काठमाडौंको तापक्रम २ डिग्रीमा झर्यो, वर्षा हुने सम्भावना


पुस २, काठमाडौँ । काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा आज चिसो अत्यधिक बढेको छ ।
बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
null
सोमबार काठमाडौँको न्यूनतम २.५ र अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ । केही दिनयता निरन्तर न्यूनतम तापक्रम घटेकाले क्रमशः चिसो बढ्दै गएको छ । हिजो काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो ।
न्यूनतम तापक्रम घट्नुका साथै मौसम बदली रहेकाले आज काठमाडौँमा यो वर्षकै बढी चिसो महसुस गरिएको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री सेल्सियस रहेको छ ।
नेपालमा आज र भोलि देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली भई केही भू–भागमा हल्का वर्षा हुने र उच्च हिमाली भू–भागहरूमा हल्कादेखि मध्यमखालको हिमपात हुने सम्भावना रहेको छ । साथै पश्चिमी क्षेत्रहरूमा आंशिक बदली भई एकरदुई स्थानमा हल्का र क्षणिक वर्षा हुने सम्भावना छ ।
