धरान उपमहानगरपालिकाका कर्मचारीहरु आन्दोलित, स्थानीय तहको कामकाज ठप्प


पुस २, धरान । सरकारले यही मंसिर २३ गते जारी गरेको कर्मचारी समायोजन अध्यादेश २०७५ ले स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै स्थानीय तहका कर्मचारीहरु आन्दोलित भएका छन् ।
अध्यादेशले निजामती कर्मचारीलाई मात्रै फाइदा पुग्ने र स्थानीय तहका कर्मचारीलाई बेवास्ता गरेको भन्दै धरान उपमहानगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका हुन् ।
null
सरकारले भर्खरै ल्याएको अध्यादेशले वर्षौदेखि कार्यरत स्थानीय तहका कर्मचारीलाई अन्याय भएकोले बाध्य भएर आन्दोलित हुनुपरेको स्थानीय आन्दोलन परिचालन समिति धरानका संयोजक खगेन्द्र प्रसाद खतिवडाले बताए ।
उनका अनुसार स्थानीय तहमा समायोजन हुने सबै कर्मचारीलाई समान व्यवहार हुनुपर्छ । कर्मचारीको तह निर्धारण र ग्रेड समान हुनुपर्ने लगायतको उनीहरुको माग छ ।
कर्मचारीको आन्दोलनका कारण सोमबारबाट सबै स्थानीय तहको कामकाज ठप्प भएको छ भने कर्मचारीहरु काम नगरी कार्यालय परिसरमा नै बिहान १० बजेदेखि ४ बजेसम्म बस्ने गरेका छन् ।
स्थानीय तहका कर्मचारी र नीजामती कर्मचारीलाई समान सुविधा हुनुपर्ने, स्थानीय तहमा कार्यरत अस्थायी र करार कर्मचारीहरुलाई स्थायी गर्नुपर्ने माग राख्दै चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
भोली मंगलबारदेखि भने कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर काम गर्ने र दैनिक २ घण्टा पेन डाउन गर्न बाध्य हुने संयोजक खतिवडाले जानकारी दिए ।
