प्रचण्डमाथि खनिदै गोपाल किराँतीले भने, ‘पार्टीको सिद्धान्त त्यागेर डाँका बन्नुभयो’


पुस १, काठमाडौँ । गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले सरकारविरुद्ध आन्दोलनमा होमिन आह्वान गरेको छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा नेकपा (माओवादी केन्द्र) ले पार्टीको आठौं महाधिवेशनको बारेमा जानकारी दिनको लागि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टीका अध्यक्ष गोपाल किराँतीले सरकारविरुद्ध आन्दोलनमा होमिन आह्वान गरेका हुन् ।
null
किराँतीले नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी सिद्धान्तलाई त्यागेर एमालेसँग विलिन भएको आरोप लगाए । ‘प्रचण्ड धोकेवाज बन्नुभयो, हिजोको दिनहरुमा उहाँलाई हामीले बनाएका हौं, माओवादी सिद्धान्तलाई त्यागेर एमालेसँग विलिन हुनुभयो’, किराँतीले भने ।
तत्कालीन सरकारले धर्मनिरपेक्ष राष्ट्र तथा गणतन्त्रलाई कमजोर बनाइ राष्ट्रिय स्वाधीनता र आत्मनिर्भरताका साथ मुलुकलाई अघि बढाउन नसकेको बताए ।
त्यस्तै अध्यक्ष किराँतीले प्रचण्डभन्दा गृहन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रवादी नेता भएको दाबी गरे । बादललाई महान जनविद्रोमा आउनको लागि आग्रह गरिसकेको उनको भनाइ थियो । ‘अझैपनि जनताका अधिकार स्थापित भएका छैनन्, बादललाई प्रधानमन्त्रीको रुपमा अघि सारेर वर्तमान सरकारलाई सडकबाटै ढाल्न तयार छौं भनेका छौं, उहाँले जवाफ पठाउनुभएको छैन्’, उनले भने ।
साथै किराँतीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धार्मिक दलाल बनेको आरोप पनि लगाएका छन् । केही समय पहिले राजधानीमा सम्पन्न एशिया प्यासिफिक समिटलाई स्मरण गर्दै विवादित धार्मिक संस्थाको कार्यक्रममा यसरी राज्यको कार्यकारी व्यक्तिले भाग लिन पाईन्छ ? भन्दै प्रश्न गरे ।
त्यस्तै अध्यक्ष किराँतीले विप्लव र वैद्य माओवादीसँग आठौं महाधिवेशनपछि पार्टी एकता गरिने स्पष्ट पारे ।
