोकतन्त्रको लागि लडेको नेपाली काँग्रेस अब आफू पनि लोकतान्त्रिक संस्कारमा अघि बढ्दै देशलाई लोकतान्त्रिक बाटोमा हिँडाउन लागि पर्ने दाबी गरे । ‘विगतमा पार्टी कृपावाद र नातावादमा चल्ने गरेको थियो । अब पार्टीभित्र क्षमता र योगदान भएका व्यक्तिले पार्टी सञ्चालन गर्नेछन् । निगाह र कृपाको आधारमा अगाडि बढ्ने प्रवृत्ति अब अन्त्य भएको छ’, उनले भने । 

त्यस्तै वरिष्ठ नेता पौडेलले महासमिति बैठकले पास गरेको विधानले सबै वर्गलाई समेटेको उल्लेख गर्दै बैठक गौरवपूर्ण उपलब्धिका साथ आज दिउँसो सम्पन्न हुने जानकारी दिए । 

नौ दिनयता जारी महासमिति बैठकले मुलत विधानमा व्यापक छलफल गरी अनुमोदन गर्ने एजेण्डा भएपनि बैठकमा संशोधित विधान पेश गर्न नै ढिला भएपछि महासमिति बैठक औपचारिकता पूरा गर्दै समापन हुन लागेको उनले बताए । 

काँग्रेसको महासमिति बैठकमा सदस्यहरुले महामन्त्री पुर्ण बहादुर खड्काद्वारा पेश भएको विधान मस्यौदामाथि धारणा राख्ने क्रम जारी छ । यसअघि पुस ३ गते नै बैठक सक्ने कार्यतालिका सार्वजनिक भएपनि बैठकमा ढिलो गरी विधान पेश भएपछि महासमिति बैठक लम्बिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *